ओलीमाथि चीनको वक्रदृष्टि - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

ओलीमाथि चीनको वक्रदृष्टि



हिमालपोस्ट

केही अघि चिनियाँ राजदूत हु यान्कीले ‘जटिल भूगोलबाट हल्ला चलेजस्तो रेल आउन सहज नभएको’ प्रतिक्रिया दिइन् । यस्तो प्रतिक्रिया प्र.म. ओली भियतनाम र कम्बोडियाको भ्रमण सकेर आए लगत्तै भएको थियो। राजदूत यान्कीको अभिव्यक्तिपछि ओली र उनका निकटस्थले चिनियाँ रेलबारे बारम्बार फलाक्ने गरेको महत्वाकाङ्क्षी भाषण अहिले सेलाएको छ । हिमाली क्षेत्रबाट रेल ल्याउने सहज नभएको यान्कीको अभिव्यक्तिले ओलीको मुख सुकाइदिएको छ ।

प्र.म.ओली भियतनाम र कम्बोडिया पुगेर फर्किएपछि चीनले बढी सतर्कता अपनाउन थालेको छ। इन्डोप्यासिफिक अमेरिकी रणनीतिमा नेपाल अमेरिकाको प्राथमिकतामा परेकामा चीन चिन्तित छ । ओलीको भीयतनाम र कम्बोडिया भ्रमणलाई इन्डोप्यासिफिक मामिलासँग जोडेर हेरिने गरेको छ । गत वर्ष संयुक्त राष्ट्रसंघको महासभाका बेला न्युयोर्कमा प्र.म. ओलीले भियतनामी र कम्बोडियाली नेताहरूलाई भेटेका थिए । अमेरिकामा ती देशका नेताहरूसँग भेट हुनु र त्यसपछि ती देशहरूमा भ्रमण गरिनुले यी घटनाहरू अमेरिकी योजनाअनुसार भएको मानिँदैछ ।

भियतनाम र चीनबीच साउथ चाइना सीको टापुबारे विवाद छ। कम्बोडियामा चिनियाँ प्रभाव धेरै भएता पनि अमेरिकाले आफ्नो पनि उपस्थिति बढाइरहेको छ। यस्तो अवस्थामा ओलीको भ्रमणले चीनलाई झस्काएको हो।

नेपालसँगको सैन्य तहको सम्बन्धमा अमेरिकाले उत्तिकै महत्त्व दिइरहेको छ । अमेरिकी रक्षा विभागले नेपाललाई इन्डोप्यासिफिक क्षेत्रको रणनीतिक साझेदार घोषणा गरिसकेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी समकक्षी माइकल पम्पिओसँगको भेटेपछि इन्डोप्यासिफिक क्षेत्रमा नेपालको केन्द्रीय भूमिकाको अपेक्षा विज्ञप्तिमार्फत अमेरिकाले जनाएको थियो ।

अमेरिका, भारत, जापान, अष्ट्रेलिया, इन्डोनेशिया, नेपाललगायतका देशहरू समावेश भएको तर चीन समावेश नभएको इन्डोप्यासिफिक क्षेत्रलाई अमेरिकाले रणनीतिक दृष्टिले महत्त्व दिएको छ। यसो गर्नुको कारण चीनको बढ्दो शक्तिलाई रोक्ने रणनीति देखिन्छ । विगतमा अमेरिकाले नेपालमा खासै चासो दिएको थिएन। अहिले आएर यस्तो सरोकार राख्नुमा उसको रणनीति प्रमुख रहेको मान्न सकिन्छ।

भारत, चीन र अमेरिका जस्ता शक्ति राष्ट्रको रणनीतिक स्वार्थ नहेरी अघि बढ्ने हो भने देशमा दुर्घटना निम्तिन सक्छ । यी शक्ति राष्ट्रका स्वार्थबीच कुटनीतिक चलाखी देखाउनु प्र.म. ओलीको चुनौती रहेको छ। चिनियाँ रेलको उडन्ते गफमात्र गरेर अब केही हुनेवाला छैन।