नियात्रा : सोइलिक द्वीपको उत्सव मालमालाङ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नियात्रा : सोइलिक द्वीपको उत्सव मालमालाङ



~चन्द्रप्रसाद भट्टराई~

न्युआयरल्यान्ड प्रान्तको राजधानी केभियाङ पुगेको दुई–तीन दिन भएको थियो। प्रान्तका मुख्य प्रशासक रबिन्सन सिराम्बाटसँग शिष्टाचार भेट गर्ने कार्यक्रम बन्यो। हाम्रा अफिस कोठा एउटै घरका तल र माथिका तलामा थिए। तोकिएको समयमा उक्लेर उनका अफिसमा पुगेँ। उनी मलाई भेट्न उत्सुकतापूर्वक पर्खेरै बसेका रहेछन्।

औपचारिक कुराकानी सकिएपछि केहीबेर अनौपचारिक गफ भए। रबिन्सन रमाइला मान्छे रहेछन्। मसँग धेरै कुरा सोधे— खास गरी नेपालबारेमा, मेरा परिवारबारेमा र अघिल्लो पटक म पपुआ न्युगिनी छँदा मेरो माउन्ट हागेन बसाइका बारेमा। मैले पनि उनका सबै जिज्ञासाका जबाफ सटीक र रोचक पाराले दिएँ। बीचबीचमा उनी पनि आफ्ना बारेमा केही भन्थे। उनी केही वर्षअघि भारतको मुम्बई पुगी तीन हप्ता बसेर आएका रहेछन्।

“हाम्रै देशमा नपुगे पनि छिमेकी देशसम्म त पुग्नुभएको रहेछ। तपाईँलाई कस्तो लाग्यो त विश्वको त्यो पाटो ?” मैले सोधें।

“ओहो, त्यो त मान्छे नै मान्छे भएको देश रहेछ। जता हेऱ्यो उतै मान्छेको भीड देखिन्थ्यो। सुरूमा त मलाई त्यत्रा मान्छे एकै ठाउँ देख्ता निसासिएरै मरूँला जस्तो भएको थियो। दुई–चार दिनपछि बल्ल अलिअलि बानी पऱ्यो।” उनले भने।

हुन पनि बिचरालाई भारतका ठूला सहरमा कीरासरि मान्छे देख्ता त्यस्तो किन नलागोस् ? क्षेत्रफलको तुलनामा एकदम थोरै जनसङ्ख्या भएको देशका मान्छे हुन् उनी। दाँजेरै हेर्नुपर्दा पपुआ न्युगिनीको क्षेत्रफल नेपालको हेरी साढे तीन गुणाभन्दा ठूलो छ तर जनसङ्ख्या भने नेपालको पाँच खण्डको एक खण्ड मात्र छ। त्यसमाथि पनि सिराम्बाटको प्रान्त न्युआयरल्यान्ड त त्यस देशकै अत्यन्त कम जनघनत्व भएको ठाउँ हो।

उनीसँग नेपाल–भारततिरका कुरा सकिए। मैले बिदा माग्नै लागेको थिएँ, उनले एकछिन रोके र भने, “तपाईँलाई एउटा कार्यक्रममा निम्तो गर्न मन लाग्यो। अर्का महिनाको एघार तारिख शनिबारका दिन हाम्रो गाउँमा मालमालाङ नामको एउटा सांस्कृतिक उत्सव सुरु हुँदै छ। एक हप्तासम्म चल्छ। त्यस उत्सवमा जान तपाईँलाई मेरो विशेष निम्तो छ। दस तारिख शुक्रबार तपाईँलाई म आफैँ लिएर जान्छु। गाउँमा मेरै घरमा बस्नुहोला। आइतबार साँझ वा सोमबार बिहानै अफिस भ्याउन सँगै फर्कौंला। त्यो बेला अरू केही कार्यक्रम नराख्‍नोस् है।” म केही बोल्न नभ्याउँदै उनले एकै सासमा सबै कुरा भने। उनी सिङ्गो प्रान्तका मुख्य प्रशासक हुन्। प्रान्तीय सरकारका मुख्य सचिव हुन्। पहिलो भेटमै त्यति आत्मीयता देखाए। मलाई एकदमै खुसी लाग्यो।

पपुआ न्युगिनीको त्यतिन्जेलको मेरो बसाइ राजधानी र पहाडी प्रान्तमा सीमित रह्यो। एउटा सानो टापुको निर्जनप्रायः गाउँमा गई रमणीय प्राकृतिक वातावरणमा दुई–तीन दिन बिताउने इच्छा धेरै अघिदेखि थियो। मैले त्यस प्रान्तमा टेक्नेबित्तिकै ठ्याक्कै आफूले खोजे जस्तै सुन्दर मौका पाउन लागेँ। सप्ताहान्तको छुट्टीमा नितान्त नौलो ठाउँको यात्रा गर्न पाउने भएँ, त्यस ठाउँमा वर्षदिनमा एक चोटि आउने सांस्कृतिक कार्यक्रम हेर्न पनि भ्याउने भएँ र प्रान्तका प्रतिष्ठित सिराम्बाट परिवारको विशिष्ट पाहुना बनी न्यानो स्वागतसत्कार खान पनि सक्ने भएँ। मेरा लागि तीभन्दा राम्रा कुरा त्यतिखेर अरू के हुन सक्थे र ? हर्षले म गद्‌गद हुने नै भएँ।

“मैले खोजीखोजी हेर्नुपर्ने कार्यक्रम रहेछ त्यो त। त्यस्तो मौका म कसरी छाडुँला ?” उनको निम्तो सहर्ष स्वीकार गर्दै मैले भनेँ। त्यो प्रेमपूर्ण निमन्त्रणाका लागि ती सज्जनप्रति कृतज्ञता जनाएँ। अन्यत्र कतै कार्यक्रम नराख्‍ने वचन पनि दिएँ।

उनले भने, “गाउँको घर हो, यहाँका जस्ता सहरी सुविधा छैनन्। त्यसैले वास बसाइमा अलिकति अप्ठेरो त हुन्छ नै। कष्ट नमानिदिनुहोला।”

मैले भनेँ, “वास बस्ने कुरामा म एकदमै सजिलो छु। तपाईँले त्यस विषयमा पीर मान्नै पर्दैन।”

हुन पनि वास बस्ने कुरामा मेरा थरीथरीका अनुभव छन् भन्ने कुरा त्यसै दिन चिनेका बिचरा सिराम्बाटलाई के थाहा। मेचीदेखि कालीसम्मका धेरै उकालीओराली, भन्ज्याङचौतारी र तराईका फाँटहरू घुम्दा किसिमकिसिमका अनुभव बटुलेको छु। ती अनुभवहरू कतै भौतिक रूपले अत्यन्त कष्टकर छन् त कतै अत्यन्त आनन्ददायी छन्। कहिलेकाहीँ कुनै हिमाली गाउँमा एउटा च्याङ्लो स्लिपिङ ब्यागभित्र गुटुमुटु भएर जाडोले कठ्याङ्ग्रिँदै मङ्सिर–पुसका लामा रात काटेको छु। पहाडी गाउँतिर कति ठाउँमा पिँढीमा एउटा राडी मात्र ओच्छ्याएर लम्पसार परेको पनि अझै बिर्सेको छैन। तराईतिर घुम्दा बिजुली नभएका अँध्यारा गाउँमा हपहपी गर्मीमा मच्छरलाई टोकाउँदै छ्याङ्ग उज्यालो पार्नुपरेका नमीठा अनुभव पनि जीवन्त बनेर छातीमा कोरिएका छन्। नेपालभित्र यसरी दुःख काट्तै रात बिताउनुपर्दा पनि मलाई नमज्जा लाग्दैन, रमाइलै लाग्छ। म कसैको करबलले नभई आफ्नै इच्छाले केही हेर्न, केही खोज्न, केही सिक्न ती ठाउँहरूमा पुगेको हुन्छु। बेलाइत, अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयहरूमा पढेर प्राप्त गर्न नसकेका कतिपय जीवनोपयोगी ज्ञान त्यहाँका दाजुभाइ, दिदीबहिनीसँगका छोटा भेटघाट र कुराकानीमा दुःखसुख बाँड्दा राम्ररी पाउने गरेको मेरो आफ्नै अनुभव छ।

