अनुभव : जीवनका अनेक आयाम – आकाशे पुलको एक दिन - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

अनुभव : जीवनका अनेक आयाम – आकाशे पुलको एक दिन



-दीपकबाबु अर्याल

मानव जीवनमा कहिलेकाहीँ अकल्पनीय घटना घट्दो रहेछ। २०६४ पौष १० गते पूर्वी सुर्खेतको भेरी नदी माथि मेहलकुना र दहचौर जोड्ने सुहाघाटमा रहेको झोलुङ्गे पुलको लट्ठा चुँडिएर मेला भर्न आएका मध्ये १५ जनाको मृत्यु भयो, ३३ जना घाइते भए सयौँ जना तीर्थयात्रीहरू भेरी नदीमा खसे। प्रत्यक्षदर्शीका अनुसार पुलमा मानिस त कति हो कति ! सियो छिर्ने ठाँउपनि थिएन। साह्रै अप्रिय घटना घट्यो। घटनाको कारण अरू पनि हुनसक्छन् तर मुख्य रूपमा पुलमाथि धेरै भार भएर घटना  भयो। जुन अनुमान भन्दा बाहिरको कुरा थियो। कुनैपनि संरचनाको डिजाइन गर्दा डिजाइनरले यतिधेरै भार अकस्मात थपिन्छ भनेर कल्पना पनि गरेको हुँदैन। त्यहाँ त्यही भयो। अत्यन्त अकल्पनीय दुर्घटनाका कारण निर्दोष मानिसहरूले अकालमा ज्यान गुमाउन पऱ्यो।

हामी नेपालीहरूको आफ्नै मौलिकता र परम्परा रहेको छ। जुन पश्चिमाहरूको भन्दा नितान्त फरक र विशिष्ठ छ। हाम्रो बानी महत्त्वपूर्ण कामलाई भन्दा तत्काल आईपर्ने कामलाई बढी प्राथमिकतामा राख्दछौँ। वर्षभरि खानपर्ने अन्न उपार्जन गर्ने महत्त्वपूर्ण समयलाई दोस्रो प्राथमिकतामा राखेर गाउँमा हुने सत्यनारायणको पूजालाई पहिलो प्राथमिकतामा राख्दछौँ। यस भित्रको भावुकता के हो भने बरु आफु भोकै बस्नको लागि तयार हुने तर छिमेकीसँगको सम्बन्ध नबिगार्ने। गाँस छुटोस् तर साथ नछुटोस् भन्ने हो। २०६९ फागुन २० गते विवाहको जन्ति लिएर गएको बस पाल्पाको चिडीपानीमा भएको दुर्घटनामा १५ जनाको मृत्यु भयो भने २५ जना घाइते भए। बस सडकबाट झण्डै पाँचसय मिटर तल खोँचमा खसेको थियो। अप्ठ्यारा पहाडी राजमार्ग र बसको क्षमताभन्दा बढी भार भएको कारणबाट दुर्घटना भएको थियो। बसमा बढी भार हुनुमा छिमेकीहरूले महत्त्वपूर्ण कामलाई भन्दा तत्काल आईपर्ने कामलाई प्राथमिकतामा राख्‍ने र मर्दा—पर्दाको हितैषीसँगको सम्बन्धलाई जीवित राख्‍ने परम्पराले काम गरेको स्पष्टै छ।

भक्तपुर सानोठिमीमा रहेको कार्यालय जाने-आउँने बाटो काठमाडौँ चक्रपथ हो। जामको के कुरा गर्नु ? ट्रिपरले, माइक्रोले, बसले, ट्रकले मोटसाइकलले जहाँबाट घुमाएपनि हुने जहाँ रोकेपनि पाउने, सडककै बीचमा रोकेर आफ्नो बिजिनेस गरे पनि पाउने ! बिचरा बटुवाले कहाँबाट कहिले बाटो काटने ? न जेब्राक्रसको मतलब, न सडक किनारामा बसेका बटुवाहरूको मतलब ? सवैभन्दा बढी गणतन्त्रको फाइदा त काठमाडौँको सडकमा गुड्ने मोटरले भन्दा अरू केले उपभोग गरेका होलान् र ? जय होस् मोटरबादी गणतन्त्र।

