पार्किङ व्यवस्थापन गर्न आन्तरिक वाइपास - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

पार्किङ व्यवस्थापन गर्न आन्तरिक वाइपास



बुटवल । पाँच नम्बर प्रदेशको अस्थायी राजधानी तोकिएको बुटवलको पार्किङ व्यवस्थापनका लागि बुटवल उपमहानगरले योजनाबद्ध काम शुरु गरेको छ ।
मुख्य सडकमा यातायातका साधनको चाप घटाउन आन्तरिक वाईपास सडक निर्माणदेखि ठूला साधन पार्किङ स्थल निर्माणको काम शुरु गरेको हो ।

पहिलो चरणमा जोगिकुटीदेखि ट्राफिकचोकसम्मको सडकमा यातायातको चाप व्यवस्थापन गर्ने योजनासहित दुई वाईपास सडक निर्माण हँुदैछन् । जोगिकुटीदेखि नेपालगञ्ज रोडसम्मको कालिकापथलाई ८२ फुटमा विस्तार गर्ने काम शुरु भएको छ । जसका लागि नगरपालिकाले ६३ करोड रकम विनियोजन गरेको छ ।

‘यो सडक निर्माणले ठूला साधनका लागि पनि बाइपास बन्नेछ’– नगरप्रमुख शिवराज सुवेदीले भने– ‘यसले बुटवलमा हुनसक्ने सडक जामलाई आधा घटाउँछ ।’ बुटवल उपमहानगरले सोमबार पत्रकार सम्मेलन गरी नगरको विकासमा सञ्चालन गरिएका आयोजनाका विषयमा जानकारी गराएको हो ।
वाइबास सडक विस्तारका क्रममा केही घरहरू समेत भत्किनेछन् । भत्किने संरचनामा चिनो लगाउने काम शुरु भएको छ ।

मुख्य सडकको चाप घटाउन पूर्वी राजमार्गसँग जोडिने गरी श्रवणपथलाई समेत विस्तार गरिँदैछ । अस्पताललाइनबाट शुरु हुने सडक विस्तार बेसक्याम्पसम्म पुग्नेछ । यसको विस्तृत योजना निर्माणका लागि २५ लाख रूपैयाँ विनियोजन गरिएको छ ।

उपमहानगरले ट्रक पार्किङको समस्या समाधानका लागि बुटवलको वार्ड नम्बर १२ मा पार्किङस्थल निर्माणको काम शुरु भइसकेको जनाएको छ । ‘पहिलो चरणमा भारबहन गर्ने साधनको पार्किङस्थल बन्दैछ’ नगरप्रमुख सुवेदीले भने–‘दोस्रो चरणमा बसपार्कको निर्माण गर्नेछौं ।’
बुटवलभित्र पार्किङका लागि स्थान खोज्ने क्रम जारी रहेको छ । बालमन्दिर परिसर र हाटबजारलाई पनि वैकल्पिक पार्किङस्थलका रूपमा प्रयोग गर्ने विषयमा छलफल भइरहेको नगर प्रमुख सुवेदीले बताए ।
बुटवलमा अव्यवस्थित रूपमा सञ्चालित अटो रिक्सा व्यवस्थानका लागि ऐन नहँुदा काम नभएको बताइएको छ । उपमहानगरका शहरोन्मुख वडाहरूमा समेत सहज यातायात पहँुच विस्तारका लागि काम भइरहेको प्रमुख सुवेदीले बताए ।

त्यस्तै फोहोर व्यवस्थापनका लागि देवदह नगरपालिकासँगको समन्वयमा अत्याधुनिक फोहोर प्रशोधन निर्माणको काम अघि बढाउने तयारी भएको छ । दैनिक ७३ टन फोहोर प्रशोधन गर्दै मल बिक्री गर्ने योजना समेत नगरपालिकाले बनाएको छ । अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि अञ्चल अस्पतालसहित निजी स्वास्थ्य संस्थाको समन्वयमा प्रशोधन केन्द्र खोलिने भएको छ ।

पर्यटन प्रवद्र्धन, खेलकुद मैदान निर्माणदेखि स्वास्थ्य उपचारका कामहरू अघि बढेको नगर प्रमुख सुवेदीले जानकारी दिए । पर्यटन प्रबद्र्धनका लागि बुटवलको हिलपार्कमा ठूलो आकृतिको बुद्धको मूर्ति राखिने भएको छ । जितगढीको प्रवद्र्धन गर्दै संग्राहलय र मणिमुकन्द सेन उद्यानको विकास गर्ने योजना नगरपालिकाले बनाएको छ ।

जबई खेलकुद मैदानलाई बहुउपयोगी मैदानका रूपमा विकास गर्ने योजना समेत नगरपालिकाले अघि बढाएको छ । करिब आधा करोडका लगानीमा पूर्वाधार निर्माणको काम शुरु हुन लागेको हो । सो मैदानमा ब्याडमिन्टन कोर्ट, बास्केटबल र फुटबल खेल खेल्न मिल्ने पूर्वाधार बनिसकेको छ ।
लामो समयसम्म सञ्चालन हुन नसकेको बधशाला सञ्चालन गर्ने तयारी भएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । शुरुमा कुखुरा र खसीमात्रै काट्ने गरी बधशाला सञ्चालन गर्न लागिएको हो ।

नगरपालिकाले ५ सय युवालाई स्वरोजगार दिने गरी तालिम प्रदान गर्ने योजनासमेत बनाएको छ । स्वास्थ्य सेवा सुधार, शिक्षा ऐन निर्माणको प्रक्रिया शुरु भएको प्रवक्ता रेग्मीले बताए । स्थानीय सरकार बनेसँगै तहमा गाभिएका कार्यालय व्यवस्थापनको काम भइरहेको उनले बताए ।