सुविधासम्पन्न ठाउँमा वास बसेको कुरा गर्नुपर्दा विदेशका ठूलठूला सहरका तारे होटेलहरूमध्ये पनि बेल्जियमको राजधानी ब्रसेल्सको एक पटकको बसाइ चाहिँ जीवनमा म कहिल्यै बिर्सन्नँ। ब्रसेल्समा रहेका युरोपीय समुदाय र नेटोका प्रधान कार्यालयहरूमा हुने शिखर बैठकहरूमा भाग लिन आउने विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरू बस्ने गरेको एउटा अत्यन्तै महँगो होटेलको एक्जिक्युटिभ सुइटमा ढलीमली गर्दै सुत्ने अवसर पाएको थिएँ। त्यहाँ आफ्ना सुइटभित्रै राम्रा फर्निचरहरूले सजिएको ठूलो र आकर्षक बैठक कक्ष थियो। धेरै सुखसुविधा भएका दुइटा आधुनिकतम बाथरुमहरू भित्रै थिए। हिँड्दा लचकलचक गर्ने सुन्दर गलैँचा बाथरुममा समेत ओच्छ्याइएका थिए। सुत्ने कोठामा अत्यन्त कलात्मक बडेमानको पलङ थियो। होटेलको एकजना कर्मचारी हजुरिया जर्नेल जस्तो आठै प्रहर तैनाथ रहन्थ्यो। बिहानै बेलुकै ठूलठूला आकर्षक पुष्पगुच्छा लिएर सुन्दर महिला कर्मचारीहरू अभिवादन गर्न आउने। केके थिए केके, भनीसाध्य छैन।

त्यस कक्षको भव्यता देख्ता कतै कर्मचारी झुक्किएर अरू नै कसैको साटो मलाई त्यहाँ राखे कि भन्ने शङ्का भित्र छिर्नेबित्तिकै देखि मनमा आइरह्यो। सम्पूर्ण सुखसुविधा पाएर पनि म त्यहाँ पटक्कै सहजाउन सकिनँ, खुलदुली लागिरह्यो। भोलि मसँग थप पैसा पो माग्ने हुन् कि भन्ने चिन्ता पनि मनको एउटा कुनामा पस्यो। अर्काले बुक गरिदिएको होटेल, के भनेर बुक गरेका थिए, मलाई थाहा थिएन। केही गरी मैले तिर्नुपर्ने भयो भने त मेरो घरबारी सिरिखुरी बेच्ता पनि त्यहाँको एक हप्ताको खर्च तिर्न पुग्दैनथ्यो। एकैछिनपछि छटपटाउँदै रिसेप्सनमा पुगेको थिएँ सोध्‍न।

एउटी सलक्क परेकी सुन्दरीले कम्प्युटरमा तुरून्तै हेरी। “यो हप्ता सबै कोठाहरू पूरै बुक भइसकेका छन्। हाम्रो विशिष्ट ग्राहक युरोपेली समुदायको निम्तोमा आएका पाहुना हुनुहुन्छ तपाईँ। हामीले जसरी पनि तपाईँको सुविधाको ख्याल गर्नै पऱ्यो नि।” त्यस गोरीले मुसुक्क मुस्काएर आँखा नचाईनचाई त्यति भनेपछि बल्ल मेरो मन ठेगानमा आएको थियो। युरोपेली समुदाय जस्तो आफ्नो अत्यन्तै ठूलो, भरपर्दो र नियमित ग्राहकलाई फर्काउन नहुने व्यापारिक धर्मअनुसार सामान्य शुल्क मात्र लिएर होटेलका कर्मचारीले मलाई त्यो विशिष्ट कक्ष दिएका रहेछन्।

नेपालमा कहिलेकाहीँ भौतिक रूपले दुःख खेप्तै हिँडे पनि त्यतिखेरका मानसिक सुखका अनुभव पनि धेरै बटुलेको छु। हिमालतिर हिँड्दा सेता सफा फेटा गुथेका अद्वितीय टाकुराहरू हातैले छुँला जस्तो नजिकै देख्ता मेरो मन त्यसैत्यसै प्रफुल्लित भएर आउँछ। लेकतिर हिँड्दा गुरूङका भेडीगोठमा बसेर उसिनेका फकफकाउँदा आलु नुनखोर्सानीमा चोब्दै जिब्रो फड्कारीफड्कारी खाँदा जुन आनन्द म पाउँछु त्यो कमको हुँदैन। पहाडतिर बिहान झिसमिसेदेखि झमक्क साँझ पर्दासम्म एकनासले हिँडेको हिँड्यै गर्दा पनि हरियो वनजङ्गल र चिसो मीठो बतासका कारण थकाइ लागेको अनुभव कत्ति पनि  हुँदैन मलाई। तराईतिरका ताजा तरकारी र मुखै रसाउने पाकेका पहेंला आँप, रसिला लिची, गुलिया कटहर खाँदाका मेरा सुखानुभूति पनि कमका छैनन्।

दुःखसुखको खासै पर्बाह नगरी हिँड्ने बानी परिसकेको म एउटा घुमुवा नेपालीलाई सिराम्बाटको दुर्गम टापुमा बस्ता कुनै कष्ट नहुने कुरामा म ढुक्क थिएँ। उनलाई यस विषयमा चिन्तै नलिन आग्रह गरेँ।

त्यो दिन उनीसँग छुट्टिएर हिँडेपछि र उनका गाउँमा जाने दिन आइपुग्नुअघि बीचमा दुई–तीन चोटि कामका सिलसिलामा हाम्रा छोटाछोटा भेट भए। भेटैपिच्छे उनी मलाई जुन महिनाको दस तारिखका दिनमा आफ्नो गाउँमा जाने कुराको सम्झना गराइरहन्थे।

नयाँ प्रान्त भएको हुँदा समय फटाफटी बित्न बेर लागेन। हेर्दाहेर्दै जुन महिनाको दस तारिख शुक्रबारको दिन पनि आइपुग्यो। बेलुका चार बजेतिर हिँड्ने सल्लाह भएकाले म बेलैमा तयार भएँ। त्यही दिन बसेको प्रान्तीय सरकारको बैठक समयमा नसकिँदा उनले भने अलि ढिलो मात्र फुर्सत पाए। त्यस प्रान्तका मुख्यमन्त्री केही हप्ताका लागि विदेश जाने कार्यक्रम रहेछ। प्रान्तीय सरकारबाट त्यो दिन निर्णय हुनुपर्ने छलफलका विषयवस्तु धेरै हुँदा बैठक सकिन ढिलो भएछ।

हामी अफिस परिसरबाट निस्कँदा ठ्याक्कै पाँच बज्यो। सिराम्बाटको गाडीमा चढेर पहिला केभियाङ सहरमा भएको उनकै घरमा गयौँ। उनकी श्रीमती रूथी हामीलाई पर्खेर बसिरहेकी रहिछिन्। उनीसँग मेरो परिचय गराए। मैले आफ्ना लुगाफाटा र अरू अत्यावश्यक सरसामान हालेको झोला बोकेरै गएको थिएँ। रुथीले दुई–तीनवटा ठूलठूला झोला तयार पारेकी रहिछिन्। कोक–फ्यान्टाका बट्टाहरूले टन्न भरिएको एउटा ठूलो चिसो बाकस उनले ठिक्क पारेर राखेको पनि मैले त्यहाँ देखेँ। सिराम्बाटले औपचारिक लुगा खोलेर डुङ्गाका लागि सजिलो हुने गन्जी र कट्टु लगाए। हामी तीनजना समुद्र किनारमा डुङ्गा राखेको ठाउँसम्म गाडी चढेरै गयौँ।

हामीहरू डुङ्गा भन्छौँ, उनीहरू डिङ्गी भन्दा रहेछन्। डुङ्गाको चालक सिराम्बाटको आफ्नै भान्जो बाइस रहेछ। उसले मलाई डुङ्गामा स्वागत गऱ्यो। “तपाईँको नामको शब्द हाम्रो नेपालीमा पनि छ। त्यसैले तपाईँ त मेरो वान्टोक पर्नुभयो”, मैले भने। सबै गलल्ल हाँसे।

