अब भारतीयले नेपाल कब्जा गर्छन- चित्रबहादुर केसी - Himal Post Himal Post
  • ९ आश्विन २०८०, मंगलवार
  •      Tue Sep 26 2023
Logo

अब भारतीयले नेपाल कब्जा गर्छन- चित्रबहादुर केसी



राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकाले भारतीयलाई नेपाली नागरिकता दिएर राष्ट्रपति–प्रधानमन्त्री बन्ने बाटो खोलेको आरोप लगाएका छन्।

भारतद्वारा नेपालको लुम्बिनी र कपिलवस्तुलाई समेत आफ्नो नक्सामा सामेल गरेर संसद भवनमा राख्ने कार्यको विरोधमा राष्ट्रिय जनमोर्चा काठमाडौंले बुधबार शान्तिवाटिकामा विरोध सभामा बोल्दै केसीले यस्तो आरोप लगाएका हुन्।

केसीले नेपालको नागरिकता लिएर भारतीयले यहाँको शासन चलाउने बाटो खुलेको दाबी गरे। नेपालमा ४७ लाख बढी अंगीकृत नागरिक रहेको भन्दै केसीले उनीहरुका सन्तानले वंशजको नागरिकता लिएर देश चलाउन खोजेको केसीको भनाई थियो।

‘अब नेपालमा अंगीकृतबाट जन्मेका लाखौं लाख भारतीयहरु नेपालको वंशजको नागरिक भए। यहाँ भारतको लागि समस्या के थियो ? बन्द व्यापार केही छेक्किएको थिएन, उद्योग धन्दा केही छेक्किएको थिएन। एउटै मात्र भारतमा समस्या के परेको थियो भने हाम्रो ७२ को संविधानमा प्रधानमन्त्री, राष्ट्रपति, प्रधान सेनापति, सर्वोच्चको प्रधान न्यायाधीश हुनको लागि वंशजको नागरिक मात्र हुन पाउँछ भनेर संविधानमा छ’ केसीले भने, ‘त्ययसकारण भारतले वंशजको नेपाली नागरिक बनाएर नेपालको प्रधानमन्त्री, राष्ट्रपति, प्रधान सेनापति, प्रधानन्यायाधीश, सभामुख, मुख्यमन्त्री बनाउने योजना पुरा भयो ।’

अध्यक्ष केसीले भारतले आफ्ना नागरिकलाई नेपालको नागरिकता दिन पहिल्यैदेखि डिजाइन गरिरहेको र त्यो आज सफल भएको बताए।

‘नेपालको तीन तिरै खुला सिमाना छन्। भारतीयहरु नेपालमा आउँछन् र आइरहेका छन्। र उनीहरु यहाँ आएपछि उनीहरुका छोरा छोरी जन्मिनछन्। ४७ लाख अंगीकृत नागरिक छन्। उनीहरुलाई वंशजको नागरिकता दिनुपर्छ भनेर भारतले यो डिजाइन पहिले नै गरेको थियो’ केसीले भने।

उनले संसदमा भएका राजनीतिक पार्टीहरु जहिले पनि लाखौं नेपालीले नागरिकता पाएनन् भनेर बोलिरहने गरेको स्मरण गरे।

अध्यक्ष केसीले भारतले नेपालका धेरै भुभाग कब्जा गरेको छ भन्दै अहिले फेरि नयाँ बनेको संसदको भित्तामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई राखेको बारे धेरैले थाहा पाए पनि यो विषयमा कोही नबोलेको बताए।