देउवाले टनकपुरको हिसाव दिए हामीले सिमानाको हिसाव दिन्छौँ: बास्कोटा - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

देउवाले टनकपुरको हिसाव दिए हामीले सिमानाको हिसाव दिन्छौँ: बास्कोटा



काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिले चुनाव आएकाले मनपरी बोल्दै हिंडेको आरोप लगाएका छन् ।

देउवाले लगाएको आरोप खण्डन गर्दै बास्कोटाले चुनावी मसाला बनाउनका लागि सस्तो कुरा गर्दै हिंडेको आरोप समेत लगाएका छन् । ।

शनिवार कास्की क्षेत्र नम्बर २ को चुनावी सभामा बोल्दै देउवाले भारतले प्रधानमन्त्री ओलीकै सल्लाहमा नयाँ नक्सा जारी गरेको आरोप लगाएका थिए ।

आइतवार नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले केही दिन अघि बसेको सर्वपक्षीय बैठकमा शीर्ष नेताहरूबीच कुनै विमति नरहेको उल्लेख गरे ।

‘म बुझ्छु, पोखरामा त्यो आरोप किन लगाउनुभयो भन्ने कुरा,’ बास्कोटाले भने, ‘किनभने १४ गते यहाँ चुनाव छ । यति सस्तो कुरा उहाँले बोल्नु हुन्न । उहाँ आफैं उपस्थित हुनु भएको बैठकमा, सम्माननीय प्रधानमन्त्रीज्यूले बोलाउनु भएको बैठकमा, सर्वपक्षीय, सर्वदलीय बैठकमा उहाँको कुनै विमति थिएन ।’

बास्कोटाले देउवालाई राष्ट्रघाती सन्धि सम्झौता गर्ने गरेको आरोप लगाए । ‘यदि यसो हो भने गण्डकी, कोशी, टनकपुर जस्ता सम्झौताहरूको एकमुष्ट जवाफ कांग्रेसबाट हामीले किन नखोज्ने ?’ बास्कोटाले प्रश्न गरे, ‘नाकाबन्दीका बेलामा म्याउँ गर्न नसक्ने, अहिले ढाडे बिरालो जस्तो कुर्लिएर हुन्छ ?’

बास्कोटाले घुमाउरो पारामा काङ्ग्रेसले सिमानाको हिसाव खोजे आफूहरूले गण्डकी, कोशी, टनकपुर जस्ता सम्झौताहरूको हिसाव खोज्ने बताए । उनले काङ्ग्रेसलाई यस्ता विषय नउचाल्न पनि चेतावनी दिए ।