बेलबास–बेथरी निर्माण कार्यलाई तिब्रता,अतिक्रमित घरहरु भत्काउन शुरु - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बेलबास–बेथरी निर्माण कार्यलाई तिब्रता,अतिक्रमित घरहरु भत्काउन शुरु



आचार्य प्रदीप
बुटवल । मुलुककै नमूना सडकका रूपमा परिकल्पना गरिएको बेलवास–बेथरी चार लेन सडकको निर्माण कार्य तिब्र रुपले अगाडि बढेको छ ।

तीन फेजमा काम भइरहेको सडक निर्माण संगै अतिक्रमित क्षेत्रमा घरहरु भत्काउन सुरु गरिएको छ । सडक क्षेत्र भित्र पर्ने बेलबास देखि बेथरी सम्मका ७० वटा घरहरु भत्काउन सुरु गरिएको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ । कार्यालयका प्रमुख कैलाश कुमार श्रेष्ठले नालीको सेन्टरदेखि १८ मिटर भित्र पर्ने दायाँ बायाँ दुवै तर्फका घरहरु भत्काउन सुरु गरिएको बताए ।

नहरका दुवैतिर दुई–दुई लेनको सडक र नहरको छेउछाउमा हरियालीसहितको उद्यान बनाउने योजनाका साथ निर्माण भइरहेको सडक महत्वपुर्ण आयोजनाको रुपमा रहेको छ । सडक अतिक्रमित क्षेत्रभित्रका घरहरु भत्काउन सुरु गरिएको र सडक क्षेत्रभित्र अन्य मुअव्जा पाउने घरहरु परे नपरेको भने अझै रिपोर्ट कार्यालय सम्म नआएको प्रमुख श्रेष्ठले बताए ।

“७० वटा घरहरु कसैले पनि मुअव्जा पाउदैन, उनीहरु सडक अतिक्रमण गरेर निर्माण गरेका घरहरु हुन ।” उनले भने–“अरु तथ्याङ कार्यालय सम्म आई पुगेको छैन । केही समय अघि नदिजन्य पदार्थहरुको अभाव र रुखहरु कटान नहुँदा केही ढिला भइरहेको सडक निर्माणको काम अहिले तिब्र रहेको उनले बताए । निर्माणधिन सडक भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलसँग जोड्ने महत्वपुर्ण आयोजनाका रूपमा लिइएकाले बजेटको अभाव हुन नदिई निर्माण कार्यलाई तिब्र पारिएको उनको भनाई छ ।

पूर्व–पश्चिम राजमार्ग हुँदै विमानस्थल पुग्ने वा विमानस्थलबाट पूर्व–पश्चिम राजमार्ग निस्किने यात्रुुका लागि आवश्यक पर्ने वैकल्पिक र व्यवस्थित सडकमध्ये महत्वपुर्ण सडकका रूपमा यसलाई लिइएको छ । भविष्यमा यो सडकलाई पर्यटकीय सडकका रूपमा समेत विकास गर्ने लक्ष्य छ ।

लुम्बिनी आउने पर्यटक लुम्बिनी बाहिरका पर्यटकीय क्षेत्रमा जाँदा यही सडकको उपयोग गर्नेछन् । यो सडक नमूना हुने भएकाले पर्यटकका लागि आकर्षणको केन्द्र बन्नेछ ।

अर्थमन्त्री विष्णु पौडेलले ५ वर्षअघि यो सडकको परिकल्पना गरेका थिए । अर्थमन्त्री भएलगत्तै पौडेलले यसअघि नै इस्टिमेट र डिजाइन भइसकेको थियो । पुर्व अर्थमन्त्री पौडेलले शिल्यनास गरेको यो सडक निर्माणको गति भने तिब्र छ ।

बुटवलको बेलवास झोलुुङ्गेपुल चोकदेखि भैरहवा–लुम्बिनी सडकको बेथरीसम्म २१ किलोमिटर लामो यो सडकको बीचमा नहर छ । अधिकांश स्थानमा स्वतः ट्रायक खुलिसकेकाले २ बर्षभित्रै काम सम्पन्न हुने अनुमान सडक कार्यालयको छ ।

यद्यपी निर्माण सामाग्री अभाव र रुखहरु कटान नभएपछि निर्माणको समय लम्बिने देखिएको छ । नहरपुर–मोतिपुर–अमवा हुँदै बेथरी पुगेर भैरहवा–लुम्बिनी खण्डमा जोडिने अहिलेको अव्यवस्थित नहरलाई व्यवस्थित गरेर १० फिटमा सीमित गरिनेछ ।

दुवैतिर सात÷सात मिटर फराकिला सडक र त्यसबाहिर पौने दुई मिटरको साइकल लेनसमेत बन्नेछ । नहरको दुवै साइडको भित्तामा फूल र दुबो रोपेर हरियाली बनाइनेछ । दुवैतिर सडक बत्ती र नहरको पानीतर्फ फर्काइएका रङ्गीन बत्तीले यो सडकलाई आकर्षक बनाउनेछन् ।

नहरमा बानीको मात्रा बढाई र लामो दूरीको र्‍याफ्टिङ वा बोटिङसमेत गर्न सकिने व्यवस्था मिलाइने बताइएको छ । करिब २ अर्ब रुपैयाँको लागतम यो सडक निर्माणधिन छ ।