पुराना ग्राहक भन्छन: भुलेर पनि नजोड्नुस क्लासिकटेक - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

पुराना ग्राहक भन्छन: भुलेर पनि नजोड्नुस क्लासिकटेक



क्लासिकटेक इन्टरनेट: अप्रेसन २

केही समय अगाडी धेरै ग्राहकको अनुरोधमा हामीले क्लासिकटेक नेटको ठगीको बारेमा समाचार प्रकाशन गर्यौं । जसमा कम्पनीले ग्राहकलाई गुमराहमा पारेको, सेवाको नाममा लुट मच्चाएको बारे सत्य तथ्य बाहिर ल्याउने कोसिस गर्‍यौँ । यसबाट हामीलाई कैयौँ ग्राहकले यसका अन्य करतुत बाहिर ल्याउन सुझाव दिए भने कसैले यो कम्पनीले सेवाको नाममा गरेको चरम ठगिलाई बाहिर ल्याएर यिनीहरूको कम्पनीलाई कारबाहीको दायरामा ल्याउन सहयोग गर्ने आश्वासन दिए ।

हामी २१औं शताब्दीका मान्छे, अहिले सामान्य मान्छेलाई पनि धेरै कुराको ज्ञान छ । अझ इन्टरनेट र यसको सेवासँग जोडिएका कुराको त गुगल गर्दा पनि थाहा हुन्छ धेरै कुरा । तर क्लासिकटेक भन्ने यो कम्पनीले ग्राहक र सम्बन्धितलाई यसरी ठगेको छ कि मान्छेलाई केही थाहा नै छैन सबै यिनीहरूलाई मात्र ज्ञान छ, अरू कसैलाई दुनियाँको बारेमा केही थाहा नै छैन ।

केही वर्ष अगाडी खोलेको यो कम्पनीका मालिकले काठमाडौँमा घर बनाए तर यिनले बेचेको नेटमा राम्रो सँग फेसबुक पनि चल्दैन । धेरै पुराना ग्राहकले त यसको नामसँग पनि एलर्जी हुने बताउछन । सामाजिक सञ्जालमा क्लासिकटेक मात्र हानेर सर्च गर्दा पनि धेरैले गाली गरेको मात्र भेटिन्छ । राम्रो सेवा र सुविधा दिनेहो भने कसलाई फुर्सद छ अरूलाई गाली गर्ने फुर्सद ? त्यो मात्र होइन फेसबुकमा क्लासिकटेकको पेजमा पोस्ट गरेका अफरहरुको कमेन्टमा ग्राहकको व्यापक असन्तुष्टि देखिन्छ ।

नेपाल प्रहरी, नेपाल एअरलाइन्स र केही कम्पनीलाई प्रभावमा पारेर वेबसाइटमा लोगो सहित राखेका छन् हाम्रा सन्तुष्ट ग्राहक भनेर । यस्ता भ्रम र फेसबुकमा राखेका अफर देखेर ग्राहकले नेट जोड्छन र भोलिबाटै पछुताउन सुरु गर्छन् । यो मात्रै हैन कसैलाई नेट जोड्न लगाउँदा पनि कमिसन दिने भनेर प्रलोभन देखाइन्छ तर धेरैले रेफरको कमिसनबापत आउने एक महिनाको नेट फ्री पनि नपाएको गुनासो गरेका छन् । रेफरको कमिसन आफूले जोडेको प्याकेज सकिएपछि मात्र पाउने भनिन्छ तर पछि त्यसको हिसाबनै हुँदैन ।

कसरी ठग्छ क्लासिकटेकले ?

ग्राहकले नेट जोडीसकेपछी भोलिपल्ट बाटै सुरु हुन्छ यो कहानी । कसैको नेट नै चल्दैन भने कसैको नेट अत्यधिक स्लो हुन्छ ३० एमबिपीएस को नेट केबीपीएस मा पनि चल्दैन । कम्पनीमा ग्राहकले फोन गर्न सुरु गर्छन् फोन जति पटक गर्दा पनि उठ्दैन, कहिलेकाहीँ उठ्यो भने मिठा मिठा कुरा गरेर एक छिनमा चल्ने आश्वासन दियिन्छ । यसरी नेट जोडेपछि दैनिक १०-१५ पटक फोन त यै कम्पनीलाई गर्नु पर्छ बागबजारका एक जना खरेल थरका ग्राहकले हिमालपोष्टलाई बताए । सेवाको नाममा ठगीको व्यापार गरेको महसुस गरेर ग्वार्कोका एक शर्मा थरका ग्राहकले अर्कैको नेट जोडे र क्लासिक टेकको सामान फिर्ता गरिदिए । तर उनलाई अझै शङ्का छ कि डिपोजिट बापत लिएको पैसा फिर्ता गर्दैन भन्ने ।

