बुधबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

बुधबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह



बुटवल । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि बुधबारसम्म मध्य र पश्चिम भागमा भारी वर्षा हुने अनुमान गरेको छ । महाशाखाका अनुसार सोमबार रातिदेखि अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । बुधबारसम्मै मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा भनेको छ ।

मंगलबार दिउँसोको समयमा सामान्य बदली रहने र केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाले उल्लेख गरेको छ । ‘साँझ पनि देशभरिनै बदली रही हल्कादेखि मध्यम खालको वर्षा हुने देखिन्छ,’ बुलेटिनमा छ, ‘पूर्व र पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।’

बुधबार पनि दिउँसो देशभरि नै सामान्य बदली भई हल्कादेखि मध्यम खालको वर्षा हुने र मध्य तथा पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षा हुने देखिन्छ । जल तथा मौसम विज्ञान विभागले नवलपरासी, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, बर्दिया, कैलाली जिल्लाको चुरेबाट बग्ने साना नदीहरुमा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्क हुन सचेत गराएको छ ।

पूर्वी र मध्य भागको चुरेबाट बग्ने साना नदीहरुमा पनि वर्षा भइरहे एक्कासी बाढी आउने भएकाले सतर्क हुन विभागको बाढी पूर्वानुमान शाखाले सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको छ ।