‘वान्टोक’ पपुआ न्युगिनीमा देशैभरि अत्यन्त चल्तीको शब्द हो। पिजिनमा ‘वान’ को अर्थ एक र ‘टोक’ को अर्थ भाषा हुन्छ। यसको शाब्दिक अर्थ ‘एउटै भाषा बोल्ने मान्छे’ मात्र हो तर यसले दुई व्यक्तिबीचको अत्यन्त गहिरो भावनात्मक सम्बन्ध देखाउँछ। गाउँ नै पिच्छे छुट्टाछुट्टै भाषा भएको देशमा एउटै भाषा बोल्ने भनेको आफ्नै वंश, दाजुभाइ वा दिदीबहिनी नै हुन्। वान्टोकको शब्दार्थ मात्र भन्दा पनि यसका पछाडिको भावना बलियो हुन्छ। व्यवहारमा भने अन्य सबै आफन्तजन र अत्यन्तै नजिकका ठानिएकाहरूलाई पनि यस शब्दले सम्बोधन गरेको देखेँ।

डुङ्गामा बाइसको सहयोगीका रूपमा एउटा अर्को केटो थियो। ती दुई भाइका काम ड्राइभर र खलासीका जस्ता थिए। तिनले हाम्रा झोलाहरू डुङ्गामा जतनसँग मिलाएर राखे। पानी परिहाल्यो भने नभिजाओस् भनेर एउटा ठूलो प्लास्टिकले राम्ररी छोपे। जगेडा डिजेलले भरिएको एउटा ठूलो ड्रम पनि डुङ्गामा हाले। त्यस डुङ्गाले एक चोटि केभियाङ सहर र सिराम्बाटको गाउँ सोइलिक आइल्यान्डबीच ओहोरदोहोर गर्दा सय लिटर जति डिजेल सकिँदो रहेछ। दुर्गम टापुको सानो गाउँमा डिजेल–पेट्रोल पाइने कुरै भएन। त्यसैले उनीहरू एक–दुई ड्रम जगेडा इन्धन हरहमेसा राख्ता रहेछन्। त्यसमाथि अहिले त झन् मालमालाङ उत्सवको बेला, कति चोटि ककसलाई बोकेर कताकता ओहोरदोहोर गर्नुपर्ने हुँदा झन् त्यस कुरामा ध्यान दिने नै भए।

गहिरो प्रशान्त महासागरमा सानो डुङ्गा चढेर जानुपर्ने थियो। नेपालका अधिकांश मान्छेलाई जस्तै मलाई पनि पौडी खेल्न आउँदैन। राम्रैसँग पौडी खेल्न जान्नेकै लागि त यो समुद्री भ्रमण खतरनाक हुन्छ भने मेरा लागि त झनै खतरनाक हुने कुरा मैले प्रस्टै बुझेको थिएँ।

मैले केही दिनअघि मात्र पोर्ट मोर्स्बीस्थित मेरो प्रोजेक्ट अफिसबाट एउटा लाइफ ज्याकेट मगाएको थिएँ। अस्ट्रेलियाली सहकर्मी डेभिडकी पत्नी हेलेन मालमालाङ उत्सव हेर्नै भनेर केभियाङ आउने भएकी थिइन्। पार्टी र अरू कार्यक्रमहरूमा उनीसँग एक–दुई पटक पोर्ट मोर्स्बीमै भेटघाट भइसकेको हुँदा मेरो व्यक्तिगत सम्बन्ध राम्रै थियो। उनलाई फोन गरी लाइफ ज्याकेट ल्याइदिन अनुरोध गरेँ। उनले सजिलैसँग भनिन्, “चन्द्रजी, तपाईँका लागि त्यति काम गरिदिन पाउनु मेरा लागि अत्यन्त खुसीको कुरो हुनेछ।” नभन्दै म जानेभन्दा अघिल्लो दिन उनी त्यो लिएरै आइन्।

डुङ्गामा चढ्ने बेलामा मैले लाइफ ज्याकेट भिरेँ। सिराम्बाट र रूथी त जान्नेबुझ्ने थिए, उनीहरूले त्यो किन चाहिन्थ्यो होला भन्ने कुरासम्म गरे। डुङ्गाचालक बाइस र अर्को केटालाई अलि अनौठो लागेछ। जन्मेदेखि माछाका भुरा जस्तै पानीमा पौडेर हुर्केका तिनलाई पौडी खेल्न नजान्ने मान्छे पनि हुँदा रहेछन् भन्ने सुन्दा आश्चर्य लागेछ। गाउँमा पुगेर भोलि–पर्सिपल्ट दुई–तीन दिन बाइससँग डुङ्गामा डुल्दा उसको पाँचवर्षे छोरो बालाई पनि हामीसँगै हुन्थ्यो। त्यो फुच्चो जहिले पनि डुङ्गाको टुप्पोमा बस्थ्यो, उत्तिखेरै पर्लक्क पल्टेर पानीमा खस्ला जस्तो गरी। त्यो देख्ता मेरो आङै सिरिङ्ग हुने; उसलाई भने न लडौंला भन्ने डर छ, न लडिहाले डुबेर मरौँला भन्ने त्रास। त्यो फुच्चे साँच्चै माछाको भुरै जस्तो थियो, समुद्रभित्र पस्यो भने मलाई त साह्रै नराम्ररी अत्याउँथ्यो। एकैछिनमा निकै पर पुगेर ह्वेल जसरी टाउको फुत्त बाहिर निकाल्थ्यो र म ढुक्क हुन्थेँ।

हामीले साढे पाँच बजे केभियाङको समुद्री किनार छाड्यौँ। मोटर इन्जिन भएको डुङ्गा तीव्र गतिमा चल्यो। सोइलिक आइल्यान्ड पुग्न दुई घण्टा जतिको बाटो थियो। हिँड्दै साँझ परिसकेको हुँदा एकैछिनपछि समुद्रमा घाम डुबे। समुद्र र बाटोमा पर्ने अरू टापुहरूको दृश्य अँध्यारोमा राम्ररी हेर्न पाइनँ। मलाई खिन्नता भयो कि भन्ने लागेछ सिराम्बाटलाई। उनले भोलि–पर्सितिर उज्यालोमा राम्रोसँग घुमाइदिने वचन दिए। समुद्री बाटोमा झिलिमिली बत्ती बलेको एउटा ठूलो जहाज अडिएको हामीले देख्यौँ। त्यस जहाजले छेउछाउमा घुमेर माछा मार्ने र हजारौँ किलो जम्मा पारेर हिँड्ने कुरा सिराम्बाटले सुनाए। समुद्रमा निष्पट्ट अँध्यारो देखेर त्यो कृष्णपक्षको रात रहेछ भन्ने ज्ञान मलाई भयो।

हामी सोइलिक आइल्यान्ड पुग्दा साढे सात बजिसकेको थियो। सिराम्बाटको घरै अघिल्तिर पुगेर डुङ्गा टक्क अडियो। त्यस घरमा त्यही साँझ पहिलो चोटि बिजुली बलेको रहेछ। सिराम्बाटले पुर्ख्यौली घर भत्काएर त्यहाँ दुई वर्षअघि नयाँ घर बनाएका रहेछन्। गाउँमा बिजुली बत्ती नहुँदा उनको घर उज्यालो हुन पाएको रहेनछ। यसै वर्षको मालमालाङ उत्सवमा जसरी भए पनि घरमा बत्ती बाल्ने ती प्रान्तीय प्रशासकको धोको भएकाले घरमा बिजुलीको वाइरिङ केही दिनपहिल्यै गराइसकेका रहेछन्। केभियाङबाट सानो डिजेल इन्जिन किनेर मेकानिकका साथ बिहानै गाउँ पठाइसकेका रहेछन्। साँझमा घरैभरि झिलिमिली बत्ती बालेर सबैजना हामीलाई नै पर्खिरहेका भेट्यौँ।