झण्डै एक वर्ष अगाडि मेलबर्नबाट कान्छी साली लामै विदा लिएर नेपाल आएकी थिइन् म मेलबर्न जाँदा पूरै खातिरदारी गरेकी सालीलाई उनि यहाँ आउँदा सकेको सहयोग गर्नैपऱ्यो। हुनत उनीहरूनै लाहुरे थिए, हामीले गर्नैपर्ने खासै सहयोग के नै हुन्थ्यो र ? कहिलेकाहीँ घ्यारघ्यारे मोटरसाइकल चलाएर ड्राइभरी गर्थेँ। जब उनी मोटरसाइकलमा चढ्थिन अनि तबला बजाए जसरी मेरो कुममा ठटाउन थाल्थिन्। किन यसो गरेकी रहिछन् भने जेब्रा क्रसबाट बाटो काट्दै गर्दा काठमाडौँको बबरमहलमा मोटरले हानेर मानिस मरेको घटना उनले मेलबर्नमा नै पढेकी रहिछन्। भेनाको मोटरसाइकल चलाईमा डर र त्रासले थुरथुर भएर विस्तारै हाँक्नको लागि तबला बजाउने रहिछिन् ! हाम्रो सार्वजनिक यातायातको अवस्था र सर्वसाधारणको विश्वास यस्तो हालत छ।

गोङ्गबु नयाँ बसपार्क छिर्ने मुखैमा भएको आकाशे पुल माथिको दृष्य बालाजुतिरबाट जाँदा हेक्का पनि नहुने र उल्टो दिशा पर्ने भएको कारणबाट त्यहाँको चहलपहलको खासै वास्ता हुँदैन। साँझ फर्कँदा बसपार्कमा जाम नखाएको विरलै हुन्छ ! कुनै दिन जाम खाएन भने कहीँ कतै अनिष्टको आकलन गर्दा पनि हुन्छ। बसपार्क र जाम एकअर्काका पर्यायवाची नै हुन, बिचरा ट्राफिकले के गरोस् ? पूर्ण गणतान्त्रिक आचरण देखाउने सवारी साधनलाई ट्राफिकका मधुरो मुखले फुकेको सिटीको आवाजलाई किन सुन्न परोस् ? जब त्यहा जाम खान्छ अनि के गर्ने ? मोटरबाट घाँटी तन्काएर बाहिरको रमिता हेर्ने। सँधै भीडभाड भईरहने आकाशे पुलको दृश्यले झसङ्ग बनाउँछ। आकाशेपुलको छतमा मात्र नभई, दुवैतिरका भऱ्याङका खुड्किलाहरूमा समेत टम्म मिलेर सडकमा रमिता हेरिरहेका नौजवानहरूलाई देख्दा लाग्छ गाउँमा भोकमरी वा कुनै महामारी नै चलेको छ जसले गर्दा गाउँमा बसिसाध्य छैन्। हत्तेरी ! त्यहाँ त्यसरी सडकमा गुडेका मोटर गन्नकै लागि मात्र बसेका होलान् त ? गाउँघरका खेतका गराहरू बाँझिएका वर्षौँ भयो, देशमा भएका उद्योगधन्दा कलकारखानामा काम गर्ने सीपयुक्त हातहरू नभएर उद्योगीहरू दिक्दारिएका छन्, कामदारको अभावमा विकास निर्माणले गति लिन सकेको छैन, घरायसी टुटफुटका काम गर्ने मान्छे बजारमा नपाएर उपभोक्ताहरू हैरान छन् तर यहाँ नौजवानहरू ठेलमठेल भएर आकाशेपुलमाथि बसेर बाहिरका रमिता हेरिरहेका छन्। मोटरमा बसेर हेरिरहँदा कहिलेकाहीँ अनिष्ट सोच्न पुगिन्छ, पुल माथि बढी भार भएर कहीँ कतै सुर्खेतको मेहलकुनाको घटना त दोहरिँदैन ? प्रार्थना गर्छु, हे ईश्वर त्यस्तो नहोस् ! यो मन पनि केहो के ? राम्रा कुरामात्र कल्पे पनि हुने नि ? सँगसँगै नराम्रा कुरा पनि लठारी हाल्ने।

