पुस्तक - "मृत्यु सर्वस्व" : मृत्युको आयु - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

पुस्तक – “मृत्यु सर्वस्व” : मृत्युको आयु



~डी. चिरञ्जीवी~

आदरणीय रवीन्द्र समीरको म्यासेज आयो – “भाइ ! उपन्यास लेखेको छु, मुख्यपात्रको रूपमा चाहिँ खाडी बसेको युवा राखेको छु। तपाईं पनि उतै हुनुहुन्छ। एकपटक पाण्डुलिपि हेरेर गुणदोष बताउनुहोस् न !”

मलाई महाकवि कालिदासको स्मरण भयो, जसले रघुवंश महाकाव्यको सुरुवातमा भनेका छन् –

“तं सन्तः श्रोतुमर्हन्ति सदसद्व्यक्तिहेतवः !
हेम्नः संलक्ष्यते ह्यग्नौ विशुद्धिः श्यामिकाऽपि वा !!”

मेरो यो ग्रन्थ उनीहरूले पढुन् जो गुणदोष केलाउने क्षमता राख्छन्। किनकि सुनको शुद्धता जाँच्न अग्निपरीक्षण गरिन्छ।

मलाई रवीन्द्र समीरले त्यही आगो सम्झिनुभयो, मेरो सौभाग्य थियो यद्यपि म अङ्गारभन्दा बढी कहिल्यै हुन सकिनँ।

पढ्न सुरु गरेँ।

वस्तुनिर्देशात्मक मङ्गलाचरण गरिएको रहेछ। सुरुवातमै मृत्युको प्रसङ्ग। या भनौँ, शीर्षक नै “मृत्युको आयु”। सामान्यतया मानिसलाई मृत्यु शब्द नै अप्रिय लाग्छ तर वेदान्तदर्शन या उपनिषद् या गीताका दृष्टिमा “मृत्यु” किमार्थ नौलो होइन, किनकि –

“जातस्य हि ध्रुवो मृत्युः ध्रुवं जन्म मृतस्य च !
तस्मादपरिहार्येर्थे न शोकं कारयेद्बुधः !!”

प्रायः, कुनै पनि आख्यान पढ्दा या विवेचना गर्दा त्यसका कथानक, चरित्र, भाषाशैली, दृष्टिविन्दु, सामाजिक आर्थिक आदि पक्षहरू, यथार्थ-आदर्श-विसङ्गति आदि वादहरूलाई ध्यान दिइन्छ/केलाइन्छ तर यो किताब पढ्न बस्दा लाग्यो – म गुरुकुलमा छु र उपनिषद्को गुरुमुखश्रवण गरिरहेको छु।

उपन्यासका बारेमा धेरै लेखेर उपन्यासको मोहनी कम गर्न किमार्थ चाहन्नँ। यसलाई लेख्नका लागि लेखकले गीता, वेदान्त र उपनिषदको समुद्र-मन्थन गरेको कुरामा द्विमत छैन। नत्र उपन्यासको रूपमा यस्तो सुमधुर “नवनीत” या अमृत कताबाट निस्कन्थ्यो ?

यो उपन्यास युवाले पढ्दा “युवाकै लागि” लेखेजस्तो छ जसलाई पढ्ने युवाहरूका आँखा भावुकताले भरिन्छन् भने मुमुक्षुले पढ्दा जीवनको सारहीनता बोध गराउने उद्देश्यले लेखेको “मृत्युसर्वस्व” जस्तो लाग्छ, जसलाई पढ्ने साधकको हृदय जीवनको निःसारता र मृत्युको परमसत्यताको बोधले भरिन्छ।

यद्वा,

परिवेश कठोपनिषद् हो, लेखक यमराज हुन् र पाठकलाई “नचिकेता” बनाएर “मृत्युको आयु” को बहानामा मृत्युमहिमाको दीक्षा दिइरहेका छन्।

उपन्यासले समग्रमा एक वाक्य बोलिरहेको छ –

“सम्मीलने नयनयोर्न हि किञ्चिदस्ति !!”

अर्थात्,

सारा संसार, दुनियाँदारी, सब क्षणिक या जीवित रहेसम्म हुन्, जब दुवै आँखा बन्द हुन्छन्, चेतना बन्द हुन्छ त्यसपछि केही पनि रहँदैन।

मृत्युपछि आयु नै नरहने या आयुको अन्तिम गन्तव्य “मृत्यु” रहने अवस्थामा “मृत्युको आयु” देख्ने र लेख्ने प्रयोगधर्मी स्रष्टा रवीन्द्र समीरको लेखनीलाई शतशत नमन !!

साथै,

उपन्यासको सफलताको मङ्गलकामना !!