आफ्नो घर एकदमै उज्यालो भएको देखेर सिराम्बाट दम्पती खुसीले गद्‌गद भए। सिराम्बाटले भने, “तपाईँको स्वागत गर्नकै लागि हामीले आज यस घरमा पहिलो चोटि बत्ती बाल्यौँ। ट्वाइलेट र बाथरूम पनि केटाहरूले तयार पारेरै छाडे।” उनीहरूको खुसीमा सरिक हुन पाउँदा मलाई पनि औधी रमाइलो लाग्यो। सिराम्बाटले स्थानीय काठपात प्रयोग गरी एउटा नयाँ ट्वाइलेट र बाथरूम पनि बनाउन लगाएका रहेछन्। त्यसै दिनदेखि त्यहाँ बिजुली बाल्ने र ट्वाइलेट पनि चलन गर्ने कार्यक्रम रहेछ। ती दुवै सुविधा सबैभन्दा पहिला उपभोग गर्न पाउने पाहुना मै भएँ। ट्वाइलेट स्थानीय काठपातले बनाएको भए पनि भित्र सुविधायुक्त थियो।

सिराम्बाटले सहरदेखि त्यति टाढा निर्जन गाउँको घरमा पनि आधुनिक सरसामान पुऱ्याई बाथरूम र ट्वाइलेट बनाएको देख्ता मलाई निकै खुसी लाग्यो। गाउँमा जताततै पाइने नरिवल र त्यस्तै जातका अन्य रुखका पातबाट बनाइएको त्यस ट्वाइलेटभित्र हुँदा मेरो मन भने एक छिनका लागि नेपालकै गाउँपाखा चहार्न पुग्यो। आफ्ना कामका सिलसिलामा मैले नेपालका कति ठाउँमा विदेशी दातृसंस्थाहरूले गाउँलेका घरघरमा बनाइदिएका चर्पीहरूको अवलोकन गरेको थिएँ। विदेशी पैसा आयो, त्यो सिध्याउन चर्पी बनाइदिनेले बनाइदिए, गए। धेरै ठाउँमा ती पक्की चर्पीमा गाउँलेले दिसापिसाब गरेनन्, बरू त्यहाँभित्र रक्सी पारे, धान राखे, दाउरा थन्क्याए, पतकर थुपारे। मैले कारण जान्न खोज्दा एउटी तामाङनी दिदीले भनेकी थिइन्, “दिसापिसाब त बारीका कान्लामा, बाटाका छेउछाउमा जता गरे पनि हुन्छ तर सामुदायिक वनबाट हिउँदमा एक चोटि बल्लबल्ल काटेर ल्याएको दाउरा बाहिर भिजाएर राख्यौँ भने लोग्नेले भनेको बेलामा ढिँडो पकाउन सक्तैनौँ अनि हामीले खानु पर्दैन लात ? सरले खोइ बुझ्नुभएको ?” ती निरक्षर दिदी त्यतिखेर मेरा लागि पृथ्वीनारायणलाई भात पस्किदिने बूढीसमान भएकी थिइन्।

साँझमा स्थानीय युवाहरूले गीत गाएर मेरो स्वागत गर्ने कार्यक्रम राखेका रहेछन्। हामी पुग्नुअघि नै सिराम्बाटको आँगनमा बीस–पच्चीसजना केटाहरू ड्रम, गितार, स्पिकर आदि बाजागाजासाथ ठिक्क परेर बसेका थिए। हामीले डुङ्गाबाट भुइँमा पाइला टेक्नेबित्तिकै ठूलो उत्साहसाथ कोही ड्रम पिट्न थाले, कोही गितार रेट्न थाले। माताकाभाङ नामको त्यस समूहका केटाहरूले झन्डै दुई घण्टासम्म फुर्केर गीत गाए। सिराम्बाटले हामी तीनैजनाका तर्फबाट समूहलाई केही पैसा दिए। ती केटाहरूले त्यहाँ गाइएका सबै गीत रेकर्ड गरिएको एउटा अडिओ क्यासेट मलाई उपहार दिएर गए।

रातिको खाना मैले सिराम्बाट दम्पतीसँग खाएँ। समुद्र किनारकै घर भएकाले माछाका परिकार त हुने नै भए; भात, कुखुराको मासु, सागपात, केरा, सखरखण्ड पनि थिए। हामी सँगसँगै खानेमा बिजुली मेकानिक एलाइजा माना, सिराम्बाटका दाजु गे्रहेम र उनीहरूका अरू केही नातेदार पनि थिए।

खाइसकेपछि एलाइजा र मैले निकैबेर कुराकानी गऱ्यौँ। समुद्र किनारकै अर्को प्रान्त मानुसका बासिन्दा एलाइजाको यस गाउँसँग भने ससुराली नाता रहेछ। उनी प्रान्तीय राजधानी केभियाङमा काम गर्ने हुँदा मलाई त्यहीँ एक–दुई चोटि देखेको कुरा गरे। केभियाङ सानो ठाउँ भएकाले नौला परदेशीलाई सबैले ख्याल गरिहाल्थे।

पपुआ न्युगिनीमा अलिकति पढेलेखे जस्ता मान्छे भेट्नेबित्तिकै म त्यहाँका भाषासम्बन्धी कुरा उठाइहाल्थेँ। एलाइजालाई त्यो रात सोधेँ, “तपाईँकी श्रीमती यहीँकी भएकीले तपाईँले पनि यस ठाउँको भाषा जान्नुभएको छ ? यहाँ त टुङाक भाषा रहेछ नि।”

“म उनीहरूका सङ्गतबाट टुङाक कामचलाउ बुझ्न सक्नेसम्म भएको छु, बोल्न भने जानेको छैन। हाम्रा केटोकेटी यतै जन्मे, त्यसैले उनीहरू चाहिँ मेरो भाषा लेलेमासीभन्दा श्रीमतीको भाषा टुङाक जान्दछन्।” अरू प्रान्तमा जस्तै त्यस प्रान्तमा पनि कतैकतै एउटै घरमा पनि जनङ्गी भिन्नाभिन्नै भाषा हुँदा रहेछन्।

हामी दुवैलाई भोलिपल्ट बिहान जतिसक्तो चाँडो मालमालाङ हेर्न जानु थियो। कुरा नसकिए पनि एकअर्कालाई रात्रि अभिवादन गरी आआफ्ना कोठातिर लाग्यौं।

बिहान म उठ्ता सिराम्बाट दम्पती घरअघिल्तिरको मचानमा बसेर चिया खाइरहेका थिए। एउटा ठूलो झ्याम्म परेको म्यानग्रोभको रुखमुनि मचान थियो। मलाई पनि चिया खान त्यहीँ बोलाए।

“राति निद्रा पऱ्यो राम्रोसँग ?” सिराम्बाटले सोधे।

“हिँजो थाकेँछु, राति मस्तसँग निदाएँ”, मैले भने।

उनी आँगनमै भएको समुद्रमा केहीबेर डुबुल्की मारेर निस्केका रहेछन्। मलाई भने, “एकछिन समुद्रमा पस्ने भए पस्नोस् न, किनारमै पौडिनुभए हुन्छ, त्यति गहिरो छैन।”

मैले भनेँ, “यहाँसम्म आइपुगेपछि एकछिन त पानीमा पस्नै पऱ्यो नि।”

म पनि केहीबेर सफा नीलो पानीमा पसेँ र पन्ध्र मिनेट जति छप्ल्याङछुप्लुङ गरेर निस्केँ। त्यसपछि नयाँ बाथरूममा गएर नुहाएँ। जीउमा टाँसिएको बालुवा खलक्क पखालियो।

ब्रेकफास्टपछि मालमालाङको उद्घाटन समारोहमा जाने कार्यक्रम थियो। छेउकै अर्को टापु मानसावामा उत्सव भएकाले डुङ्गामै जानुपर्थ्यो। लुगा लाएर डुङ्गा चढ्न हामी आँगनमा निस्क्यौँ तर त्यहाँ डुङ्गा थिएन। एकैछिनपछि घुर्र कराउँदै आइपुग्यो। सबैजना चढ्यौँ। बिहानैदेखि सिराम्बाटको डुङ्गा दाइ ग्रेहेमले चलाएका रहेछन्। अलि पर पुगेपछि सिराम्बाटले भने, “मेरा दाइलाई यस क्षेत्रको समुद्रको एकदमै राम्रो जानकारी छ। उनी हाम्रो परिवारका अत्यन्त कुशल डुङ्गाचालक हुन्।”

