मन्त्रिमण्डल पुनर्गठन गर्ने बालुवाटारको तयारी - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

मन्त्रिमण्डल पुनर्गठन गर्ने बालुवाटारको तयारी



हिमालपोस्ट/काठमाडौँ

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले साउन १० गते अगाडि नै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी थालेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएअनुसार प्र.म.ले यसका लागि सम्भावित नयाँ मन्त्रीहरूसँग छलफल पनि अगाडि बढाइसकेका छन् ।

यस परिवर्तनका विषयमा प्र.म. ओलीले नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गरिसकेको स्रोतले दाबी गरेको छ । प्र.म. सचिवालयका ती सदस्य भन्छन्, ‘उहाँहरू सहमतिमा पुगिसक्नु भएको छ। नयाँ कोको मन्त्री बन्दैछन् भन्नेबारे चाहिँ उहाँ दुईबाहेक अरू नेताहरूसँग छलफल गर्न बाँकी रहेको छ ।’

यस विषयमा प्र.म. ओलीले नेकपाका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँग पनि छलफल गर्न चाहेको कुरा उनले बताए। तर प्रमुख कुरा, कुन मन्त्रालयको जिम्मेवारी कसलाई दिइने बारे भने केही भनिएको छैन।

उनले भने, ‘अहिले नै बाहिर भन्ने हो भने ती मन्त्रालयका मन्त्रीहरू डिमोरलाइज हुने, कर्मचारीले उनीहरूलाई टेर्न छोड्ने भएकाले यो कुरा बाहिर नल्याइएको हो। जुन दिन नयाँ मन्त्रीहरू नियुक्त हुन्छन्, त्यसको अघिल्लो अबेर साँझ मात्र अहिलेका मन्त्रीहरूलाई यस कुराको जानकारी दिने निधो भएको छ ।’

सूचना तथा सन्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको जिम्मेवारी हेरफेर हुनसक्ने पनि उनले बताए । बाँस्कोटालाई त्यसको साटो पर्यटन मन्त्रालय दिने तयारी ओलीले गरेका छन् ।

तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको मृत्यु ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको जिम्मेवारी स्वयम् प्रधानमन्त्री ओलीले नै सम्हाल्दै आएका छन् । नयाँ व्यवस्थामा सो मन्त्रालयमा गोकुल बाँस्कोटालाई लैजाने कुरा हुँदै छ। सूचना तथा सन्चारमन्त्री तथा सरकारका प्रवक्तामा नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईलाई ल्याउने तयारी ओलीले गर्दै छन्।

ओलीले यसबारे भट्टराईसँग सल्लाह पनि गरिसकेको स्रोतले बतायो। स्रोत भन्छ, ‘भट्टराईले पनि ग्रिन सिग्नल दिएका छन्। उनी मन्त्री हुन तयार छन् तर ओलीसामु एउटा सर्त उनले राखेका छन् ।’ र त्यो सर्त हो– आफू मन्त्री हुने विषयमा प्रचण्ड र माधवकुमार नेपालको पनि सहमति हुनै पर्ने । भट्टराईको छनोट सन्चारभन्दा पर्यटनमा नै रहेको पनि स्रोत बताउँछ। तर, प्र.म. ओली बाँस्कोटाको प्रस्तुति मन नपरेका कारण उनलाई सरकारको प्रवक्ताबाट हटाउने निष्कर्षमा पुगिसकेका छन् ।

यसअघि उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका नेपाल कम्युनिस्ट पार्टीका नेता महेश बस्नेतलाई पनि नयाँ मन्त्रिमण्डलमा समावेश गर्ने तयारी ओलीले गरेका छन् । बस्नेत निकट एक युवा नेताले भने, ‘यस्तो हल्ला चलेको त निकै लामो भइसक्यो। हल्लामात्र हो  कि भन्ने भइसक्यो त अब । पहिले चाहिँ महेश कमरेडलाई फेरि उद्योगकै जिम्मेवारी दिने कुरा चलेको हो ।’ तर, स्रोतअनुसार महेश बस्नेतालाई फेरि मन्त्री बनाउने पक्षमा प्रचण्ड छैनन् ।

प्रचण्डले ओलीसमक्ष पछिल्लो समय पार्टीमा आफ्नो पकड बलियो बनाउँदै लगेका गृहमन्त्री रामबहादुर थापा बादललाई पनि यो मन्त्रिमण्डलबाट बिदा गर्नु पर्ने सर्त राखेका छन् । स्रोतअनुसार गृहमन्त्री नयाँ ल्याउने कि बादललाई नै निरन्तरता दिने भन्नेमा ओलीले कुनै निर्णय गर्न सकेका छैनन् । चर्चामा आइरहने भौतिक योजना मन्त्री रघुवीर महासेठ, उद्योगमन्त्री मातृका यादव, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई यसपटक बिदा गरिने सम्भावना बलियो रहेको स्रोतको दाबी छ।

प्र.म. ओलीको सन्दर्भ लिँदै ती सचिवालय सदस्यले भने, ‘उहाँहरूबाट आशा गरिएअनुरूप काम भएको देखिँदैन। अब पनि मन्त्रीहरू फेरिएन भने यो सरकारले जनताको मन जित्न कहिल्यै सक्ने छैन ।’