व्यङ्ग्य कविता : बूढो नेता - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

व्यङ्ग्य कविता : बूढो नेता



-अर्जुन पराजुली

बूढो नेता
बन्द भए स्टार्ट हुँदैन
स्टार्ट भए बन्द हुँदैन
पेट्रोल बढी खान्छ
धुवाँ बढी फाल्छ
सडक ताकेर चाल्नुपर्ने चक्का
नाली ताकेर खसाल्छ

बूढो नेताको
बडी बनायो इन्जिन बिग्रिन्छ
इन्जिन बनायो बडी बिग्रिन्छ
झुक्किएर कुनै दिन वा
इन्जिनले बिग्रिन बिर्सियो भने
घुम्तीमा घुमाउने घडी बिग्रिन्छ

साइडलाइटको स्वीच अन गऱ्यो
हेडलाइड बल्छ
हेडलाइटको स्वीच अन गऱ्यो
साइडलाइट बल्छ
बूढो नेताको
एक्सिलेटर दबाए ब्रेक चल्छ
ब्रेक दबाए एक्सिलेटर चल्छ
अगाडि बढायो पछाडि सर्छ
उकालो चढायो ओरालो झर्छ

बूढो नेताले
कहिलेकाहीँ त यतिसम्म सताउने गर्छ
पेसिन्जरले ओर्लेर धकेल्नुपर्छ

बूढो नेताको
ढोका लाग्दैन, लागे खुल्दैन
झ्याल खुल्दैन, खुले लाग्दैन
क्यासेट बज्दैन
एयर कन्डिसन चल्दैन
बस्ने सिटले ब्रेकडान्स गर्छ
ढोका लाउने र खुल्नेको मुखबाट
अविरल फुटेको सिसा झर्छ
बूढो नेतामा चढेर
कतैको यात्रा गर्नुभन्दा
बरू हिँडेर जानु सस्तो पर्छ

मोडेल पुरानु छ भने
अठार वर्षको पनि बूढो हुन्छ
मोडेल नयाँ छ भने
अस्सी वर्षको पनि तन्नेरी हुन्छ
नेता बूढो वा तन्नेरी
मोडेल हेरी हेरी हुन्छ
बूढो नेतामा गए भन्न सकिँदैन
तन्नेरी नेतामा गए अवश्य पुगिन्छ।