कथा : आधुनिक बुहारी - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

कथा : आधुनिक बुहारी



~दीपक घिमिरे~

रने दाइ र चम्पाको चार बर्से प्रेमलाई विवाहमा परिणत गर्न एक दिन रने दाइ आफ्ना बालाई लिएर चम्पाको घरमा चम्पाको हात माग्न पुगे । छोरीको प्रेमको सामान्य सुइँको पाएका चम्पाका बाआमा अनि दाजुभाइले ज्वाइँ बन्ने आट गरेका रने दाइ अनि उनका बालाई राम्रै स्वागत गरे । छोरीको कुरो छिन्नु भन्दा पहिले चम्पाका बाले ज्वाइँ बन्ने रने दाइ अनि सम्धी बन्ने बालाई प्रश्न माथि प्रश्न गरेर हैरानै पारे । छोरीको पढाइ, पढाइ पछिको योजना, छोरीलाई घरमा गरिने व्यवहार अनि ज्वाइँका रुचिका विषयमा प्रश्नहरू भए । रने दाइका बाले आफलाई बुहारी नभएर छोरी चाहिएको बताएपछि छोरी लेनदेनको विषय टुङ्गियो । बिहेको मिति तोकिँदै रने दाइ र बा घर फर्किए ।

चम्पाका बा आमा अनि दाजुभाइहरू खुसी थिए । आफूले सोचेको भन्दा अझ धेरै गुण र हैसियत भएको केटोलाई ज्वाइँको रूपमा पाउँदा चम्पाको घरमा खुसीयाली छायो । उता रने दाइको घर पनि उज्यालो भयो । चार बर्से प्रेमलाई सफलताको शिखरमा पुर्‍याउन पाउँदा रने दाइ खुसी थिए भने बाआमा छोराको रोजाइलाई नै बुहारीको रूपमा भित्र्याउन पाउँदा खुसी थिए । रने दाइको भाइ प्रवीण त झन् दिदीले जस्तै माया गर्ने भाउजू पाउँदा गमक्क थियो । दाइको बिहेको कुरा कसैले सोध्दा भन्थ्यो  “भाउजूको नातामा दिदी आउँदैछिन्, खुसीको सीमा छैन हजुर । ”

छोरी नभएको रने दाइको घर । छोरी नहुनुको पीडा र अभाव बाआमा अनि दाजुभाइ दुवैलाई थियो । घरमा छोरीको महत्त्व परिवारले बुझेका थिए । बाआमालाई मात्र होइन, दिदीबहिनी नहुनुको पीडा रने दाइ र प्रवीणलाई पनि थियो । दिदीबहिनीको पीडालाई अन्त्य गर्न अनि छोरीको आवश्यकतालाई पूरा गर्न घरमा चम्पा भित्रिँदै थिइन । घरमा बुहारी भित्रेपछि आउने खुसीका दिन र लछिनका दिनहरूलाई कल्पिँदै दिनहरू बित्न थाले , बिहेको दिन नजिकिँदै गयो ।

औँला भाँच्दै दिन गन्दागन्दै रने दाइको बिहेको दिन आयो । खान लाउन मज्जाले पुग्ने परिवारका रने दाइको बिहे कुनै धनाढ्य परिवारको बिहे भन्दा कम भएन । रने दाइका बा आमा नाच्दै बुहारी लिन गए । भाइ प्रवीणले आफूमात्र होइन आफ्ना साथीसङ्गी सबैलाई नचाउँदै दाइको बिहे समाप्त गरायो । छोरीको अभावले अँध्यारो भएको घरमा उज्यालो थपियो । न्यास्रो लाग्ने रने दाइको घरमा रौनकता थपियो ।

घरका भान्सामा छन्‌छन् चुरा बज्‍न थाले, आमा आँगनमा बसेर सुस्केरा हाल्दै सुखका दिन बिताउन थालिन्, बा गाउँभरि बुहारीको गुणगान गाउन तल्लीन भए । भाइ प्रवीणका खुट्टा झन् भुईँमा हुने कुरै भएन । आमाले छोरीको माया दिँदै बुहारीलाई घरधन्दा सिकाउन थालिन् । बुहारी चम्पाले आफ्नो कर्तव्य पूरा गर्न थालिन् ।

एक दिन बेलुकी खाना खाने बेला रने दाइका बाले भने “रने ! तैँले आफ्नो पढाइ पूरा गर्नु पर्छ । बिहे गर्दैमा पढाइ छाड्ने होइन । सम्पत्ति बेचेर भएनि म पढाउँछु तँलाई, त सहर जा अनि पढाइ चालू गर । ”