तालीम, सीप र रोजगारीको क्षेत्रमा विगत लामो समयदेखि काम गरिरहेको छु। युवाहरू भेटे  भने सीपको महत्त्वका बारेमा प्रवचन दिईहाल्छु। आकाशे पुलमाथि बसेका युवाहरूलाई ठूलो ट्रकमा राखेर रोजगारमूलक सीप दिने ठाउँमा लान पाए हुन्थ्यो जस्तो लागि रहन्थ्यो, उकुसमुकुस भैरहन्थ्यो एकदिन मुखबाट फुत्तै निस्कियो लौन यी युवाहरूलाई ट्रकमा कोचेर तालीम दिन लगौँ न ! मोटरमा रहेका सहकर्मीहरूले मैले ठट्ठा गरेको सम्झेछन्, उनीहरू त गलल हाँसे। तर मैले ठट्ठा गरेको थिइन्, मेरो मनभित्रको कुरा ह्वात्तै निस्किएको थियो। केही दिनपछाडि फेरि के भयो भयो झ्याप्पै मुखबाट निस्किहाल्यो यी युवाहरू सबैलाई पालुङ्टार लगेर त्यहाँ सामूहिक खेती गर्न लगाउ न ? यतिखेर पनि त्यहाँ रहेका सहकर्मीहरू मज्जाले हाँसे। यसपाली उनिहरूको हाँसो मलाई नमिठो लाग्यो। यो त मानवीय संवेदनाको कुरा थियो, मेरा यी आकाङ्क्षाभित्र ठूलो पीडा लुकेको थियो। हातमा सीप नबोकी बैदेशिक रोजगारमा गएका युवाहरूको कथा थियो, दैनिक ४—५ वटा काठको बन्द बाकसभित्र बसेर आएका नेपाली आत्माहरूको कथा थियो अनि बङ्गालको खाडीमा जोखिमयुक्त काम गर्ने नौजवानहरूका कथा थियो। त्यसैगरी आफ्नै जीवनकालमा समृद्ध नेपालमा हाम्रा सन्ततिहरूले पौरख गरेको देखेर तृप्त हुने इच्छा लुकेको थियो। हाँस्नका लागि मैले यी कुराहरू गरेको थिइन, मेरो मनभित्रको भावना सहकर्मींहरूलाई बुझाउनै सकिनछु। दिक्क लाग्यो।

गोरखा, लम्जुङ, तनहुँ र मनाङ जिल्लाका बासिन्दाहरूलाई लक्ष्यित गरी सन् १९६० बाट सानो १७ सिटे नेपाल एयरलाइन्सको जहाज उड्थ्यो पालुङटार विमानस्थलमा तर जब पृथ्वी राजमार्गले पोखरा र गोरखालाई जोड्यो तब पालुङ्टार विमानस्थलमा हुने उडान क्रमशः पातलिँदै गयो। चालिसको दशक पछाडिबाट पूर्ण रूपमा बन्द भयो। झण्डै ३२५ विगाहा क्षेत्रमा फैलिएको विमानस्थल कति त अतिक्रमण भईसक्यो, बाँकी रहेको जमिन गौचरणमा परिणत भएको छ। विगत ४० वर्षदेखि यति धेरै जमिन बेकामी भएर बसेको छ, बगलमा नै छ्याङ्गछयाङदी मर्स्याङ्दी बगेको छ, सिँचाइको कमी हुने कुरा भएन। यी युवाहरूले त्यहाँ गएर सामुहिक खेती गर्ने हो भने बार्षिक तीन बाली खेती लाग्ने जमिनबाट मध्यपूर्वका कुनैपनि देशमा गएर गर्ने आम्दानी भन्दा पालुङ्टारको आम्दानीले कता हो कता जित्छ। आफ्नै देश आफ्नै पौरख र आफ्नै आम्दानी कति सुन्दर हुन्थ्यो होला। यस्तै सपना बुन्दै गर्दा जाम खुल्यो। तर त्यहाँको भीड उस्तै थियो।

