रुपन्देही क्षेत्र नं. ४, २ मा काँग्रेस विवाद - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

रुपन्देही क्षेत्र नं. ४, २ मा काँग्रेस विवाद



बुटवल : नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ४ (२) मा विवाद भएको छ । प्रदेश सभामा केही दिन अघि मात्रै संघीय समाजवादी फोरम नेपाल परित्याग गरी काँग्रेस प्रवेश गरेका वसिउद्दिन खाँनलाई टिकट दिन लागिएको भन्दै त्यहाँका जिल्ला सदस्य, क्षेत्रीय सभापति, पूर्व महासमिति सदस्यहरु र बुथ सभापतिहरुले विरोध गरेका छन् ।

पैसाको बलमा नवप्रवेशीलाई टिकट दिन लागिएको भन्दै शनिबार मर्चवारमा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट पक्षले विरोध जनाएका हुन् । असन्तुट पक्षका नेताहरुले क्षेत्रीय कमिटीले सिफारिस गरेका उम्मेदवारहरुबाट जसले टिकट पाए पनि एक ढिक्का भएर चुनाव प्रचारमा लाग्ने तर खाँनलाई टिकट दिएमा स्वतन्त्र उम्मेदवार उठाएर चुनावमा जाने बताएका छन् । पूर्व महासमिति सदस्य जयचन यादवले पैसाका कारले पार्टी भित्र योगदान गरेका लाई छाडेर भर्खर पार्टीमा आएकालाई टिकट दिन खोज्ने कार्यकर्ताको अवमूल्यन भएको बताए ।

स्थानीय निकाय निर्वाचनमा काँग्रेसका उम्मेदवार हराउन लागि परेको र अहिले पैसाका आडमा काँग्रेस प्रवेश गरी उम्मेदवार बन्न लागेको भन्दै नेताहरुले खाँनको विरोध गरेका हुन् ।

पूर्व महासमिति सदस्य एवं स्थानीय निकाय निर्वाचनमा कोटहीमाई गाउँपालिकाका उम्मेदवार विरेन्द्र जैसवालले कुनै पनि हालतमा खाँनलाई जित्न नदिने बताए । उनले पार्टीले जीवनभर पार्टी काममा योगदान गरेका भन्दा पैसावालालाई उम्मेदवार बनाउन लागेको भन्दै आफूहरुलाई सैह्य नहुने बताए ।

पत्रकार सम्मेलनमा जिल्ला सदस्यहरु श्रीराम यादव, अवधराम यादव, अशोक तिवारी, मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरी, महासमिति सदस्य थानेश्वर घिमिरे, पदम भण्डारी, चन्द्रभान अहिर, जगन्नाथ यादव, रामअवोध पाल, जनार्दन यादव लगायतको सहभागिता थियो । क्षेत्र नं. ४ (२) मा छुट्टै समूह नै बनाएर खाँन विरुद्ध काँग्रेस नेताहरु लागेका छन् ।

बुथ सभापति देखि जिल्ला स्तरका नेताहरु खाँन विरुद्ध लागेर स्वतन्त्र उम्मेदवार नै खडा गर्ने चेतावनी दिएपछि काँग्रेस क्षेत्र नं. ४ मा खैलाबैला नै मच्चिएको छ ।