भारतीय धान बीऊको बिगबिगी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भारतीय धान बीऊको बिगबिगी



कपिलवस्तु । कपिलवस्तुमा सिफारिस र सूचिकृत नभएका हाइब्रिड जातका भारतीय बीऊको बिगबिगी छ । नेपाल सरकार कृषि मन्त्रालय अन्तर्गत राष्ट्रिय बिउबिजन कम्पनीले सिफारिस र सूचिकृत गरेका जातका धानको बीऊ मात्र बिक्री गर्न पाउने प्रावधान छ । कपिलवस्तुमा भारतबाट भित्राइएका धानको बीऊ बजारमा खुलेयाम बिक्री भइरहेको छ ।
गाउँदेखि बजारसम्म हाइब्रिड र उन्नत जातको नाममा अहिले भारतीय बीऊको बिगबिगी छ । यहाँका साप्ताहिक हाटबजारहरू तथा तौलिहवा, कृष्णनगर, पकडी, जितपुर लगायतका बजारहरूमा खुलेयाम निम्न गुणस्तरकोे धानका बीऊ बिक्री भइरहेको छ । भारतबाट गैरकानुनी ढंगबाट आयातित यस्ता बीऊहरू बजारमा रहेको पान पसल, कपडा पसल, साइकल मर्मत पसललगायतका ठाउँमा खुलेयाम बिक्री भइरहेको छ । निकै आकर्षक प्याकिङमा बिक्री भइरहेका त्यस्ता बीऊको गुणस्तरबारे कसैले चासो दिएको देखिएको छैन ।
बिउबिजन ऐन र नियमावली विपरीत यहाँ बीऊ बिक्री वितरण भइरहे पनि त्यसलाई रोक्न कुनै पहल गरिएको छैन । त्यस्तो कारोबार गर्ने व्यापारीको माल जफतसहित ५० हजार जरिवाना लगाउनसक्ने ऐनमा उल्लेख भए पनि कृषि कार्यालयले कारबाही गरेको पाइँदैन । यस बर्ष समयमै बर्षा भएपछि कृषकहरूलाई ब्याड राख्ने चटारो छ । उनीहरू बीऊका लागि बजारमा धाउने गरेका छन् । जिल्लाका एग्रोभेटमा धान किन्ने कृषकहरूको भीडभाड छ । ब्याड राख्ने हतारोमा रहेका कृषकहरूलाई कुन बीऊ राम्रो हो भन्ने अलमलमा छन् ।
कपिलवस्तु तौलिहवाका कृषक घाउराका यादवले खेतमा कस्तो बीऊ प्रयोग गर्ने हो थाहा नभएको बताए । उनले एग्रोभेट व्यापारीहरूकै सल्लाह अनुसार बीऊ किन्ने गरेको बताए । आफूलाई अझैसम्म कसैले पनि धानको बीऊका विषयमा जानकारी नगराएको उनले बताए । अवैध रूपमा भारतीय बीऊ भित्रिँदा जिल्लाका चार सिड कम्पनी मर्कामा परेका छन् । धान र गहुँको बीऊ सहज रूपमा आपूर्ति गर्न जिल्लामा विकास, मुस्कान, इन्टरनेशनल र सिद्धार्थ सिड कम्पनीले बीऊ उत्पादन गर्ने गरेका छन् । तर भारतीय बीऊ निर्वाध भित्रिँदा आफूहरू समस्यामा परेको कपिलवस्तु नगरपालिका– २ बर्दाहवास्थित विकास सिडका मालिक जयन्त्रीलाल श्रीवास्तवले गुनासो गरे ।
‘सूचिकृत नभएका बीऊ बेच्न पाइँदैन तर बजारमा खुलेयाम हाइब्रिड जातका धानको बीऊ बिक्री भइरहेको छ’ उनले भने– ‘भारतीय बीऊका कारण हामी धेरै समस्यामा छौं ।’ ३ करोड लगानीमा उनले २ बर्षअघि सिड कम्पनी खोलेका थिए । भारतीय बीऊले गर्दा आफ्नो कम्पनीलाई समस्यामा पारेको बताए । महुवास्थित मुस्कान सिडका मालिक बृजबिहारी चौधरीले भारतीय बीऊले कम्पनीलाई संकट परेको बताए । ‘कृषकहरूलाई सिफारिस धानका बीऊ मात्र प्रयोग गर्ने विषयमा जानकारी छैन, त्यसैले गर्दा हामीलाई समस्या छ ’ उनले भने ‘सिफारिस नगरिएका जातका धानको बीऊ बिक्रीलाई रोक्नुपर्छ ।’ उनले बजार अनुगमन गर्नुपर्ने माग गरे ।
बजारमा नानाथरीका उन्नत जात र हाइब्रिड बीऊ बिक्री भइरहे पनि त्यसलाई नियन्त्रण गर्न कसैले चासो दिएको देखिदैन । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले तोकेका बीउबाहेक अन्य बीऊसमेत बिक्री गर्न नपाइने भए पनि कुनै बीऊ बेच्ने व्यापारीले त्यसको पालना गरेको पाइँदैन । बीउबिजन बिक्री गर्न कृषि कार्यालयबाट अनुमति लिनुपर्ने प्रावधान छ । तर कपिलवस्तुमा अधिकांश बीउबिजन बिक्री गर्ने पसलेहरूले दर्ता नगराई त्यस्ता पसल संचालन गरेका छन् । धानको बीऊ छर्ने सिजन भएकाले बीऊको यहाँ अत्यधिक माग भएकाले व्यापारीहरूले धमाधम भारतबाट अवैधानिक रूपले भित्राइरहेका छन् । भारतीय सीमावर्ती क्षेत्रहरूमा धानको बीऊ आकर्षक प्याकमा प्याकिङ गरी जिल्लामा व्यापारीहरूले भित्राइरहेको स्रोतको भनाइ छ । जिल्लाकै प्रमुख बालीको रूपमा रहेको धान छर्ने बेलामा बीऊको समेत अभाव देखिएको छ । “मानो खाएर मुरी फलाउने” बेलामा बीऊको अभाव देखिएपछि कृषकहरू निकै मर्कामा परेका छन् । बेलैमा बीऊ नछरेमा उत्पादनमा समेत ह्रास आउने हुँदा किसानको मुख्य आय श्रोतको रूपमा रहेको धान खेतीमा समेत असर पर्ने देखिन्छ । खुरुहुरियाका कृषक अग्नीप्रसाद सापकोेटाले कुन सही हो कुन नक्कली हो छुट्टाउन गाह्रो परेको बताए ।
उता भन्सार कार्यालय कृष्णनगरले न्युन मात्रामा भारतीय धानको बीऊ भित्रिएको जनाएको छ । उता कृषि कार्यालयका प्रमुख राकेश ओझाले बजारमा सिफारिस नभएका हाइब्रिड जातका बीउ बिक्री भइरहेको स्वीकार गरे । उनले आफूहरूले कृषकहरूलाई सिफारिस गरिएका धानको बीऊ मात्र प्रयोग गर्न बारम्बार आग्रह गरेको बताए ।