सिमसिम पानी परिरहेको थियो, आज त युवाहरू ओत लाग्न गए होलान, किन रुझ्दै बस्थे होलान र ? भनेको आज पनि उस्तै भीडभाड छ। अचम्मै लाग्यो ! के छ त्यहाँ ? मनभित्र कौतुहलता जाग्यो। भटभटे रोक्ने ठाउँ जोहो गर्दागर्दै पानी रोकिईसकेको थियो। भटभटे रोकेर फटाफट भऱ्याङ्ग चढेर माथि गएँ। भन्ज्याङ्गमै एकजना बृद्ध तौल नाप्ने मेशिन राखेर बसेका रहेछन त्यहाँ केही सङ्ख्याका युवा झुम्मिएका थिए। मैदानको मुखैमा एकजना युवती बच्चाले ड्रमस्टिक बजाएको खेलौना फिजाएर कराइरहेकी थिइन् त्यहाँ ५—७ जना युवाहरू थिए, त्यसको विपरीत दिशातिर नेलकटर, कनकर्नो, कि-रिङ बेच्‍ने पुरुष थिए, मेरा बाबै यहाँ त विशाल बजार नै रहेछ। फलफूल देखि लिएर, गुँदपाकका पसलहरूका साथै जुत्ता चप्पल, ट्राउजर सबै सामानहरू मैदानका दुइतिर फिँजाएर राखेर ब्यापारीहरू ग्राहकलाई आकर्षित गर्न आ—आफ्नो सीप देखाउँदै थिए, कोहि कराउँदै थिए, कोहि ग्राहकलाई अनुनय गर्दै थिए भने कोहि चर्को स्वरमा बाजा बजाईरहेको थिए। बाटो हिड्ने मानिसहरूको मेलोमेसो छैन ठेलमठेल, कतै युवायुवती मुखामुख गरेर टाँसिएर बसेका छन् भने बगलमा नै मोवाइलको सिसा फेरेको जम्मा ९० रूपैयाँ भनेर धोद्रो स्वरमा एक जना वयस्क कराइरहेको छ। उद्देश्यविहीन भएर आकाशेपुल हेर्न उक्लिएको मलाई न कुनै सामान किन्नु थियो न बाटो क्रस गरेर पारी नै जानु थियो, रमिता हेर्दै भीडले जता धकेल्छ उतै लाग्दै थिएँ। धकेलिँदै थिए, एकजना १८—२० वर्षीय युवाले मलाई कोट्यायो, अनि कानैमा आएर सोध्यो दाइ तपाईँलाई होटल चाहिएको हो ? उनको प्रश्नले म झसङ्ग भएँ। मनमनै सोचेँ यसले ममा होटल खोजेको प्रतीत हुने के त्यस्तो छनक देख्यो ? मलाई आश्चर्य लाग्यो। मैले जिस्कने मुड बनाउँदै भीडबाट साइड लाग्न खोजेँ। दाइ तपाईँलाई कस्तो होटल चाहिएको ऊ हौसियो ! तिमीसँग कस्ताकस्ता होटल छन् र ? मैले मुखबाट निकाल्न नपाउँदै भट्भटाउन थाल्यो तपाईँले कस्तो खोजेको सिङ्गल बेड, डबल बेड, एट्याच, ननएट्याच तपाईँ फिक्री नगर्नुस् म सब ब्यवस्था मिलाउँछु। मैले फेरि प्रश्न गरेँ,  ‘सब भनेको के हो नि ?’ ऊ अलि मस्किँदै भन्दैथ्यो दाइ पनि कुरा नबुझेजस्तो गर्नुहुन्छ !

