क्लासिकटेक इन्टरनेटको ठगी धन्दा: (अपरेसन नं १)  - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

क्लासिकटेक इन्टरनेटको ठगी धन्दा: (अपरेसन नं १) 



काठमाडौं-

इन्टरनेट सेवा प्रदान गर्ने क्लासिकटेक कम्पनीले ग्राहकहरूलाई चरम ठगी गरेको खुलेको छ। नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्समा मुख्य कार्यालय रहेको उक्त कम्पनीले ठुला ठुला प्रलोभन बाँडेर ग्राहक बनाउने तर ग्राहकलाई सेवाको नाममा चरम ठगेको गुनासो केही ग्राहकहरूले सुनाएका छन् ।

वेबसाइट तथा विभिन्न सञ्चार माध्यममा ठुला ठुला विज्ञापन गरेर ग्राहक प्रलोभनमा पार्ने उक्त कम्पनीले प्याकेज बेचेपछि सेवा र सुविधामा आनाकानी गर्ने, ग्राहकको फोन नउठाउने, नेट महिनौं सम्म अबरुद्द हुँदा कुरा मात्र गरेर टार्ने लगायतका कार्य गरेपछि हिमालपोष्टसंग ग्राहकहरूले गुनासो पोखेका छन् ।

अहिले बजारमा इन्टरनेट सेवामा निकै धेरै प्रतिस्पर्धा छ चाहे त्यो सस्तो मूल्यमा होस् वा नेटको स्पीड र सेवामा होस् । तर क्लासिकटेकको भने सुरुवातमा १ पल्ट प्रलोभनमा पारेर प्याकेज किन्न लगाएपछि फर्केर नहेर्ने, गुणस्तरीय सेवा दिन नसक्ने, सेवा र नेटको स्पीड त झनै खत्तम हुने गरेको पाइएको छ ।

एक ग्राहकले हामीसँग गुनासो गर्दै भने: के भएको भनेर ग्राहकले गरेको जिज्ञासामा पनि कुनै कारण खुलाइँदैन । कहिले काहीं साँझमा फोन उठ्छ तपाईँको नेट राति १० बजेबाट चल्छ भनिन्छ तर हालत उस्तै हुन्छ ।

आजको जमानामा सबै जसो इन्टरनेटमै निर्भर हुन्छन्, बाहिर भएको आफ्नो मान्छेसँग कुरा गर्ने देखि दैनिक सबै कुरामा इन्टरनेट जरुरी भैसक्यो । पैसा उठाएर आफ्नो दुनो मात्र सोझ्याउने यस्ता कम्पनीलाई जनताले चिन्नुपर्छ ।

समय यस्तो भैसक्यो कि हरेक मान्छेले केही चिज कुर्ने सक्दैन, अझ इन्टरनेट भनेको त कुर्ने कामलाई सहज बनाउने माध्यम हो त्यसैले यस्ता गतिविधि गर्ने र जनतालाई दुख दिने सेवा प्रदायकलाई कानुनि कठघरामा ल्याउनु पर्छ ।

नयाँ बानेश्वर नजिकै मिलनचोक निवासी क्लासिकटेकका एक ग्राहक कम्प्लेन गरेर पनि थाके, अफिस धाएर पनि थाके, फोनमा खर्च गरेरपनि थाके । आजकल त कम्पनीले फोन पनि उठाउन छाडेको गुनासो गरे । दर्जनौँ पल्ट फोन गर्दा कहिलेकाहीँ उठ्यो भने कुरा मात्र गरेर टार्ने गरेको बताए ।

हामीलाई यो सूचना प्राप्त भएपछि हिमालपोष्ट बाट पनि सम्पर्क गर्ने प्रयास गर्र्यौं, दर्जनौँ चोटि फोन हान्यों तर फोन उठेन । यत्ति गर्दा पनि नभएपछि उनीहरूको वेब साइटमा भएजत्ति सबै इमेलमा हामीसँग ग्राहकले गुनासो गरेको जानकारी सहित मेल गर्‍यौँ । त्यसको आधा घण्टामा उतैबाट फोन आयो तर मिठो बोल्ने बाहेक केही उपलब्धि भएन ।

यस्तो प्रस्तिस्पर्धाको बजारमा दिन दाहाडै मान्छे ठग्ने गरेकोले ग्राहक अब प्रहरीको शरणमा जाने निधो गरेका छन् । उनीहरूले कम्पनीले दिनहुँ ठगीरहेको हुनाले यस्तालाई सरकारले पनि खारेज गर्नुपर्ने माग राखेका छन् ।

नेपालमा जे गरे पनि हुन्छ, जनता सोझा छन् भन्ने ठानेर गरिएको हो या सेवा दिन नसकेर यो गरिएको हो भन्ने खुल्न बाँकी भए पनि यी दुवै कार्य निन्दनीय छन् । पहिलो यहाँ जे गरे पनि हुन्छ भन्ने मानसिकता त्याग्न जरुरी छ किनकि आजको जमानामा नजान्ने र नबुझ्ने कोही छैन । दोस्रो कुरा सेवा दिन नसकेको हो भने ठुला ठुला विज्ञापन गरेर जनतालाई झुक्याउने किन ? जसले सेवा दिन सक्दैन उसले कम्पनी चलाउनुको औचित्य के छ ?

केही ग्राहकको गुनासोलाई समेटेर यो सामाग्री तयार पारेका छौँ । ठगिएका अन्य ग्राहकलाई पनि सम्पर्कमा आउन अनुरोध गर्दछौँ ।