एमसीसी संसदमा टेबुल नगरेको भन्दै अनेरास्ववियूले सभामुख सापकोटालाई देखायो कालो झण्डा
सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाइएको छ । सिन्धुपाल्चोक जाने क्रममा बनेपामा उनलाई अनेरास्ववियु काभ्रेले कालो झण्डा देखाएको हो ।
सोमबार साँझ मसला जुलुस निकालेको अनेरास्ववियु काभ्रेले मंगलबार बिहान सभामुख सापकोटालाई कालो झण्डा देखाएको हो ।
एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएका बेला उसको भ्रातृ संगठनले कालो झण्डा देखाएको हो ।
त्यस्तै सापकोटाले अमेरिकी सहायता परियोजना (एमसीसी)लाई संसदमा टेबुल गर्नसमेत अस्वीकार गर्दै आएका छन् ।
कालोझण्डा देखाउने क्रममा विद्यार्थी कार्यकर्ताले ‘हत्यारा सभामुख राजीनामा दे’ भन्दै नारासमेत लगाएका थिए ।
यसअघि मंगलबार बिहान नै पुल्चोकमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि एमाले कार्यकर्ताले कालोझण्डा देखाएका थिए ।