ट्रम्पको असावधानी - मेक्सिकोसँग भएको सहमतिको अंश फोटोमा देखियो - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

ट्रम्पको असावधानी – मेक्सिकोसँग भएको सहमतिको अंश फोटोमा देखियो



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँग गरिएको आप्रवासीसम्बन्धी एउटा सहमतिको केही विवरण असावधानीवश सार्वजनिक गरेका छन्।

संवाददाताहरूसँग बोल्दै उनले आप्रवासी नियन्त्रण गर्ने योजनाबारे विस्तृत विवरण दिन अस्वीकार गरे।

मेक्सिकोलाई सही समयमा त्यो घोषणा गर्न दिन आफूले चाहेको उनको भनाइ थियो। तर उनले उक्त कुरा त्यस बेला बताए जुन बेला उनले एउटा पाना हातमा लिएर हल्लाइरहेका थिए।

त्यसमा सहमतिको विस्तृत विवरण लेखिएको थियो र त्यहाँ खिचिएको तस्बिरबाट महत्त्वपूर्ण कुरा सार्वजनिक भएको छ।

प्रतिद्धता

उक्त कागजमा उल्लिखित विवरण समाचारमाध्यमहरूले खिचेका तस्बिरमा कैद हुन पुग्यो।

त्यसमा शरणको विषयमा एउटा क्षेत्रीय योजनाको चर्चा गरिएको छ। त्यो योजनामा अमेरिकी करबाट जोगिन कैयौँ ल्याटिन अमेरिकी देशहरूलाई समेटिने देखिन्छ।

मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले उक्त योजना आंशिक रूपमा सोमवार सार्वजनिक गरिसकेका छन्।

“पैँतालीस दिन” उल्लेख भएको उक्त दस्तावेजले मेक्सिकोले शरणार्थी मामिलामा “सुरक्षित तेस्रो मुलुक” बन्न आवश्यक परेमा आफ्ना कानुनहरू तत्काल पुनरवलोकन गर्ने प्रतिबद्धता जनाएको बताएको छ।

सहमतिबारे मेक्सिको

मन्त्री एब्रार्डले मेक्सिकोसँग आफ्नो दक्षिणी सिमाना थप सुदृढ पारेर आप्रवासीहरू अमेरिका जाने क्रम रोक्न आफू सक्षम रहेको देखाउन ४५ दिन रहेको बताएका थिए।

उसले ग्वाटेमालासँगको सिमानामा छ हजार सुरक्षाकर्मी खटाएको छ।

विदेशमन्त्रीका अनुसार यो योजना विफल भएमा मेक्सिको “सुरक्षित तेस्रो मुलुक’ बन्न पुग्नेछ। अर्थात् मेक्सिको हुँदै शरण खोज्न जानेहरूले शरणार्थीको निम्ति अमेरिकाको साटो त्यहीँ आवेदन दिनु पर्नेछ

मन्त्री एब्रार्डले अमेरिकाले त्यो उपायमा जोड दिएको र आफूहरू त्यसको कार्यान्वयनको पक्षमा रहेको बताए।

तर उनले भने, “मलाई लाग्छ सहमतिको यो महत्त्वपूर्ण उपलब्धि हो। हामीले उनीहरूलाई भनेका छौँ- मेक्सिकोको प्रस्तावले काम गर्छ गर्दैन भन्ने हेर्न समय तोकौँ र यदि गरेन भने हामी बस्नेछौँ र थप उपाय के आवश्यक हुन्छ त्यसबारे विचार गर्नेछौँ।

“उनीहरू सहमतिमा भएकोभन्दा पूर्ण रूपमा भिन्न अर्कै कुरा चाहन्छन्। तर यहाँ जे छ त्यही हो, केही अरू कुरा छैन।”

यदि मेक्सिको ४५ दिनभित्र आप्रवासी नियन्त्रण गर्न विफल भएमा अन्य देशहरू त्यस मामिलामा तानिनेछन्।

आप्रवासीहरूद्वारा अहिले ट्रान्जिटको रूपमा प्रयोग हुने गरेका ब्राजिल, पनामा र ग्वाटेमालामा शरणार्थी दाबीको प्रक्रियाबारेको बोझ साझेदारी गर्न सकिन्छ कि भन्नेबारे छलफलरू आयोजना गरिनेछ।

छलफलमा सहभागी अमेरिकी प्रतिनिधिहरूले आफ्नो भूमि पार गर्ने आप्रवासीको सङ्ख्या शून्यमा झार्ने प्रतिबद्धता मेक्सिकोबाट खोजेको उल्लेख गर्दै मन्त्री एब्रार्डले त्यो “असम्भव अभियान” भएको टिप्पणी गरे।

(बीबीसी)