निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले मागे माफी - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरले मागे माफी



काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले माफी मागेका छन् । उनले आफूले गरेको फैसलामध्ये रञ्जन कोइरालाको फैसलामा न्यायिक विचलन भएको स्वीकार गर्दै माफी मागेका हुन् ।

महाअभियोगको तेस्रो दिन बयानका लागि उपस्थित भएका राणाले आफूले उक्त मुद्दामा गल्ती गरेको भन्दै यो मुद्दालाई लिएर महाभियोग लगाइएको भए स्विकार गर्न तयार रहेको बताए ।

राणासँग परिचित सशस्त्र प्रहरी बलका तत्कालीन डिआइजी रञ्जन कोइरालालाई श्रीमतीको हत्यामा भएको कैद सजाय घटाउने फैसला गरेका थिए।

जन्मकैद पाएका कोइरालाको पुनरावलोकन निवेदनमा आफ्नै इजलासबाट सुनुवाइ गर्दै उनले हुर्किसकेका छोराहरूको पालनपोषण भन्दै १२ वर्ष सजाय घटाइदिएका थिए।

तेस्रो दिन समितिसमक्ष बयानका लागि उपस्थित भएका उनलाई ‘सशस्त्र प्रहरीका तत्कालीन डिआइजी रञ्जन कोइराला संलग्न ज्यान मुद्दामा मातहत अदालतबाट भएको फैसला उल्टी गरी गैर कानुनी ढङ्गले कैद घटाएपछि पुनः सर्वोच्चमा पुनरावलोकनका क्रममा विचाराधीन रहेकामा त्यस्तो सङ्गिन मुद्दाको शीघ्र सुनुवाइ गरी न्यायिक मूल्य पुनर्स्थापित गर्नुपर्नेमा आफैँले पटक पटक पेसी स्थगित गरेको र त्यही मुद्दालाई प्रभावित गर्ने गरी सार्वजनिक रूपमै फैसलाको प्रतिरक्षा गरेको देखिएको’ भन्दै प्रश्न सोधिएको थियो।

उनको फैसलापछि सार्वजनिक रूपमा आलोचना भएको थियो। उनले मिडियालाई अन्तर्वार्ता दिँदै आफ्नो फैसलाको प्रतिरक्षा गरेका थिए। समितिमा उनलाई प्रधानन्यायाधीशले इजलासबाहिर आफ्नो फैसलाबारे बोल्दै हिँड्नु र टीकाटिप्पणी गर्नु अदालतको गरिमा र पदीय मर्यादा अनुकूलको आचरण होइन, हुन सक्दैन भन्ने आरोप छ, यसमा भनाइ खुलाउनुहोस्‚’ भनेर सोधिएको थियो।

अन्य प्रश्नमा उनले प्रतिवाद गर्दै अन्यमाथि आक्षेप लगाउने गरेका थिए। तर यो प्रश्नमा भने उनले आफूबाट गल्ती भएको र यही आधारमा महाअभियोग लगाएको हो भने सहने भनेर फैसलाको क्रममा न्यायिक विचलन भएको स्वीकार गरेका थिए।

उनले न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार रहेको र इजलासमा उपस्थित नाबालक छोराहरूको पालनपोषण र पारिवारिक जीवन बिताउन कैद घटाइएको तर्क गरेका थिए। उनले विवेक प्रयोग गर्दा गल्ती भएको स्वीकार गरे।

उनले आफूले फैसला गर्दा परिवारको प्रभावमा परेर गल्ती गरेको समेत स्विकार्दै समिति समक्ष माफी समेत मागेको नेपाली कांग्रेसका सांसद एवं महाभियोग सिफारिस समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए।

करिब ९ वर्षअगाडि कोइरालाले घरैमा श्रीमती गीता ढकालको हत्या गरेर शव पालुङमा लगेर जलाएका थिए। उनी त्यो बेला चीनमा तालिममा रहेको समयमा नेपालमा आएर श्रीमतीको हत्या गरेर चीन भाग्ने प्रयास गरेका थिए।

स्थानीयले फेला पारेको डढेको शवको नाडिमा रहेको घडीका आधारमा सो शव गीतको भएको खुलेको थियो। उनी भाग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो। पक्राउपछि जिल्ला र उच्च अदालतले उनलाई २० वर्ष कैद सजाय सुनायो।

उनी दुवै तहको अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत गए। सर्वोच्चमा राणाले सो मुद्दा आफ्नै इजलासमा राखेर १२ वर्ष सजाय घटाएपछि कोइराला २०७७ साउन ८ गते डिल्लीबजार जेलबाट मुक्त भएका थिए।

निलम्बित प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले गरेको फैसलामा जघन्य अपराधमा ‘२० वर्ष कैद गर्दा चर्को पर्न जाने चित्तमा लागेको’ भन्दै कैद सजाय घटाउने फैसला गरेपछि आलोचना भएको थियो।

कोइराला र राणा परिचित र निकट मित्र रहेको र कोइरालाको पक्षबाट लामो समयदेखि आफ्नो पक्षमा फैसला गर्न आर्थिक प्रस्तावहरू लिएर हिँडिरहेको खुलेको थियो। प्रमाणमा भन्दा भावनामा बगेर राणाले गरेको फैसलामा आर्थिक पक्ष समेत जोडिएको आक्षेप लागेको थियो।

संयुक्त इजलासको फैसला गैर कानुनी रहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले २०७७ साउन ११ मा पुनरावलोकनका लागि दिएको निवेदनमा फैसला गर्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरू टङ्क मोक्तान र कुमार चुडालको इजलासले उनको फैसला उल्टाएर जिल्ला र पुनरावेदनकै फैसला सदर गरेपछि कोइराला पुन पक्राउ परेका थिए।

सार्वजनिक रूपमै आफ्नो फैसलाको प्रतिवाद गरेका राणाले फैसलामा गल्ती भएको स्वीकार गरेर उनीमाथि महाअभियोग लगाउनुका विविध कारणमध्ये न्यायिक विचलनको आरोप भने स्वीकार गरेका छन्।