कांग्रेस छिट्टै सरकारमा जाने - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

कांग्रेस छिट्टै सरकारमा जाने



नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशरण महतले नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्ने बताएका छन्। नुवाकोटको तादी गाउँपालिकामा बुधबार सुरु ‘अन्तर पालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उद्घाटनमा पूर्वमन्त्रीसमेत रहेका डा महतले जनताले कम रुचाएको दलले सत्ता सञ्चालन गर्दा जनपक्षीय काम हुन नसक्ने बताए। कांग्रेस सरकारमा पुगेपछि नुवाकोटसहित देशभर नै समृद्धि आउने दाबी उनले गरे।

“गठबन्धन गरेर एकआपसमा मत साटेर समृद्ध नेपाल निर्माणका लागि सहकार्य गर्‍यौँ। गठबन्धनको ठूलो दलको हैसियतले सरकारको नेतृत्वमा कांग्रेस नै पुग्नुपर्ने हो”, प्रवक्ता डा महतले भने, “ठूलो दल भएको कांग्रेस सत्ता बाहिर हुनु अस्थिरताका कारण स्वाभाविक रुपमा लिएका छौँ। स्थायी राजनीतिक परिवेशको निर्माण र राजनीतिक स्थिरताका लागि केही दिनमा नै कांग्रेस सरकारमा पुग्ने भएकाले निराश हुनुहुन्न।”

प्रतिपक्षमा रहेको कांग्रेसले सत्ता बाहिर रहँदा सरकारको राम्रो कामको प्रशंसा गर्ने र गलत कामको गलत भन्ने मात्र नभई रोक्नका लागि सम्पूर्ण शक्ति लगाउने उनले चेतावनी दिए। भलिबल प्रतियोगिता उद्घाटनमा पूर्वमन्त्री डा महतले खेलले शारीरिक तन्दुरुस्ती र मानसिक स्फूर्तिसमेत दिने भएकाले खेललाई मनोरञ्जन मात्रै नभई स्वस्थ्य जीवनका लागि अपरिहार्यता रहेको बताए।

खेलकुदले बहुआमायिक लाभ पुग्ने भन्दै विकास, परिवर्तन र राष्ट्रिय एकतामा खेल र संस्कृति सबैभन्दा बलियो हतियार रहेकाले राजनीतिक हस्ताक्षेपमुक्त भएर यसको प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ। रासस