खानाको गाँस मुखमा भएका रने दाइ केही बोलेनन् । बुहारी चम्पाले सासुको थालमा खाना थप्दै थिइन् । छेउमै बसेर खाँदै गरेको भाइ प्रवीणले बातिर हेर्दै भन्यो “रने दाइ मात्र होइन बा, भाउजू पनि सहर जानुहुन्छ । दाइभाउजू दुबै जनालाई पढाउने जिम्मा म लिन्छु । सम्पत्ति बेच्‍नु पर्दैन, म जागिर गर्छु अनि उहाँहरूलाई पढाउँछु । ”

भाइको हिम्मत सुनेपछि रने दाइले मुख खोले,  “तेरो पढाइ पनि राम्रो छ कान्छा , भाउजूले घरधन्दा चलाउँदै स्कुल पढाउँछे । हामी दुई भाइ सहर बसेर पढौँ । ”

नजिकै बसेर खाना खाँदै गरेकी आमा रिसले रातो भइन् अनि भनिन्,
“आजभोलिका बुहारीले घरधन्दा गर्नु पर्दैन, पढेर घरको नाम र इज्जत बढाइदिए पुग्छ । घरधन्दा गर्न हाम्रा हातपाखुरा बलिया छन् । बुढेसकाल लागेसी सोचौँला । अहिलेका लागि बुहारी चम्पा पनि तँसँगै सहर जान्छिन् बाँकी मलाई थाहा छैन । हाम्री बुहारीले पढेर नाम कमाउने हो । हामी त्यसैमा खुसी हुनेछौँ । ”

धेरैबेर सम्मको छलफलपछि एउटा निष्कर्ष निकाल्दै बाले भने “ तेरो र बुहारीको पढाइ दुई वर्ष बाँकी छ । यो दुई वर्ष सक्यौ भने नाम इज्जतिलो हुन्छ र दाम पनि राम्रै हुन्छ । दुई वर्ष प्रवीणले यतै पढाउँछ अनि भएको पैसा तिमीहरूलाई पठाउँछ । पछि तिमीहरू जोईपोईले कमाउँदै भाइलाई पढाउनु , हुँदैन र बुहारी ? ”

बुहारी चम्पा केही बोलिनन्, घर सल्लाह सकियो, आउँदो साता रने दाइ र चम्पा सहर जाने भए । भाइ प्रवीणले नजिकैको बोर्डिङमा पढाउने जागिर पायो । अनि बा आमा फेरि घरधन्दामा तल्लीन हुने भए ।

सकि नसकी गरिएको खेतीबाट आएको अन्न बेचेर अनि भाइ प्रवीणले कमाएको तलबबाट रने दाइ र चम्पाले सहरमा बसेर पढ्न थाले । छोरा-बुहारीले सहरमा बसेर पढ्न थालेपछि गाउँ समाजमा रने दाइका बाआमा अनि भाइको इज्जत ह्वात्तै बढ्यो । गाउँ घरमा बुहारी पढाउने चलन खास्सै थिएन, घरधन्दामै लदाउने पुरानो चलनलाई लात मार्दै बुहारी चम्पालाई पनि सहरमा बसालेर डिग्री पढाउन पाउँदा रनेदाइका बा आमा मख्ख मात्र थिएनन्, इज्जतिला पनि ठहरिएका थिए ।

समय सँगै रने दाइका दुई जनाकै पढाइ सकियो । पढाइ सकिएसँगै रने दाइ र चम्पा गाउँ फर्किए । गाउँ फर्किन साथ रने दाइका लागि नजिकैको बजारमा जागिर भेटियो । उनी कलेज पढाउने लेक्चरर भए । चम्पा चैँ घरमै बसिन् ।

भाइ प्रवीणको पढाइ राम्रो थियो र सम्झौता अनुसार रने दाइ र चम्पाको पढाइ सकिएपछि प्रवीण सहर जानू पर्ने थियो, पढाइलाई निरन्तरता दिन। तर दाइभाउजू दुवैले चासो देखाएनन् । दाइको जागिरबाट आएको पैसा मागेर सहर अध्ययनका लागि जाने हिम्मत प्रवीणको भएन । उसले आफ्नो पढ्ने सपना ल्यागिदियो ।

