हाम्रो सरकार बने श्रमिकको पारिश्रमिक २५ हजार बनाउँछौं- विष्णु रिमाल - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

हाम्रो सरकार बने श्रमिकको पारिश्रमिक २५ हजार बनाउँछौं- विष्णु रिमाल



एमाले उपमहासचिव विष्णु रिमालले एमाले नेतृत्वमा सरकार बने श्रमिकको न्युनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने बताएका छन् ।

आइतबार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ५औँ सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौंमा गरेको कार्यक्रममा उनले एमालेको सरकार बने चुनावी घोषणापत्रमा भनिएअनुसार श्रमिकको न्युनतम पारिश्रमिक २५ हजार रुपैयाँ पु-याउने बताएका हुन् ।

उनले एमाले सरकारमा नभएमा श्रमिकको पारिश्रमिक २५ हजार रुपैयाँ पु-याउन आन्दोलन गर्ने धारणा राखे ।

‘हामी सेकेन्ड भयौँ भने पनि हामी सत्ताको बागडोर सम्हाल्ने तहमा पुग्यौँ भने श्रमिकहरूको अगाडि गरेको कबुल २५ हजार न्युनतम ज्याला पु-याउने अभियानले मूर्तता निश्चित रूपमा पाउँछ,’ उनले भने, ‘यदी सरकारमा भएनौँ भने २५ हजार हाम्रो पाँच वर्षको अभियान जुन छ, त्यसलाई पूरा गर्न श्रम आन्दोलनलाई साथ दिन एमाले तपाईंहरूको साथमा रहन्छ ।’

उनले एमालेको नेतृत्वमा सरकार बने औपचारिक क्षेत्रका सतप्रतिशत श्रमिकहरूलाई सामाजिक सुरक्षामा ल्याउने दावी गरे । पाँच वर्षभित्र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरुलाई पनि सामाजिक सुरक्षा प्रणालीभित्र ल्याउने उनको भनाइ थियो ।