बानेश्वरको एकता मार्गमा बस्ने विष्णु महतले पनि यस्ता समस्या दिनहुँ झेलेको बताउँछन । उनले नेट जोडेको केही महिना भयो, उनलाई कमिसन पाउने आशामा कसैले गज्जब छ भनेर जोड्न लगायो अनि सुरु भयो उनको पनि कहानी । फोन गर्दा कहिल्यै उठ्दैन, अफिसमा गएर समस्या बताउँदा जुत्ता फाटिससक्यो । ठमेलमा कार्यालय भएका भट्टराई थरका ग्राहक पिडा अल्लि फरक छ ‘उनले इन्टरनेट र सफ्टवेयरको काम गर्छन् फरक फरक कम्पनीका ४ वटा नेट जोडेका छन् । तर सबै भन्दा कवाड इन्टरनेट सर्विस भने क्लासिकटेककै भएको उनी बताउँछन् । गुनासो सुनाउँदै उनले भने मैले त मुद्दा हाल्ने भनेर वकिल पनि खोजेको थिएँ, तर नेपालमा समयमा सुनुवाइ पनि हुँदैन समयको बर्बाद हुन्छ भनेर पछि हटे ।

मैतीदेवीमा घर भएका एक ग्राहकले भने फोन गरेर समस्या सुनाउने खर्चले महिनाभर डाटा चलाउन पुग्दो रहेछ बेकारमा क्लासिकटेक जोडेर गल्ती गरेँ । यस्ता धेरै ग्राहक छन् जसले हामीलाई समस्याको भारी बिसाए ।

के भन्छन् कम्पनीका माउते ?

हामीले पहिलो समाचार प्रकाशन गरेपछि धेरै जना ग्राहकले फोन गरेर समस्या टिपाए । हामीले प्रकाशन गरेको समाचार हेरेर कम्पनी बाट पनि फोन आयो एक जना सुन्दर नामका कर्मचारीले भने समाचार किन हालेको ? तपाईँलाई अफ्ट्यारो पर्न सक्छ हटाईदिनुस । हामीले प्रमाण फेला पारेर मात्र समाचार राखेको र यो हटाउन नसकिने जिकिर गर्‍यौँ ।

लगातार फोन गर्न लगाइयो कहिले पत्रकारको सङ्गठनको मान्छेलाई त कहिले कलाकारलाई उनीहरूले एउटै कुरा दोहोराए उनीहरूको पछाडि नलाग्नुस्, समाचार हटाइदिनुस् आदि इत्यादि । हामीले सबैलाई लिखित जवाफ माग्यौँ । अति भएपछि कम्पनीमा गयौँ र सुझाव दियौँ जनतामाथि अत्याचार नगर्नुस् भनेर । यो भन्दै गर्दा पी आर म्यानेजर आइपुगे र २-४ वटा समाचारले आफूहरूलाई केही फरक नपार्ने बताए, उनले थपे अख्तियार देखि मन्त्रालय सम्मका मान्छे यहाँ आउँछन अहिले सम्म सबै मिलेर गएका छन् ।

त्यतिमात्र होइन ३० हजार ग्राहक भएको दाबी गर्ने उनीहरूले प्रत्येक ग्राहक सँग सुरुमै फिर्ता गर्ने डिपोजिटको रूपमा २ देखि ३ हजार रुपैयाँ लिन्छन यो हिसाब गर्दा पनि लगभग ८ करोड हुन आउँछ । यो पैसा कहाँ र कसरी परिचालन हुन्छ भन्ने जानकारी दिदैनन । सम्बन्धित निकायले यी सबै कुराको खोजी गरेर यो कम्पनीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने हो । ग्राहकको व्यापक असन्तुष्टि हुँदा पनि सम्बन्धित निकाय भने मुकदर्शक बसेको पाइन्छ ।

क्लासिकटेक नेटको बिलमा आइ एस ओ ९००१:२००८ प्रमाणपत्र प्राप्त कम्पनी भनेर लेखिएको छ तर उनीहरूको वेबसाइटमा भने यो बारे कुनै जानकारी छैन । नेपालमा यो प्रमाणपत्र प्राप्त कम्पनी हो कि होइन भनेर जानकारी दिने कुनै निकाय छैन । यदि यो प्रमाणपत्र प्राप्त कम्पनी हो भनेपनि यस्तो सेवाको नाममा झुटको व्यापार गर्ने कम्पनीलाई किन दियो आइ एस ओ यो पनि सम्बन्धित निकायले खोज्नुपर्छ ।

अप्रेसन १ यस्तो थियो:

क्लासिकटेक नेटको झुटको खेती लुटको ब्यापार