तुलसीपुर उपमहानगरपालिकाका जमीन बाँझो राख्न नपाइने - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

तुलसीपुर उपमहानगरपालिकाका जमीन बाँझो राख्न नपाइने



तुलसीपुर (रासस) । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो इलाकाभित्र आगामी साउन महिनादेखि कुनै पनि जमीन बाँझो राख्न नपाइने नीति ल्याएको छ ।
उक्त उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले वर्षमा एक बाली पनि खेती नगर्ने, फलफूल नरोप्ने वा जमीनमा कुनै पनि संरचना नबनाई बाँझो राख्नेलाई निरुत्साहित गर्न सो नीति ल्याइएको बताइन् ।
उनले भनिन्– ‘वर्षमा एक बालीसमेत नलगाउने बाँझो जमीन राख्नेलाई अतिरिक्त मालपोत शुल्क लगाइनेछ भने एक वर्षमा लगातार तीन बाली उत्पादन गर्ने कृषकलाई भने करमा छुट दिइनेछ ।’
उपमहानगरपालिकाको सो नीति ल्याएपछि आफू निकै खुशी भएको वडा नं. ६ रजौराकी सुशीला भट्टराईले बताइन् । उनले भनिन्, ‘अब वर्षौंदेखि बाँझो रहेका जग्गा पनि संरक्षण हुने र अनावश्यक रुपमा खेतीयोग्य जमीनमा प्लटिङ गर्नसमेत रोक लाग्नेछ ।’ उक्त उपमहानगरपालिका ३८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ भने यहाँ रहेका धेरै खेतीयोग्य जमीन वर्षौंदेखि बाँझै रहेका थिए ।