सुनिल लोद्बारा लिखित राना भाषाको चलचित्र 'मेला' प्रदर्शनमा  - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

सुनिल लोद्बारा लिखित राना भाषाको चलचित्र ‘मेला’ प्रदर्शनमा 



हिमाल पोस्ट / कञ्चनपुर  ।
शिक्षण तथा पत्रकारीता दुवै पेशामा संलग्न पुनर्वासका सुनिल लोद्वारा लिखित कथामा राना भाषाको चलचित्र निर्माण भएको छ । उक्त फिल्म आगामी जेठ २० गते पुनर्वास आईबिआरडिको पुर्णलक्ष्मी चलचित्र मन्दिरमा पहिलो प्रदर्शन हुने भएको छ ।

चलचित्रमा आर्थिक र सामाजिक असमानताका कारण समाजमा देखिने मतभेद र खाडलबिच मानिसहरूको जीवन भोगाइलाई देखाउने प्रयास गरिएको छ । ग्रामीण नेपाली बस्तीमा अझैपनी लोकतन्त्रको आभास हुनसकेको छैन । अशिक्षा,बेरोजगारी र पछौटेपन अहिलेसम्म व्याप्त छ । सर्वसाधारणमा चेतनाको अभाव छ । जसको कारण अझैसम्म त्यहाँ शोषण र उत्पीडन बाँकी छ । त्यही सेरोफेरोमा चलचित्रको कथा घुमेको छ ।

फिल्मको कथा वास्तविकताबाट प्रेरित भएको र यसलाई मसालेदार बनाएर दर्शकहरुको मन जित्ने उद्देश्यले फिल्मी टच दिन आफुले भरमग्दुर प्रयास गरेको कथाकार सुनिल लो बताउनुहुन्छ ।

फिल्ममा हलिउड र बलिउड स्तरको स्टन्ट सीन राखीएकाले यसलाई दर्शकले मनपराउने र दर्शकहरुले भरपुर मनोरञ्जन लिने विश्वास आफुले राखेको द्वन्द्व तथा निर्देशक सिमसोन तामाङले बताउनुभयो ।

स्थानीय ठाउँमा पनि फिल्म बनाउँदा आफ्नो ठाउँलाई सबैले चिन्ने र यसबाट अन्य व्यक्तिहरुपनि प्रेरित हुने भएकाले आफ्नो लगानीबाट चलचित्र निर्माण गरेको निर्माता पुष्पराज जोशीले बताउनुभयो ।

यस चलचित्रमा संगित शंकर राना, स्वर र शब्द नारायण राना/पिकु राना,कोरियोग्राफी मनोज चौधरी र छायांकन सुरज चौधरीले गरेका छन । र कलाकारहरु आकाश राना, सुशीला कटरीया,द्वारिका मल्ल,शिवनाथ राना,तेजा ऐर,खडक राना र पुष्पराज जोशीले आफ्नो अभिनय प्रस्तुत गरेका छन ।