पहिला तिमी र म चिया पिऔँ अनि होटल तिर जाऔँला हुन्न ? मेरो प्रस्तावले ऊ सशङ्कित भयो र  भन्यो ‘भो चिया नखाने।’ तपाईँ जाने कि नजाने भन्नुहोस् ऊ अलि झोँक्कियो ! मैले उसलाई सम्झाउन खोजेँ, ‘भाइ म यहाँको रमिता हेर्न पसेको एक बटुवा हो, मलाई होटल चाहिएको होइन। बरु तिमीलाई आपत्ति छैनभने मसँग एक कप चिया पिएर कुरा गर न है ?’ ‘तपाईँसँग कुरा गरेर मेरो पेट भरिन्छ र ? यस्ता मान्छे कति आउँछन् कति जानुस् मलाई डिस्टर्ब नगर्नुहोस्’ ऊ रन्कियो। मसँग कुरा गरेबापत म तिमीलाई पैसा दिन्छु नि हुँदैन ? उसले मेरा शरीरलाई सर्लक्कै नियालेर हेऱ्यो अनि भन्यो ‘कति पैसा दिनुहुन्छ ?’ मैले भन्दिए, ‘तिमीले मागे जति दिन्छु !’ मुसुक्क मुस्कुराउँदै भन्यो, ‘चिया त नपिउने तर कुरा चाहिँ गर्ने है त !” युवक तयार भयो। तर त्यो भीडभाडमा कहाँ ठाउँ पाउनु ? सडकतिर फर्किएर बारमा ढेपिएर भऱ्याङको माथिल्लो सिँडीमा ऊ उभियो मपनि त्यसैगरी तल्लो सिँडीमा उभिए। उसले नाम चाहिँ कसै गर्दा पनि बताउन चाहेन, लम्जुङतिर घर बताउने युवा रोजगारी खोज्दै एक वर्ष अगाडि राजधानी भित्रिएको रहेछ। काम खोज्दै भौतारिँदा होटलको ग्राहक खोज्ने दलाल बन्न पुगेछ। उनको सम्पर्कमा अहिले बसपार्क वरपरका चारवटा होटल रहेछन्, दिनभर यसैगरी बसपार्क वरपर घुम्दै ग्राहक खोज्दै लगिदिए बापत कमिसन पाउँदो रहेछ। आम्दानी कति हुन्छ त ? सोध्दा यो पनि ज्यान जाला बताएन आफूलाई खान पुग्नेछ दाइ भनेर टारिदियो। उसको निधारमा परेको गाँठो पढ्दा ऊ अत्यन्त दिक्दार र तनावमा छ तर तनावबाट निस्कन सकेको छैन जस्तो देखिए तापनि मेरो प्रश्नका शान्त, नम्र र शालिन भएर जवाफ दिईरहेको थियो। मेरो मनभित्र सेलाउन नपाएको प्रश्न सोधेँ, ‘होटल चाहिएको हो भनेर किन सोध्यौ भाइ मलाई ?’ ऊ भन्दै थियो, ‘दाइ मेरो काम नै मान्छेलाई नियाल्ने हो। यहाँ अर्कै उद्देश्य लिएर आएका मानिसहरूको हाउभाउ नै फरक हुन्छ, उनीहरूको ध्यान सामानमा हुँदैन, ढिलो हिँड्छन् अनि मान्छेलाई पल्याकपुलुक हेरिरहन्छन्। मैले तपाईँमा त्यही हाउभाउ देखेँ नि दाइ !’ म एक्लै विन्दास हाँसेँ।

अब हामी अलि गहिरिएर यहाँको भीडभाडको बारेमा कुरा गर्न थाल्यौँ ऊ भन्दै गयो, ‘ऊ त्यो पर टोलाएर सडकतिर हेरिरहेको छ नि दाइ, हो तिनी त बर्वाद भए नि ?’ मैले सोधेँ ‘कसरी हँ ?’ ‘यिनी म्याग्दीतिरका पुन हुन्, एकहप्ता अगाडि कतारबाट आएका रहेछन्। एयरपोर्टमा लिनको लागि श्रीमती पाँच वर्षीय बच्चा लिएर गएकी रहिछन्। होटलमा आएर सँगै खाजा खाएछन्। खाजा खाइसकेर तपाईँ बाबुलाई लिएर आराम गर्दै गर्नुहोस् म साथीलाई भेटेर आउँछु भनेर हिँडेकी आज ७ दिन भैसक्यो, मोबाइल स्वीचअफ छ। उनि कता हानिइन्, अत्तोपत्तो छैन्। श्रीमती फर्किने प्रतिक्षामा छोरालाई होटलमा नै छोडेर दिनभरि यहीँ आएर बाटो हेरिरहन्छन् बिचरा ! कति सपना बोकेर विदेशबाट फर्किएका थिए होलान् ! यहाँ भने बच्चा जिम्मा लगाएर श्रीमतीचाहिँ अर्कैसँग हिँडिन् जस्तो छ ? न दाम न श्रीमतीको साथ। त्यो दाह्रीवाल छन् नि दाइ तिनी सिन्धुलीतिरका हुन। कोरिया पठाइदिन्छु भनेर यिनको दशलाख दलालले खाइदिएर भागेको दुई वर्ष भयो। २-४ दिन हराउँछन् अनि फेरि देखापर्छन्, त्यो दलाललाई भेटेँ भने खुकुरीले च्वाट्टै गर्दनमा हान्छु भनेर हिँडेका छन्। खै कैले पो भेट्छन् दलाललाई ? दलालको घर ठेगाना पनि थाहा छैन पैसा दिएको कुनै प्रमाण पनि छैन्। अनि कसरी भेटलान त्यो सैतानलाई ? यी कालो चस्मा लगाउने केटी छ नि दाइ त्यो त खतरा छे। जोपायो त्यहीलाई गन्दा पनि गन्दिन। स्कुटर चढेर आउँछे केटाहरूलाई आफ्नै स्कुटरमा हालेर लैजान्छे, कता हो यतै फ्याट लिएकी छ रे यो त अरू जस्तो होइन नि खतरा छे अनि महङ्गी पनि अचाक्ली छ रे ? हामीलाई त बाल दिन्न।’