हुन पनि ती बूढाले समुद्री बाटोमा कहाँ पानीमुनि ठूलठूला ढुङ्गा छन्, कहाँनिर पानीभित्र बाक्ला वनस्पति छन् जस्ता कुराको एकएक हिसाब राखेका रहेछन्। ढुङ्गे ठाउँ आयो भने सम्भावित खतरा छल्न डुङ्गा स्वाट्टै मोडी अर्कातिर पुऱ्याउँथे।

रबिन्सन सिराम्बाट, रूथी, ग्रेहेम, एलाइजा, सिराम्बाटपुत्र र म डुङ्गामा मालमालाङका विषयमा कुरा गर्दै मानसावा टापु पुग्यौँ। घाटमा थुप्रै डिङ्गीहरू कीलामा बाँधेर राखिएका थिए। राष्ट्रिय झन्डा फरफराइरहेको गभर्नरको आकर्षक डिङ्गी मैले त्यहाँ परैबाट चिनेँ। घाटमा डिङ्गी छाडी सबैजना हिँडेरै गाउँतिर पस्थे। पाँच मिनेटको हिँडाइपछि हामी मालमालाङ उत्सव मनाउने चौरमा पुग्दा ठीक एघार बज्यो।

सिराम्बाटले बिहानै एक पटक मान्छे ओसार्न आफ्नो डुङ्गा केभियाङ पठाएका रहेछन्। उनी प्रान्तका प्रभावशाली मान्छे हुन्, साधनसम्पन्न छन्। यस्ता खालका सहयोगका लागि धेरैले अनुरोध गर्दा रहेछन्। ‘नाइँ’ भनिहाल्न पनि सक्ता रहेनछन्। मान्छे ओसारेर फर्की आउँदा डुङ्गाले ढिलो गऱ्यो अनि हामीलाई पनि मानसावा पुग्न ढिलो भयो। प्रान्तका गभर्नर आइसक्ता पनि आफू पुग्न नपाएको पीरले सिराम्बाट बाटोमा अलि भुट्भुटिँदै थिए।

चौरका बीचमा मञ्च तयार पारेका रहेछन्। गभर्नरले भर्खरै आइपुगेका सिराम्बाट र मलाई आदरपूर्वक मञ्चमा आफ्नै छेउमा राखे। म त्यस प्रान्तको राजधानी केभियाङ पुगेको महिनादिन भए पनि गभर्नर धेरैजसो प्रान्तीय राजधानीभन्दा बाहिर भएकाले त्यतिन्जेलसम्म उनीसँग शिष्टाचार भेट गर्ने अवसर मैले पाएको थिइनँ। मैले भेट्ने प्रयास गरेको कुरा भने उनलाई मजैसँग थाहा थियो। राजनीतिक मान्छे न हुन्, मञ्चमा भेट्नासाथ सुरूमै भनिहाले, “हेर्नोस् न, तपाईँलाई मेरो अफिसमा स्वागत गरी सँगै बसेर एकएक कप कफी खाने साइत अहिलेसम्म नजुरेकोमा मलाई अलि असजिलो लागिरहेछ।” उनले बडो हार्दिकतासाथ हात मिलाउँदै भने, “तपाईँको आराम–बिराम र बसाइको व्यवस्थालगायतका सुविधाहरूबारे भने मैले बेलाबखत खबर लिइरहेको छु।”

“तपाईँ यत्रो सिङ्गै प्रान्तका सबैभन्दा ठूला जनप्रतिनिधि हुनुहुन्छ, व्यस्तता मैले बुझेको छु नि। प्रान्तमा पाइला टेकेदेखि उहाँले मलाई पूर्ण सहयोग गरिरहनुभएको छ।” मैले सिराम्बाटतिर देखाउँदै भनेँ। उनी पनि दङ्ग परे।

पैँतीस वर्ष जतिका हँसिला ती गभर्नर इआन लिङ्स्टकीले मप्रति निकै हार्दिकता देखाए। त्यसलाई सहर्ष ग्रहण गर्दै मैले भनेँ, “म आफूलाई यस प्रान्तबाहिरको पराइ कहाँ सम्झछु र ? म पनि तपाईँहरूका परिवारको सदस्य भइसकेँ। केही दुःखकष्ट पऱ्यो भने भनिहाल्छु नि।” मैले पिजिनमा बोलेको सुनेर गभर्नर छक्क परेका थिए।

हामी नाच हेर्न थाल्यौं। फुटबल ग्राउन्डभन्दा ठूलो त्यस चौरका बीचमा मञ्चअघिल्तिर नाचगान भइरहेको थियो। विभिन्न समूहमा नाच टोलीहरू आइरहेका थिए, आआफ्ना नाच देखाएर गइरहेका थिए। दृश्यले पञ्चायत कालमा जिल्ला सदरमुकाममा राजाको सवारीको झल्को दिन्थ्यो। त्यस प्रान्तमा पनि परम्परागत नाच देखाउँदा लगाउने पोसाक अन्य प्रान्तका जस्तै थिए। धेरैजसो समूहले एउटा लामो कछाड बाँधेका, कौडा–सिपीका माला लगाएका, कपालमा प्वाँख भिरेका, पिडुँला र पाखुरामा हरिया पात सिउरेका थिए। केटीहरूका एक–दुइटा समूहले बीचबीचमा गीत गाए। त्यस उत्सवमा केटीहरूले नाचेको भने मैले देखिनँ।

सेता सर्ट र काला ल्यापल्याप भनिने लुङ्गी जस्ता लुगा लगाएका केटाहरूको एउटा समूहले नाच देखाएर गएपछि पालो थियो उद्घाटन कार्यक्रमलाई गभर्नरको सम्बोधनको। चिनियाँ, अस्ट्रेलियाली र पपुआ न्युगिनियाँ मिश्रित मूलका ती युवा गभर्नरले आकर्षक पारामा पिजिनमा बोले। उनले प्रान्तभित्रका हरेक संस्कृतिको संरक्षणका लागि आफ्नो सरकारले सहयोग गर्ने वचन दिए। उनको बोलाइको एउटा राम्रो पक्ष मैले के ख्याल गरेँ भने प्रान्तीय राजधानीमा बस्ने ती राजनीतिकर्मीले मञ्चमा बसेका स्थानीय स्तरका दर्जनभन्दा बढी नेताहरूका नाम एउटै नबिराई र कत्ति पनि नअड्की फटाफटी सम्बोधन गरेका थिए।

आयोजकहरूका तर्फबाट जिल्लाका सांसद मार्टिन आइनी र सिराम्बाटका दाइ ग्रेहेमले बोले। प्रान्तकै प्रमुख प्रशासकका हैसियतले रबिन्सन सिराम्बाटले पनि बोले।

शनिबारदेखि शुक्रबारसम्म हप्तैभरि मालमालाङ उत्सव चल्ने रहेछ। वर्षदिनमा आउने उत्सव भएको हुँदा छेउछाउका सबै टापुका थुप्रै मान्छे नाच देखाउन र हेर्न आउँदा रहेछन्। पातलो जनसङ्ख्या भएको ठाउँ भए पनि उद्घाटनका दिनमा मैले पाँच हजार जति दर्शक देखेँ। त्यसपछि त्यहीँ नजिकै भर्खर निर्माणकार्य सकिएको महिला स्रोतकेन्द्र भवनको गभर्नरले उद्घाटन गर्ने कार्यक्रम रहेछ। मञ्चमा बसेका हामी सबै उनीसँगै त्यता लाग्यौँ। महिलाहरूलाई पढाउने, स्थानीय सामग्री प्रयोग गरी हस्तकलाका वस्तुहरू बनाउन सिकाउने आदि केन्द्रका उद्देश्य रहेछन्। छोटो कार्यक्रमबीच उद्घाटन सम्पन्न भयो। एक बजिसकेकाले खाना खाने बेला पनि भयो। हामी सबै फेरि मञ्चमा उक्ल्यौँ। एकैछिनमा मञ्चमा थरीथरीका स्थानीय परिकारहरू चट्ट मिलाएर राखिसकेका रहेछन्।