एक दिन अचानक रने दाइले चम्पालाई लिएर बजारमा डेरा सारे । नजिकैको घर भए पनि बजारमा डेरा लिएर बस्ने योजना किन बन्यो या कसरी बन्यो यो कसैलाई थाहा भएन । पढेलेखेकी बुहारीलाई घरधन्दामा लगाउँदा यो दिन आएको हुनसक्ने अडकल सम्पूर्णले काटे तर वास्तविकता त्यस्तो पटक्कै थिएन । घरमा खाना पकाउनु अनि भाडा सफा गर्नु मात्र चम्पाको काम थियो । यस्तो अवस्थामा बूढीलाई दुःख भयो भनेर बजारमा डेरा लिएको पक्कै होइन । गाउँले सबै चकित परे, रने दाइले घर छाडेर बजारमा डेरा लिए ।

यस्तो अवस्थामा पनि रने दाइका बाआमाले सहे । भाइ प्रवीणले एक पटक  हामी सँगै भन्यो “दाजीको सजिलोका लागि भाउजू बजारमा बस्न थाल्नु भएको हो , दाजीले नभ्याउने हुँदा खाना बनाएर भएनि ख्वाउनका लागि भाउजू बजार सर्नु भएको हो ।”

भाइ प्रवीणको कुरामा घरको समस्या ढाकछोप पक्कै थियो तर सत्यता थिएन । सहर पढ्न गएदेखि नै रने दाइ फेरिएका थिए । भाइको पढाइलाई महत्त्व दिने रने दाइ सहरबाट फर्केपछि एक शब्द पनि भाइको पढाइका लागि बोलेका थिएनन् । तर पनि घरपरिवार अनि प्रवीणले गुनासो गरेका थिएनन् ।

एकपछि अर्को क्याम्पस पढाउने जागिरमा सफलता हात पार्दै गएका रने दाइ शिक्षा क्षेत्रमा नाम चलेका शिक्षकमा गनिन थाले । रने दाइका बाआमा यसैमा खुसी थिए । खुसीमाथि खुसी थप्‍न रने दाइ एकपछि अर्को गर्दै दुई सन्तान पनि जन्मिए । नामको साथमा दाम पनि जोड्दै गरेका रने दाइले कुलकै इज्जत राख्ने गफ आफ्ना अनि आफन्तहरूमा चल्दै गयो । रने दाइ सबैका प्यारा बन्दै गए ।

छोराको प्रगतिमा बाआमा खुसी थिए, भाइ प्रवीणका खुट्टा भुइँमा थिएनन् । समय बित्दै जाँदा बुहारी चम्पाले पनि स्कुल पढाउन सुरु गरिन् । यो सँगै रने दाइका बाआमाको नाक अझ लम्बियो, समाजमा रने दाइको परिवारको इज्जत बढेर गयो ।

भाइ प्रवीण आफूले पढ्न नपाए पनि दाइभाउजूको प्रगतिमा खुसी थियो । कसैले उसको पढाइको बारेमा सोध्दा भन्थ्यो “जिल्लाकै टप शिक्षक रनबहादुरको भाइ हुँ, गाउँमा शिक्षित परिवारको छोरा हुँ । मैले डिग्री नगरेर केही भएन, दाइभाउजूले हाम्रो घरको इज्जत धान्देका छन् । ”

नाम र दाम एकै साथ जोड्दै गएका रने दाइ एक्कासि बिरामी परे । मुटुरोगले अन्तिम अवस्थामा पुर्‍याएको रने दाइले अस्पताल पुर्‍याउनै लाग्दा भाइ प्रवीणलाई कसम खुवाउँदै भने “मेरो सन्तानलाई पनि आफ्नो सन्तान जत्तिकै माया दिनु, भाउजू को ख्याल गर्नु, अलबिदा भाइ ।”

रने दाइले बैँसमै प्राण त्यागे । संसार छाडेर गए ।  आफ्ना सन्तान भाइको जिम्मा लगाउँदै उनी धेरै टाढा गए अनि भगवान्‌को प्यारो भए । रने दाइले छाडेर गएपछि बल्ल बाआमाले आफूहरू टुहुरा भएको महसुस गरे । भाइ प्रवीणले बाआमा हुँदा हुँदै पनि आफूलाई टुहुरो महसुस गर्‍यो । घर फेरि अँध्यारो भयो ।