हामी कुरा गर्दै गर्दा कालो चस्मा लगाएर भऱ्याङ झर्दै गरेका एकजना मङ्गोलियन अनुहारका केटासँग उसले हात मिलायो र सोध्यो, ‘भिसा आयो त दाइ ?’ ती केटाले ओठ लेप्राएर ‘आछैन’ भन्ने उत्तर दिए र फटाफट आरालो झरे। ‘गोरखाका गुरुङ हुन् दिनका दिन यहीँ आउँछन् दिनभरि चुरोट तन्काएर बस्छन्। साँझ परेपछि यसरी नै आज पनि भिसा आएको खबर आएन भन्दै निराश अनुहार बनाएर फर्किन्छन्। यिनको यस्तो दिनचर्या मैले दुई महिनादेखि देखिराखेको छु।’

तलबाट एउटा फुच्चि उकालो लागी। यी भाइलाई देखेर मुसुक्क मुस्कुराई, उनको पहिरन अत्यन्त भद्दा थियो, ओठमा अस्वाभाविक किसिमबाट लिपिस्टिक लतपतिएको थियो, थाप्लोमा कालो चस्मा अडिएको थियो भने अनुहारको चञ्चलता र अस्वाभाविक शरीरका विकासक्रम बीच कत्ति पनि तालमेल थिएन। भाइले सोधिहाले, ‘के छ त कान्छी ?’ उसले लजाउँदै जबाफ दिई, ‘आज त बोहनी नै नहोला जस्तो छ, तिमी नै हिँड आज।’ भाइ भन्दै थियो, ‘मेरो कर्ममा तिमीसँग जाने कहाँ लेखेको छ र कान्छी ? आम्दानी, भविष्य र जिम्मेवारीले किचिएको छु, रसरङ सोच्ने फुर्सद नै कहाँ छ र ?’ ‘लौलौ तिमी त क्याम्पस पढेर ठूलो मान्छे भएस्, हाम्रो त यस्तै काम हो’ भन्दै उनी उकालो चढिन्।

‘यिनी नुवाकोटतिरकी कान्छी हुन्, दाजुले गाउँबाट ल्याएर बालाजुमा काममा लगाईदिएछन्। सुरुमा घरको सामान्य काम गर्ने र स्कुल्पनि पढाइदिने सर्तमा काममा बसेकी थिइन् ? एकदिन घरबेटी टन्न रक्सी धोकेर आएर यिनलाई जबरजस्ती गर्न खोजेछन्, जसोतसो त्यस दिन त उम्किछन्, त्यो घाईते ब्वाँसोले किन छोडथ्यो र अर्को दिन दिउँसै उनलाई बलात्कार गरेछ। डरधम्की, त्रासले एक वर्षसम्म यौन शोषण गरेपछि यिनले त्यो घरबाट विद्रोह गरिछन्, यसको परिणाम उनीनै अपचलित नारीमा परिणत भई अपमानित भएर त्यो घरबाट निकालिईछिन्। अनि विस्तारै उनी त देहब्यापारमा पो लागिन् बिचरी। हिजोआज त नम्बरी देहब्यापारी भएकीछिन्। अहिले त ग्याङ्ग नै बनाएर हिँड्छिन्। भाइले उनीप्रति स्नेह र प्रेम झल्कायो। अब हिड्नु पर्छ भन्ने लाग्दै थियो मुखबाट निस्किहाल्यो, ‘यस्तो रमाइलो संसारमा हेलिएका रहेछौ, रमाइलोमा नै बित्ने भयो।’