खाना खाइसकेपछि मलाई एकछिन चौरमा घुमेर हेर्न मन लाग्यो। सिराम्बाटलाई खुसुक्क भनेँ र मञ्चबाट ओर्लेँ। चौरका बीचमा भएको नाचगान हेर्न वरिपरि जनसमुदायको भीड थियो। दर्शकहरूलाई हेर्दै बिस्तारै चौर घुमें। मलाई साथ दिन सिराम्बाटका जेठा छोरा पनि आए।

त्यहाँ मैले केही गोरा अनुहार पनि देखेँ। त्यस्तो अनकन्टार गाउँमा ती कसरी आइपुगे होलान् भन्ने स्वाभाविक जिज्ञासा भयो। तत्कालै सोधखोज गरेँ। एउटा अमेरिकी मिसनरी परिवार रहेछ। छ–सात वर्ष भएछ अमेरिकाबाट आई त्यस गाउँमा बसेको। उनीहरूका घरमा भोलिपल्ट चिया खाने निम्तो त्यतिखेरै गरे। दस–बाह्र वर्षका दुई छोराछोरीले स्थानीय साथीहरूसँग टुङाक भाषा मातृभाषैसरि फरर्र बोलेको त्यहाँ सुनेँ। तिनको बोलाइ सिराम्बाट परिवारकै कुनै सदस्यको भन्दा कम थिएन। बाबुआमा पनि राम्रै गरी बोल्दा रहेछन्।

चौरको एउटा कुनामा हेलेन र रोजलाई देखेँ। भेट्नलाई म नजिकै गएँ। हेलेनले अघिल्लो दिन बिहान केभियाङमै मलाई लाइफ ज्याकेट दिएर गएदेखि उनीसँग भेट भएको थिएन, चिन्ता लागिरहेको थियो। मैले तुरुन्तै सोधेँ, “तपाईँले यहाँको लजमा बस्ने ठाउँ त पाउनुभयो ?”

“हेर्नोस् न, यहाँको अलि ठीकैको लज हामी आउनुभन्दा अघि नै भरिइसकेछ। त्यति टाढाबाट यही कार्यक्रम हेर्नै आएकी, कमसेकम आज र भोलिको रात यही गाउँमा बस्न पाए हुन्थ्यो भनेको, लजमा ठाउँ नै छैन। म त त्यसै अलमल्ल परिरहेकी छु।” उनले निन्याउरो मुख लाएर भनिन्।

“उनलाई जहाँ पायो त्यहाँ राख्नु भएन। राम्रो लज मात्र होइन, भएका अरू एक–दुइटा साधारण लज पनि बुक भइसकेछन्। त्यसैले आज दिनभरि उत्सव हेरेर साँझमा डुङ्गा चढी उतै सहरतिरै जाउँ भनेकी मैले।” रोजले थपिन्।

हेलेन पोर्ट मोर्स्बीबाट त्यत्रो पैसा खर्च गरेर आएकी हुन्। एक–दुई दिन बसेर धीत नमरून्जेल उत्सव हेर्ने, असङ्ख्य फोटा र लामालामा भिडिओ खिच्ने उनको इच्छा छ। यहाँका भिडिओहरू उनले अस्ट्रेलिया पुऱ्याई आफन्त र साथीभाइलाई देखाउनु छ।

उनको समस्या देखेर एक मन त मलाई दया लाग्यो तर मेरै अवस्था त्यतिखेर ‘आफू त महादेव कसले देला वर’ जस्तो थियो। आफू नै अर्काकोमा पाहुना लागेको छु। तैपनि मैले भने, “एकछिन पख्नोस् है त, म केही गर्न सक्छु कि।”

म उनीहरूबाट छुट्टिएर सरासरी मञ्चमा गएँ र सिराम्बाटसँग कानेखुसी गरेँ। हेलेनको समस्या बताई केही गर्न सकिन्छ कि उपाय खोज्न आग्रह गरेँ।

“तपाईँकी साथी रहिछिन्, उनलाई पनि हाम्रै घरमा निम्तो भयो। पीर नगर्न भन्नुहोला।” उनले पनि मेरा कानैमा भने।

म फेरि उनीहरू भएका ठाउँमा पुगें। मेरो अनुहार उज्यालो देखेर मैले केही राम्रो खबर ल्याएको अड्कल काटिसकेछन् ती दुइटीले।

“खुसीको खबर सुन्नोस्। तपाईँहरू दुईजनालाई पनि सिराम्बाट परिवारमै बस्ने र खाने व्यवस्था मिल्यो।” मेरो कुरो सुनेर हेलेन कम दङ्ग परेकी थिइनन्।

कहिलेकाहीँ सानो कुराले पनि कति राम्रो प्रभाव पार्दो रहेछ भन्ने कुराको ज्ञान त्यस घटनाबाट मलाई राम्ररी भयो।  पछि पोर्ट मोर्स्बी जाँदा त्यहाँ हाम्रो प्रोजेक्टका अस्ट्रेलियाली सहकर्मीहरूले मलाई ठूलो नायकका रूपमा हेरेको कुरा थाहा पाएँ। हेलेनका पति डेभिडले भने, “तपाईँले हेलेनको त्यस्तो हेरविचार गरेको कुरा हामी कहिल्यै बिर्सन सक्तैनौँ।”

मालमालाङमा त्यस दिनको कार्यक्रम सकिएपछि मञ्चबाट सबैजना ओर्ले। सिराम्बाट र रूथीसँग मैले हेलेनको परिचय गराएँ। रोज त प्रान्तीय राजधानी केभियाङकै स्थायी वासिन्दा भएकीले उनीहरूले चिनेकै थिए।

हामी सबै बिहानकै डिङ्गी चढी सरासर सिराम्बाटको घरतिर लाग्यौँ। बाटोमा मैले चालक ग्रेहेमलाई भनेँ, “तपाईँ त यहाँका ठूला नेता हुनुहुँदो रहेछ नि, तपाईँको भाषण सुन्दा पो थाहा भयो। खुब राम्रो भाषण गर्नुभयो अघि।”

“हो र ? राम्रो थियो ?” उनले मक्ख पर्दै मतिर हेरेर भने। उनी पढेलेखेका मान्छे होइनन् तर राम्ररी मिलाएर कुरा गर्न भने मज्जाले जान्दा रहेछन्।

त्यस रातको खाना निकैबेर लगाएर खायौँ। धेरै गफगाफ भए सिराम्बाट दम्पतीसँग,  दाइ ग्रेहेमसँग, हेलेनसँग,  रोजसँग। हामी आआफ्ना कोठातिर सुत्न जाँदा रातको एघार बजिसकेको थियो।

सुत्नुअघि मैले झ्यालबाट एकछिन समुद्रतिर हेरेँ। बीसै फिट मात्र टाढा बूढो प्रशान्त महासागर पनि दिनभरिको थकाइ बिर्सेर लमतन्न सुतेको थियो। रातको चकमन्न अँध्यारोमा त्यसको चालचुल केही थिएन।

बिहान हामी सबैजना ब्रेकफास्ट खाँदै थियौँ। रूथीले मलाई ‘लन्चमा के खाने’ भनी सोधिन्। त्यहाँ हेलेन र रोज पनि थिए तर म त्यस घरको विशेष पाहुना भएर होला, उनले मलाई नै प्रश्न गरिन्।

“यस प्रान्तमा पाइला टेकेको डेढ महिना भयो। ताजा माछा नखाएको दिनै छैन। आज त समुद्रमा पौडिरहेका माछा झन् तपाईँको भान्साबाटै देखिरहेको छु्। ती छाडेर अरू के कुरामा मेरो मन लाग्ला र ? बरु हेलेन र रोजले के भन्ने हुन् !” मैले भनेँ।

