यौन दुर्व्यवहारको आरोपमा भैरवस्थान मन्दिरका मुख्य पुजारी निलम्बन - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

यौन दुर्व्यवहारको आरोपमा भैरवस्थान मन्दिरका मुख्य पुजारी निलम्बन



यौन दुर्व्यवहार गरेको आरोपमा भैरवस्थान मन्दिरका मुख्य पुजारीलाई निलम्बन गरिएको छ ।

पाल्पाको रिब्दिकोट गाउँपालिका–४ मा रहेको मन्दिरका मुख्य पुजारी ७० वर्षीय जितनाथ योगीलाई महिला दर्शनार्थीमाथि यौनजन्य दुर्व्यवहार गरेको पाइएपछि निलम्बन गरिएको हो ।

महिला दर्शनार्थीमाथि यौनजन्य अभद्र व्यवहार गरेको सामाजिक सञ्जाल तथा मिडियामा खबर फैलिएपछि सिसीटिभी फुटेज जाँचका आधारमा मन्दिरमा दर्शन गर्न आएकी एक महिलामाथि अभद्र व्यवहार गरेको भिडियो देखिएपछि निलम्बन गरिएको मन्दिरका व्यवस्थापक मिनबहादुर बुढाथोकीले बताए ।

‘हामीलाई सम्बन्धित यौनजन्य अभद्र व्यवहार गरिएकी महिलाबाट त जानकारी आएको छैन । विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा कुरा बाहिर सार्वजनिक भएपछि सिसिटिभी फुटेज जाँच गरेर अभद्र व्यवहार गरेको पाइएपछि मन्दिरको मुख्य पुजारीको जिम्मेवारीबाट बुधबारदेखि निलम्बन गरेका छौँ,’ उनले भने ।

भैरवस्थान मन्दिर पाल्पाको ऐतिहासिक, पर्यटकीय तथा धार्मिक धरोहरका रूपमा रहेको छ । यो मन्दिर पश्चिम नेपालकै धरोहर मानिन्छ । समितिले एक विज्ञप्ति जारी गर्दै पुजारीबाट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पुजारीको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै मन्दिर व्यवस्थापन समितिले सत्यतथ्य छानबिन नहुँदासम्म पुजारीलाई सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जनाएको छ । पुजारी योगी यस मन्दिरमा २०५९ देखि मुख्य पुजारीका रूपमा सेवा गर्दै आइरहेको बुझिएको छ ।

दाङ स्थायी घर भएका योगीले मन्दिरमा दर्शनका लागि आउने महिला दर्शनार्थीलाई टीका लगाइदिने र प्रसाद दिने बहानामा योगीले उनीहरूको स्तनमा हातले छुने गरेको घटना बाहिरिएको छ । घटना बाहिर आए पनि सम्बन्धित पीडितबाट प्रहरी कार्यालयमा जाहेरी भने परेको छैन ।