ऊ एकाएक भावुक भयो, भन्न थाल्यो, ‘दाइ किन तेसो हुन्थ्यो ? ममा धेरै जिम्मेवारी छ जँड्याहा बुबाले बन्दकी राखेको घरबारी छुटाउनु छ, बहिनीलाई सकेको उच्च शिक्षा पढाउनु छ अनि मेरी आमाको दुखले मुजा परेका परेलीहरूलाई थोरै भएपनि उजिल्याउनु छ, म बरालिएर हुन्छ र ? घरबाट काठमाडौँ आउने साइत गर्दा आमाका भिजेका परेलीले बोलेको थियो, ‘बाबु तिमीमा धेरै जिम्मेवारी छ तिमी कतै भड्कियौ भने हाम्रो त जीवन नरकमा जान्छ।’ म कहाँ भुल्न सक्छु र ति परेलीका भावहरूलाई, आमाको आशातीत अनुहार सधैँ छोराको बाटो हेरेर गल्लीको तगारोमा नै अड्कीरहेको होला जस्तो लागेर भत्भती मन पोल्छ दाइ।’ अनायास उनका आँखा टिल्पिलाउन थाले, भन्दै थिए, ‘बुबाले कसरी रक्सी खान सिक्नुभयो थाहै भएन ? जति गर्दापनि छुटाउनै सकिनँ, अब त झन् म पनि परदेशी भएँ। आमाको के हालत होला, बैनी सानै छे ?’ ऊ निराश अनुहार बनाएर निकैबेरसम्म टोलाईरह्यो। बसपार्क वरपरका कुनै क्याम्पसमा उच्च शिक्षा अध्ययन गरिरहेको यो दुखी युवासँगै मैले पनि निकैबेरसम्म टोलाएर उसको अनुहार पढिरहेँ।

विदा हुने क्षण साह्रै नरमाईलो भयो, मैले खल्तीबाट एक हजारको नोट निकाल्दै उसलाई दिन खोजेँ, कसैगरी पनि पैसा समात्दै समातेन, मैले धेरै अनुरोध गरेँ, तर उसले मान्दै मानेन, भन्दै थियो, ‘आजको लागि बिहानै तीन सय कमाई सकेँ आजलाई पुग्छ दाइ। तपाईँसँग कुरा गर्दैगर्दा खै कताकता मैले मेरो अभिभावक पाएको महसुस भईरहेको छ। त्यसैले त तपाईँसामु निशङ्कोच पग्लिएँ। तपाईँसँग कसरी पैसा लिनु ? दु:खी भए पनि मानवता हराएको छैन नि दाइ ! बरु सक्नुहुन्छ भने तपाईँको फोन नम्बर दिनुहोला जीवनका असङ्ख्य घुम्तीहरूमा तपाईँको सहयोग चाहिएमा अवश्य फोन गर्नेछु।’ कति निश्चल र सरल अभिव्यक्ति थिए। उसका शब्द र विशाल छातीले साँच्चैनै दव्रित बनायो। मनभरि उसका कथा टाँसेर कहिल्यै नबिर्सने अठोट गर्दै विदा भएँ, अलि अगाडि बढेर फर्केर हेरेँ उसको आशातीत अनुहार मैतिर फर्किएको थियो, अडिएर हेर्नै सकिनँ, मुटु भक्कानिएर आयो, कठोर भएर भटभटेको कान धेरै नै बटारेँ। अलि पर पुगेर फर्किएको ऊ ओझेल परिसकेछ। आकाशेपुल माथि बसेका युवाहरूलाई सीपमूलक तालीम दिएर रोजगार र स्वरोजगार बनाउने सपना बोकेर उक्लिएको थिएँ, खिन्न, भारी र विरक्तिएको मन लिएर फर्किएँ। साँझ खिन्नता र मौनतामा नै बित्यो। श्रीमती गीता र छोरी गृष्मालाई आजको मेरा अनुभव सेयर गर्न मन नै लागेन।

