कहिल्यै १२ नबज्‍ने घडी - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

कहिल्यै १२ नबज्‍ने घडी



एजेन्सी–

१२ अङ्कलाई धेरैले अशुभ मान्दछन् । कसैलाई दशा लाग्दा वा आपत पर्दा मेरो त बाह्र बज्यो भन्छन् धेरै मान्छेहरू । बाह्र बजेको समय पनि धेरैले अशुभ काल ठान्छन् र कतै यात्रा गर्दा बाह्र बजेको समय छल्ने गर्दछन् । तर जति छले पनि एक दिन अर्थात् २४ घण्टामा २ पटक त बाह्र बजेरै छाड्छ घडीमा ।

घडीमा बाह्र बज्नु प्राकृतिक नियम नै हो । तर यो दुनियाँमा एउटा यस्तो घडी छ जसमा कहिल्यै १२ बज्दैन । यो घडीमा किन बाह्र बज्दैन भन्ने कुरा थाहा पाउनुभयो भने तपाईँ झनै अचम्ममा पर्नुहुनेछ ।

हो, स्विजरल्याण्डको सोलोथर्न सहरस्थित टाउन स्क्वाएरमा एउटा घडी छ । उक्त घडीमा कहिल्यै पनि बाह्र बज्दैन किनकि घडीमा केवल ११ वटामात्र अङ्क छन् । घडीमा १२ अङ्क गायब छ । त्यहाँसँगै रहेका अरू घडीमा पनि बाह्र बज्दैन ।

यो सहरको अर्को विशेषता भनेको यहाँका मानिसहरूमा ११ अङ्कप्रति विशेष लगाव छ । यहाँका जुनसुकै चिजको डिजाइन ११ अङ्कको आसपासमै घुम्ने गरेको छ । सहरमा चर्च तथा च्यापेलको सङ्ख्या पनि ११–११ रहेको छ । त्यसका अलावा सङ्ग्रहालय, ऐतिहासिक झरना तथा टावर पनि ११ नम्बरकै रहेका छन् ।

सहरमा रहेको सेन्ट उर्सुस चर्चमा पनि ११ अङ्कको महत्त्व प्रष्टसँगै देख्‍न पाइन्छ । यो चर्च ११ वर्षमा निर्माण सम्पन्न भएको थियो । त्यहाँ ३ वटा सिँढीको सेट छ र हरेकमा ११ वा पङ्क्ति रहेका छन् । साथै चर्चमा ११ वटा ढोका र ११ वटा घण्टी रहेका छन् ।

सहरबासीहरूमा ११ नम्बरसँग यतिधेरै लगाव छ कि बालबालिकाहरूको ११ औँ बर्थडे विशेष रूपमा मनाउँदछन् । त्यस अवसरमा दिइने उपहारहरू पनि ११ अङ्कसँग विशेष सम्बन्धित रहेका हुन्छन् ।