म ताजा माछा भनेपछि हुरूक्कै हुन्छु भन्ने कुरा ती दुइटीले थाहा पाइसकेका थिए। हेलेनले भनिन्, “उहाँको इच्छाअनुसार ताजा माछा नै खाऔँ।”

हुन पनि पोर्ट मोर्स्बीबाट त्यस प्रान्तमा जाने भन्ने कुरा सुनेदेखि नै मेरा मनमा जतिखेर पनि केभियाङका ताजा माछा नै आइरहन्थे। पहिला माउन्ट हागेन बस्ता ताजा समुद्री माछा मुखमा हाल्नै पाइनँ तर पहाडी हावापानीमा फलेका थरीथरीका ताजा तरकारी भने प्रशस्तै खाएँ। अहिले केभियाङमा तरकारी त्यति पाइँदैनन् तर माछा भने खाइ नसक्नुका छन्।

केभियाङमा ताजा माछा खानु मेरो नित्य कर्म नै बनेको छ। बिहान उठेर समुद्री किनारतिर डुल्न हिँड्छु। किनारमै बेच्न राखेका ताजा माछा सधैँ देख्छु। प्रत्येक दिन एउटा लिएरै आउँछु। बिहान पकाएर खान भ्याउँदिन, फ्रिजमा राखेर अफिस जान्छु। बेलुका आएर मन छुने नेपाली लोकगीतहरू सुन्दै मीठो पारेर पकाउँछु। समुद्रभित्रका झारपातमा बस्ने माछा अत्यन्तै स्वादिला हुने तर तिनका काँडा एकदमै दह्रा हुने हुँदा केलाउन भने मलाई धेरैबेर लाग्छ। बेलुकी अरू कुराको चटारो नहुँदा जति घण्टा लागे पनि माछा केलाउने, काटकुट पार्ने, मरमसला हालेर पकाउने र खाने काम हतार नगरी आरामसँग गर्छु। न्युआयरल्यान्ड प्रान्तमा बसुन्जेल माछा खानुसम्म खानु मेरो दिनचर्या नै बन्यो।

लन्चमा मुख्य चाहिँ माछा र साथमा अरू खानेकुरा खाने सल्लाह भएअनुसार रूथीले एउटा भतिजालाई बोलाएर अलिकति माछा खोजेर ल्याउन भनिन्। एकैछिनपछि केटाले समग्रमा दस किलो जति तौल भएका तीनवटा माछा ल्याएर उनका अघिल्तिर तेर्स्याइदियो। हामी त्यहीँ गफ गरेर बसिरहेका थियौँ, केटाले त्यति चाँडो ती माछा मारेर ल्याएको देख्ता म त छक्कै परेँ। बरू हाम्रा करेसाबारीबाट दस बोट मुला उखेलेर ल्याउन बेर लाग्ला, बरू हाम्रा घरै पछाडिको मकैबारीबाट दस घोगा हरिया मकै भाँचेर ल्याउन बेर लाग्ला तर त्यस केटालाई एसिया र अमेरिका महादेश जोड्ने, संसारका सबै सागरहरूको पनि सागर प्रशान्त महासागरभित्र स्वच्छन्द पाराले पौडिरहेका दस किलो माछा समाएर ल्याउन बेरै लागेन। आँखा झिमिक्क गर्दा ल्याइपुऱ्यायो।

पपुआ न्युगिनीमा जग्गाजमिन जताततै बाँझै देखिन्छन्। त्यसको एउटा कारण यी माछा पनि हुन्। सित्तैमा पाइने माछा खान छाडेर जग्गामा कसले धेरै दुःख गरिरहोस्।

ब्रेकफास्टपछि हामी त्यो बिहान चाहिँ हिँडेरै सोइलिक टापु घुम्न निस्क्यौँ। सिराम्बाटले त्यस टापुका कुनाकाप्चा केही नछाडी डुलाए। उनकी दिदीको घर देखाए। दाइ ग्रेहेमका घरमै पुऱ्याए। भाइ केनको घर पनि लगे। बालुवा नै बालुवा भएको अनुर्वर जमिनमा खेतीपाती केही देखिनँ। सामान्य सागपात पनि कसैका करेसामा देखिएनन्। नरिवलका ठूलठूला रुख भने जताततै देखेँ।

अलि पर अमेरिकी मिसनरीको घर थियो। अघिल्लै दिन निम्तो गरेकाले त्यहाँ त झन् जानै पऱ्यो। दुईतले घरको मूलढोकामै आएर ती दम्पतीले हाम्रो स्वागत गरे। भऱ्याङको फेदमै एउटा ठूलो बाटामा पानी टम्म भरेर राखेका रहेछन्। सबैले पहिला त्यसमा खुट्टा चोबल्यौँ अनि मात्र भऱ्याङ उक्लियौँ। हाम्रा खुट्टामा भएको बालुवा घरभित्र पुग्न पाएन। मिसनरीकी श्रीमतीले चिसो सर्बत बनाएर ल्याइन्। प्रेमपूर्वक खायौँ। टापुको अन्तिम घर त्यही थियो।

फर्केर हामी फेरि सिराम्बाटकै घरमा आयौँ। उनको एउटा भतिजाले रुखमा चढी थुप्रै नरिवल टिपेर ल्याएछ। काटेर ठिक्क पारी सबैलाई बाँड्यो। हामीले जति खाए पनि नसकिने नरिवल त्यहाँ थिए। गुलियो चिसो पानी स्वाद लिईलिई पियौँ, गुदी जति फ्याँक्यौं।

लन्चअघि केहीबेर आँगनअघिल्तिरको समुद्रमा पौडी खेल्ने कार्यक्रम बन्यो। खासमा हेलेन मालमालाङ हेर्न आउनुको एउटा कारण त्यस प्रान्तको स्वच्छ वरुणालयमा पौडी खेल्न पाउनु हो। पपुआ न्युगिनीको सामुद्रिक सम्पदा विश्वमै उत्कृष्ट मानिन्छ। यहाँको समुद्रभित्रका जीवजन्तु र वनस्पतिको अध्ययन गर्न विकसित मुलुकका थुप्रै वैज्ञानिकहरू आउँछन्। कोही पानीभित्र गोताखोरी खेल्न आउँछन्। ती सबै विषयमा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रशस्त लेखहरू आउने गरेका छन्।

हेलेन र रोजले राम्रैसँग पौडी खेले। मैले भने अलिअलि खेलिटोपलेँ। पौडी खेल्दा पाइतालामा भिर्ने रबरका ठूलठूला जुत्ता जस्ता हेलेनले ल्याएकी रहिछिन्। ती लगाएर पौडिँदा पानीमा तैरिन अलि सजिलो हुने रहेछ। उनीसँग एउटा विशेष प्रकारको चस्मा पनि थियो। त्यो लगाएपछि पानीभित्रका सबै कुरा छर्लङ्ग देखिँदा रहेछन्। मैले पनि ती चीजबीजको प्रयोग मजाले गरेँ। हामी धेरैबेर समुद्र किनारमै बस्यौं। गफ ग¥यौँ। मनलाग्दी डुबुल्की माऱ्यौँ।

लन्च तयार भएछ। हामीलाई बोलाउन सिराम्बाट दम्पती आँगनमै भएको समुद्रमा आए। खानामा माछा त हुने नै भयो, गँगटो र लब्स्टर पनि राखिएका थिए। न्युआयरल्यान्ड प्रान्तका गँगटा अत्यन्त स्वादिला मानिन्छन्। केभियाङबाट वायुयान चढी पोर्ट मोर्स्बी जानेहरूले जिउँदा गँगटा चौखुऱ्याई कागजका कार्टुनमा हालेर र धुवाँमा सुकाएका माछा डोरीमा झुन्ड्याएर लगेका देख्थेँ। लब्स्टर त समुद्री खानेकुराहरूमध्ये सबैभन्दा महँगो रहेछ। अस्ट्रेलियातिर पनि यो निकै महँगो हुन्छ रे। मलाई भने जिउँदो लब्स्टर झट्ट हेर्दा झुसिल्किरा जस्तो लागेकाले त्यसको परिकार हेर्न पनि मन लागेन, खान त परै जाओस्।

“तपाईँ समुद्र नभएको देशबाट आएका पाहुना हुनाले तपाईँकै लागि विशेष खानाका रूपमा हामीले लब्स्टर मगाएका हुँ। अलिकति खानोस् न, कस्तो मीठो हुन्छ !” रूथीले आग्रह गरिन्।

“तपाईँहरूले यत्रो श्रद्धापूर्वक तयार गरेको खानेकुरा अलिकति भए पनि चाख्न त हुन्थ्यो तर आत्माले माग्दै मागेन। सानैदेखि खाने बानी परेको भए अहिले मीठो मानेर खान्थेँ। हाम्रातिर समुद्र छैन, यो पनि छैन। कहिल्यै नखाएको हुँदा रुचि नभएको मात्र हो।”

उनको चित्त अझै बुझेन। आँतपेटको कुरो थाहा पाएर मैले भनेँ, “सानैदेखि जुनजुन जीवजन्तुको मासु खाने गरिएको हुन्छ, तिनको मात्र मासु खान सकिँदो रहेछ। कोरियाली र भियतनामीहरू कुकुरको मासु अत्यन्त मीठो मानेर खान्छन् तर तपाईँहामी खान सक्तैनौ नि, होइन त ?”

