काङ्ग्रेसको प्रश्न: विप्लव समूह र ओली समूहमा के फरक छ ? - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

काङ्ग्रेसको प्रश्न: विप्लव समूह र ओली समूहमा के फरक छ ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ओली नेतृत्वको सरकारले जनतालाई सुरक्षाको प्रत्याभूति दिन नसकेको बताएका छन् ।

“केपी ओली प्रधानमन्त्री बन्नुभएको यो अवधिमा उहाँकै निर्वाचन क्षेत्र झापा ५ मा दुईजनाको हत्या भएको छ । फरक घटनामा कमल गाउँपालिका बासिन्दा युवा व्यवसायी खेमराज पौडेल तथा गौरीगञ्ज गाउँपालिकाका पाका व्यत्तिः अलगचन्द राजवंशी मारिएका छन्,” प्रवक्ता विश्वप्रकाश शर्माको प्रश्न छ, “हत्या, अपहरण, बलात्कार र एसिड आक्रमणका घटना यो अवधिमा बढेर गएको छ ।”

प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिः
प्रेस वक्तव्य

उपनिर्वाचन सरकारलाई सच्याउन मतदाताका लागि महत्वपूर्ण अवसर रहेको अपिल हामी गरिरहेका छौं । त्यसैले मंसिर १४ को मिति नजिक आइरहंदा एकातर्फ हामी नेपाली कांग्रेसलाई मत दिन जरुरी कारणहरु उल्लेख गरिरहेका छौं भने अर्कातर्फ वर्तमान सरकारको असफलताका तथ्य सार्वजनिक रुपले राखिरहेका छौं ।

यस क्रममा रचनात्मक प्रतिपक्षका नाताले आज हामी बितेको २१ महिनामा देशमा शान्ति सुरक्षाको स्थितिमा बढेको प्रतिकुलताको प्रतिनिधिमुलक चित्र सरकार र मतदाता दुवैका समक्ष राख्न चाहन्छौं ।

• केपि ओली प्रधानमन्त्री बन्नुभएको यो अवधीमा उहाँकै निर्वाचन क्षेत्र झापा ५ मा २ जनाको हत्या भएको छ । फरक घटनामा कमल गाउँपालिकाका बासिन्दा युवा ब्यवसायी खेमराज पौडेल तथा गौरिगञ्ज गाउँपालिकाका पाका ब्यक्ति अलगचन्द राजवंशी मारिएका छन् ।

• काठमाडौ उपत्यकामा दुई बालक अपहरणपछि मारिएका छन् । पहिलो— प्रधानमन्त्रीको निजि घर रहेको बालकोटको नजिक कांडाघारीमा, दोस्रो— प्रधानमन्त्री निवास बालुवाटार पश्चिम बसुन्धारामा ।

• उपत्यकामै असी बर्ष पुगेका ज्येष्ठ नागरिक पूर्व राजदूत केशव झाको यहि अवधीमा बीभत्स ढंगले हत्या भयो ।

• रोल्पामा नेपाल तरुण दल लिवाङका सभापति रोहित पुन तथा सर्लाही र रुपन्देहीमा गरेर नेपाली कांग्रेसका अन्य ३ युवा साथीको हत्या नेकपाका कार्यकर्ताहरुको हातबाट यो अवधीमा भयो ।

• सत्तारूढ कम्युनिष्ट पार्टीको झैं एउटै नाम र एकै झण्डा बोकेको विप्लव समुहको हिंसात्मक गतिविधिले पनि कतिपय बेला शान्ति सुरक्षामा खलल पुगेको छ ।

• कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १६ महिना पुग्दापनि दोषीहरुलाई कठघरामा उभ्याउन सरकार सफल हुन सकेको छैन ।

• हत्या, अपहरण, बलात्कार र एसिड आक्रमणका घटना यो अवधिमा बढेर गएको छ ।

शान्ति स्थापना, संविधान निर्माण र तीन तहको निर्वाचन सम्पन्न भएपछि विरासतमा नेकपाले सहज राजनैतिक वातावरण प्राप्त गरेको थियो । तर यस्तो सहजताको समयमा मुलुकको शान्ति सुरक्षाको स्थिति भने निरन्तर खस्किनु सिंगो देशका लागि दुःखद बिषय हो ।

हाम्रो प्रश्न छ : सम्माननीय प्रधानमन्त्रीज्यू नागरिकलाई सुरक्षाको प्रत्याभूति कहिले गर्ने ?

जय नेपाल !

विश्वप्रकाश शर्मा
प्रवक्ता