भाइरल भिडियोका कारण क्यानाडामा त्रास, सरकार भन्छ- घृणित कार्य - Himal Post Himal Post
  • १ श्रावण २०८२, बुधबार
  •      Wed Jul 16 2025
Logo

भाइरल भिडियोका कारण क्यानाडामा त्रास, सरकार भन्छ- घृणित कार्य



क्यानाडा सरकारले हिन्दू क्यानेडियनहरूलाई देश छाड्न भनिएको भाइरल भिडिओ अपमानजनक र घृणित भन्दै त्यस्ता कार्यलाई देशमा कुनै स्थान नभएको बताएको छ।

क्यानाडाको सार्वजनिक सुरक्षा विभागले भनेको छ– त्यस्तो भिडिओ सेयर गर्नु आपत्तिजनक र घृणित कार्य हो। यो सबै क्यानाडाली र देशको मूल्य/मान्यताको अपमान हो।

विभागले अगाडि भनेको छ, ‘क्यानडामा घृणालाई कुनै स्थान छैन। हामी प्रत्येक क्यानाडालीलाई एकअर्कालाई सम्मान गर्न र कानुनको शासनको पालना गर्न आग्रह गर्दछौँ।’

यसअघि क्यानाडाका सांसद चन्द्र आर्यले भिडिओ सन्देश जारी गर्दै भनेका थिए, ‘भिडिओ भाइरल भएपछि क्यानाडामा बसोबास गर्ने हिन्दू समुदायमा त्रास फैलिएको छ। केही व्यक्तिले सिख र हिन्दूलाई विभाजित गर्न खोजिरहेका छन्। हिन्दूहरू नआत्तिनुहोस् तर सावधान रहनुहोस्।’

उक्त भिडिओ यस्तो बेला सार्वजनिक भएको छ, जतिबेला क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निज्जरको हत्यामा भारतीय एजेन्टको संलग्नता रहेको आरोप लगाएका छन्।

भारतले भने आरोप निराधार भएको भन्दै अस्वीकार गरेको छ। यो आरोपपछि दुई देशबीच कूटनीतिक तनाव बढ्दै गएको छ। सोमबार क्यानाडाले एक भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेको थियो भने त्यसको बदलामा भारतले पनि क्यानाडाली कूटनीतिज्ञलाई निष्कासन गरेको छ।

बिहीबार भारतको विदेश मन्त्रालयले क्यानाडा भिजा केन्द्रका कर्मचारीको सुरक्षाका कारण भारतको भिजा सेवा तत्कालका लागि बन्द गरिएको जनाएको छ।