भोलिपल्टको बिहान सदाझैँ कार्यालय जानका लागि बनस्थलीमा मोटर कुर्दै थिएँ। धुलोको के कुरा रह्यो र ? नाकमा पट्टि बाँधेर एकोहोरो मोटर आउने प्रतिक्षा गर्दै थिए अनायास मेरो खुट्टामा सानो बालक ठोकियो, म झसङ्ग भए बच्चाका बारेमा सोधखोज गर्न नपाउँदै हत्तपत्त एक जना युवती आएर बच्चा टिपी गइन्। उनी रहिछिन् पिङकी कुशवाडिया “पथ्थरकटिया”। २० वर्षको उमेरमा नै तीनवटा बच्चा जन्माईसकेकी एउटी आमा। उनकै पछिल्ला सन्तान जुम्ल्याहा मध्येको एक मेरो खुट्टामा लट्पटिन आएको रहेछ। यी बच्चाहरूका दैनिकी नै यस्तै रहेछन्, सडकमा नै जन्मिने र सडकमा नै हुर्कने यिनीहरूका नियति नै रहेछ। शरीरको माथिल्लो अङ्गमा हल्का पहिरन भएपनि सृष्टि धान्ने अङ्ग निर्वस्त्र र स्वच्छन्द थियो। धुलो मैलोमा लटपटिएको शरिर भए पनि देख्दा रहरलाग्दा हात पाखुरा भएका निरोगी जस्ता थिए। अलिपर यसकै जोडी यस्तै भेषभूषामा मस्त भएर सडकका किनारामा खेलिरहेको थियो, यिनीहरूलाई दैनिक रूपमा गुड्ने असङख्य मोटरको के वास्ता। धुलो-मैलोमय सडकका किनारामा प्लास्टिकले ढाकिएको ओतलाग्ने दरबारभित्र मस्त निदाएर सुखका रात दोपहर काट्थे होला ? बाँकी समय यही सडकका किनारामा दिन काटिरहेका छन्। २० औँ वर्ष बनस्थलीको सडक नापेको भईसकेको थियो तर सडक किनारामा रहेको प्लास्टिक कुटुरीतिर पटक्कै ध्यान गएको थिएन। यि बालकका जन्मदाता त बर्षौँदेखि यहीँ नै व्यवसाय गरिरहेका रहेछन्। आज यी बालक खुट्टामा नलुटपुटिएका भए यिनीहरूसँग किन साक्षात्कार हुन्थ्यो होला र ? बनस्थलीको सडककिनारामा बर्षौँदेखि सिलौटा र जाँतो बनाएर व्यापार/व्यवसाय गरिरहेका रामजी र पिङ्कीसँग आज परिचय स्थापित हुन पुग्यो।

मेरो कार्यालय जाने र मोटर कुर्ने धुलाम्मे बनस्थली भएको कारणबाट यी नवपरिचित पत्थरकटिया जोइपोइका दिनचर्या नियमित नियाल्न थाले। उनीहरूको जीवन सामान्य थियो तथापि साह्रै लोभलाग्दो थियो। बिहानदेखि साँझसम्म दुवै जना श्रम गरिरहेका देखिन्थ्ये भने, ती साना बच्चाहरू सडककिनाराको खुल्ला आकाशमा निस्फिक्री खेलिरहेका हुन्थे। समय बित्दै गयो, उनीहरूसँग राम्रै परिचय स्थापित हुन थाल्यो। पिङकी मसँग भन्थी, ‘सर हामी त पाँचवटा बच्चा पाउने हो ! सँगै रहेका रामजी लाजमान्दै हो मा हो मिलाउँथे। ‘पाँचवटा बच्चा पाएर कसरी खुवाउँछौ नि ?’ मेरो प्रश्नमा सहजै जबाफ दिन्थे, ‘एउटा सिलौटा वा जाँतो बेचेमा दुई दिनसम्म मज्जाले खान पुग्छ, हामीलाई केको फिक्रि छ ! दुवैछाक मासुभात खान्छौ सर हामी त !’ दुवै एकमुख लाएर भन्थे। यिनीहरू आफ्नो काम, आफूले गरेको श्रम र आम्दानीबाट कति धेरै सन्तुष्ट रहेछन् भने तराजुमा नाप्नै नसकिने। सीप र काम कति धेरै महत्त्वपूर्ण रहेछ, हातमा सीप भएपछि कति धेरै आत्मविश्वास हुँदोरहेछ, यी जोइपोइ नै गतिलो उदाहरण छन्। मनमा त लागिरह्यो बसपार्कको पुलमाथि बसेर मोटर गनिरहेका युवाहरूलाई यस्तै सीप सिकाउन पाए हुन्थ्यो होला नि ? तर कुरा पो कसरी बुझाउने ? खेतबारी बेचेर दलाललाई पैसा बुझाउन तँछाडमछाड गरिरहेका युवाहरूलाई जाँतो सिलौटा बनाउने तालिमले के नै आकर्षित गर्न सक्थ्यो र ? जय होस् रामजी र पिङकी कुशवाडियाको, यिनीहरू जुगजुग यसरी नै हाँसीखुसी श्रम गरिरहून्।