दैवको लीलालाई सबैले सहनै पर्ने, रने दाइको परिवारले पनि सह्यो । रुँदारुँदा आँखाका पानी सकिए, काजक्रिया पनि सकियो । दुःखमा समवेदना प्रकट गर्न आइपुगेका पर-पाहुनाहरू पनि आआफ्ना घरतिर लागे । घर सुनसान भयो । रने दाइका बाआमाले रने दाइको छोरालाई हेरेर रने दाइलाई भुल्ने कोसिस गर्न थाले । छोराको याद मेटाउन नातिसँग रमाउन सिक्न थाले ।

एकाबिहानै रने दाइको घरमा अर्को नाटक सुरु भयो । आफ्ना सन्तान सहित आफू माइतमै बस्न चाहेको कुरा चम्पाले सासूससुराकै अगाडि भनिन् । छोरी लिन सम्धी आँगनमा टुप्लुक्क आइपुगे । रने दाइकी आमाको काखमा खेल्दै गरेको छोरो टिपेर चम्पा बासँगै माइत हिँडिन् । नजाऊ भनेर रोक्न खोज्ने सासूलाई चम्पाले अनुहारमै नहेरी भनिन “म माइतमै बस्न चाहन्छु ! यहाँ बस्न सक्दिनँ ।”

छोराको पैँतालीस दिन नसकिँदै बुहारीले नातिनातिनी टिपेर माइत बसाइँ सारेपछि रने दाइका बाआमा अनि भाइ प्रवीण एक्ला भए । मरेको छोरोलाई भुल्न नातिसँग रमाउने बाआमाको जिउने सहारा खोसियो । तर पनि एक दिन नातिनातिनी अनि छोराको रोजाईको बुहारी आउने अनि घर फेरि उस्तै चहकिलो हुने आशामा बाआमा बस्न थाले ।

एकपछि अर्को बज्रपात सहँदै आएका रने दाइको परिवारले चम्पा फर्कने दिन गन्दै बसेका थिए । यस्तैमा एक दिन चम्पा त आइनन् तर उनले एउटा खबर रने दाइको घरमा पठाइदिईन्, “हाम्रो भागमा परेको सम्पत्ति छुट्ट्याइदिउन् । ”

जीवनभर दुख गरेरै भएपनी छोराहरूको भविष्यका लागि भन्दै सम्पत्ति बचाएर राखेका रने दाइका बाआमा छाँगाबाट खसेजस्तै भए । सम्पत्ति छोराहरूकै थियो , मरेर लाने थिएनन् तर बुहारी र नातिनातिना आउलान् भन्ने आशा गरेको बेला यसरी अकल्पनीय खबर आउँदा उनीहरू फेरि मरेतुल्य भए । भोलि छोराको सपना पूरा गर्ने पनि उनै थिए अनि बूढेसकालका सहारा पनि उनै थिए । तर एक्कासि टाढा भइदिने खालको खबर घरमा आइपुग्दा बूढाबूढीलाई यो खबर पत्याउनै गाह्रो भयो ।

जवान भएको नातिले बाबुको अनुपस्थितिमा आफ्नो सम्पत्ति माग्नु ठिकै थियो । फेरि घरबाट खेदिएकी बुहारी भए सम्पत्ति माग्ने खबर पठाउनु मुनासिब थियो तर अवस्था बिलकुलै त्यस्तो थिएन । नाबालक सन्तानको नाममा चम्पाले माइतबाट सम्पत्ति दाबी गर्नु ठीक कदम थिएन । बुहारी चम्पा र नातिनातिनाप्रति गलत दृष्टि राख्‍ने काम अथवा हेला गर्ने काम रने दाइका परिवारले गर्थे भने सारा समाज उनीहरूका लागि लडिदिन्थ्यो होला तर माया प्रेमले बाँधिएको घरमा एक्कासी सम्पत्ति मागेर सम्बन्ध तोड्न खोज्‍नु चम्पाको गल्ती थियो भन्ने निष्कर्ष पूरा गाउँलेले निकाले ।

तर पनि सम्पत्तिका अगाडि बाआमाको माया फिक्का भयो, नातिको मुख हेरेर छोरो भुल्ने सपना देखेका बाआमा दिनदिनै चिन्ताले सुक्दैछन् । सम्पत्ति चाहियो भनेर चम्पाले अदालतमा मुद्दा हालिन् । मिलेर बसौँ, सम्पत्ति तिमीहरूकै हो भन्ने बाआमालाई गलत देखाउन चम्पा कहिले प्रशासन धाउँछिन् त कहिले अदालत । श्रीमानको मृत्यु पछि सम्पत्तिका लागि आफन्त त्याग्न खोज्ने चम्पा साँच्चिकै आधुनिक बुहारी हुन् ।