यस जबाफले चाहिँ उनलाई घत लागेछ। भनिन्, “त्यो त हो।” मैले लब्स्टरलाई जिउँदै नदेखेको भए पाकेको पकवान चाख्नेसम्म थिएँ हुँला। त्यसबाहेक अरू सबै खानेकुरा अत्यन्तै रमाएर रूचिपूर्वक खाएँ। माछा त प्रशस्त खाने नै भएँ। केराका पातमा बेरेर ताता ढुङ्गा तल–माथि राखी मुमु गरी पकाएको ‘सेगो’ पनि मैले चौपट्टै मीठो मानेँ।

त्यही दिन साँझ हामी केभियाङ फर्किने कार्यक्रम थियो। अनुपम टापुको बसाइबाट मेरो मन भने अघाएकै थिएन। सिराम्बाटले भने, “तपाईँकी श्रीमती आएपछि एक चोटि फेरि यहाँ आउने कार्यक्रम बनाऔँला।” ती सज्जन मेरा खुसीका लागि निकै मरिमेट्न खोज्थे। उनका कुरा सुनेर मलाई पनि यस्तो रमणीय र निर्जन टापु उषालाई देखाइदिन पाए कति खुसी हुन्थिन् भन्ने लाग्यो।

खानापछि निकैबेर आराम गऱ्यौँ। बाहिर चरक्क घाम चर्केका थिए। भूमध्यरेखाको झन्डैझन्डै सोझै मुनि पर्ने ठाउँ भएकाले प्रचण्ड गर्मी हुने नै भयो। नरिवलका पातले छाएको छानो हुँदा भित्र भने शीतल थियो। एकैछिनपछि सिराम्बाटका आफन्तहरूले चिया, कफी तयार गरेर ल्याए। खायौँ।

प्रस्थानको बेला भयो। सिराम्बाट दम्पती, हेलेन, रोज र म डुङ्गामा चढ्यौँ। दुई रात तीन दिनको सोइलिक टापु बसाइ अत्यन्त रमाइलो भयो। खासमा हामी मालमालाङ उत्सव हेर्न आएका थियौँ तर उत्सवभन्दा पनि त्यहाँ वरिपरिका निर्जन टापुहरू, समुद्रको कञ्चन पानी, समुद्र किनारमा आँखाले देखुन्जेलसम्म सेतो बालुवा, नरिवलका अनगन्ती रूख, तिक्खर स्वादका रिफ माछाका मीठा परिकार र स्थानीय समुदायको ठूलो आत्मीयताले चाहिँ मलाई बढी ताने। सिराम्बाटको भान्जो बाइसले समुद्रमा डुङ्गा निकै पर नपुऱ्याउन्जेल मैले ध्यानमग्न भई त्यस टापुलाई एकोहोरिएर हेरिरहें, हेरिरहें।

फर्कंदा बाटोमा एउटा टापुमा ठूलो गाउँ देख्यौँ। सिराम्बाटले भने, “मैले तपाईँलाई भनेको थिएँ नि, यताको सबैभन्दा ठूलो गाउँ लोभोन्गाई, ऊ त्यही हो।”

“तपाईँहरूले यसलाई मेनल्यान्ड भन्नुभए जस्तै यो गाउँ त ठूलै रहेछ।” मैले पर देखिएको टापुलाई ध्यानपूर्वक हेर्दै भने।

उनी भन्दै गए, “हाम्रा पुर्खा यही मेनल्यान्डमा बस्थे, यहीँ खेतीपाती गर्थे।”

“अनि अहिले तपाईँहरूको घर भएको ठाउँ सोइलिक आइल्यान्डमा चाहिँ बस्तैनथे ?” मैले सोधेँ।

“दिउँसो–दिउँसो त्यहाँ जान्थे, माछा मार्थे। मारेका माछा आगामा सेकाउँथे र बेलुका घर ल्याउँथे। दिनभरि माछा मार्न त्यहाँ गए पनि वास बस्न मेनल्यान्डमै फर्किन्थे। अहिले हामी सोइलिक आइल्यान्डमा बसे पनि सबैका खेतीपाती गर्ने पुर्ख्यौली जग्गा भने यही मेनल्यान्डमै छन्।” सिराम्बाटले भने। उनका कुराले मलाई लेक–बेँसी गर्ने हाम्रो चलन स्मरण गरायो।

बाइस तीव्र गतिमा डुङ्गा दौडाइरहेछ। ऊ आफ्नै काममा मग्न छ। सिराम्बाट दम्पती र म गफमा मस्त छौँ। डुङ्गाको आवाजले हाम्रा केहीकेही कुरा राम्रोसँग सुनिँदैनन्, दोहोऱ्याएर सोध्नुपर्छ। कहिले उनीहरूले भनेका कुरा सुन्न कान निकै ठाडा पार्नुपर्छ। बेलाबेला सिराम्बाटका कुरामा रूथी थप्छिन्। हेलेन र रोज अलि पर बसेका छन्, डुङ्गाको पल्लो छेउमा। हाम्रा कुरामा उनीहरूको ध्यान पटक्कै छैन। हेलेन दूरबीनले परपरसम्म हेरिरहेकी छिन्।

पुर्खाका कुराको सम्झनाले सिराम्बाट एकछिन निकै भावुक भए। उनका बाजे निरक्षर भए पनि बाबु चाहिँ मिसनरीका सङ्गतमा बसेकाले छोराहरूलाई पढ्ने बाटो देखाएछन्। त्यति गर्दा पनि ग्रेहेमले चाहिँ पढ्न सकेनछन्।

सिराम्बाट अझै भावुक भएर एकनासले मेनल्यान्डतिर हेरिरहेका थिए। उनले भने, “मेरा पुर्खा यो मेनल्यान्डका सबैभन्दा प्रभावशाली ङुमा वंशका हुन्।” यो कुरा मलाई सुनाउँदा तिनका अनुहारमा घमन्डको लेस मात्र पनि मैले देखिनँ। बरू निक्खर कालो अनुहारमा विनम्रताको भाव भने छताछुल्ल भएको प्रस्टै देखेँ।

“ङुमाको अर्थ पनि भनिदिनोस् न उहाँलाई”, रूथीले भनिन्।

“ङुमाको अर्थ टुङाक भाषामा काग हुन्छ। हामी काग वंशका हौं”, उनले भने।

“ङुमा वंशका भएरै होला, तपाईँका खलकका सबै एकदमै काला रहेछन्, कागै जस्ता।” मैले हाँस्तै भने। मेरो कुरो सुनेर उनीहरू दुवैजना खित्का छाडेर हाँसे। ठूलो हाँसो सुनेर रोज र हेलेनले पनि डुङ्गाको पल्लो छेउबाट हामीतिर उत्सुकतापूर्वक हेरे।

बाइस एकनाससँग डुङ्गा चलाइरहेको थियो।  हामी केभियाङ आइपुग्नै लागेका थियौँ। सहरका घरहरू टाढाबाट देखिन थालिसकेका थिए।