चलचित्र निर्माण संगै अभिनयमा डेब्यु गर्दै निर्मल - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चलचित्र निर्माण संगै अभिनयमा डेब्यु गर्दै निर्मल



हिमाल पोस्ट / कैलाली ।

विगत दुई दशकदेखि यातायात व्यवसायीका रूपमा काम गरिरहेका कैलालिको घोडाघोडी नगरपालिका-१० पहलमानपुरका निर्मल मिश्रले बहु प्रतीक्षित नेपाली चलचित्र ‘लप्पन छप्पन २’बाट निर्माण तथा डेब्यु गर्दैछ्न । निर्मलको यो पहिलो चलचित्र हो ।

आगामी जेठबाट युरोप र अस्ट्रेलियामा छायाङ्कन हुने चलचित्रमा सौगात मल्ल, दयाह्याङ राई, अर्पण थापाको मुख्य अभिनय रहेको छ । उक्त चलचित्रमा मिस नेदरल्याण्ड केरोलिन कोरिन्डा पनि हुने भएकी छन् ।

‘लप्पन छप्पन’को सिक्वेल रहेको यस फिल्ममा पुराना कलाकारमा वर्षा सिवाकोटी बाहिरिएकी छिन् । उनको स्थानमा मिस नेदरल्याण्ड केरोलिन कोरिन्डा रहने छिन् । फिल्ममा देव कुमार, सुरविना कार्की, सृजना सिनालगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।

फिल्ममा निर्माता मिश्र आफैँको पनि अभिनय रहनेछ । निर्मलसँगै प्रकाश कुवरपनि कार्यकारी निर्माता हुन् । पहिलो पटक निमार्ताका रूपमा उदायका निर्मलले चलचित्रलाई नयाँ ढङ्गले प्रस्तुत गर्ने बताएका छन् । निर्माता निर्मलले भने, ‘विगतमा सानो लगानीमा बनेका चलचित्रहरू पनि उत्कृष्ट बनेका छन् । हामीले लगानी ठुलो गरेका छौँ त्यसैले हाल सम्मकै उत्कृष्ट चलचित्र दिने हाम्रो प्रयार रहन्छ ।’

निर्माता सँगै अभिनयमा पनि डेब्यू गर्न लागेका निर्मलले यो चलचित्र आफ्नो करिअरको कोशेढुंगा बन्ने बताए । फरक पेसाबाट चलचित्र क्षेत्रमा उदाएका निर्मल भन्छन्, ‘नयाँ पिँडीले रुचाउने र पुरानो पिडिको पनि मन जित्ने गरी चलचित्र बन्न गइरहेको छ ।’

पछिल्लो समय नेपाली चलचित्रले बजार पाइरहेको अवस्थामा लप्पन छप्पन २’ ले यसलाई थप वृद्धि गर्ने अपेक्षा गरिएको छ । नेपालसँगै युरोप र अस्ट्रेलियामा छायाङ्कन गरिने हुँदा ती क्षेत्रमा पनि चलचित्रले राम्रो ब्यपार गर्ने आकलन गरिएको छ ।

अर्को वर्षको महाशिवरात्रीमा प्रदर्शनमा ल्याउने तयारी भइरहेको फिल्मलाई मुकुन्द भट्टले निर्देशन गर्नेछन् । कथा, पटकथा र संवादमा निर्देशक भट्टलाई अमित शर्मा र विवेक पाण्डेले सघाएका छन् । पुरुषोत्तम प्रधानले छायाङ्कन गर्ने फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् ।

इपी एजुकेसन अस्ट्रेलिया र गोल्डेन हिल्स् पिक्चरको संयुक्त ब्यानरमा बन्ने फिल्ममा राजेन्द्र भट्ट (मिस्टर आरजे), शम्भुजित बास्कोटा र दीपक आरजेको सङ्गीत रहनेछ । फिल्ममा सिमोस तामाङ एक्सन डाइरेक्टरको रूपमा अनुबन्ध भएका छन् भने बक्सन डिजाइनरमा हिमाल केसी छन् । यसमा शैलेस श्रेष्ठले ब्याकग्राउण्ड स्कोर गर्नेछन् ।