माओवादी केन्द्र र एमालेबीच फेरि एकता हुनसक्ने वर्षमान पुनको संकेत - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

माओवादी केन्द्र र एमालेबीच फेरि एकता हुनसक्ने वर्षमान पुनको संकेत



नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्र र एमालेबीच फेरि एकता हुनसक्ने बताएका छन् । उनले आफ्नो दल र एमालेबीच फेरि पार्टी एकता वा कुनै प्रकारको सहकार्य हुन सक्ने संकेत गरेका हुन् ।

राजधानीमा शनिबार आयोजित माओवादी ‘जनयुद्ध’का शहीद तथा बेपत्ता परिवार र आस्थाका बन्दीहरूको सम्मान कार्यक्रममा बोल्दै पुनले विगतको जरा एउटै भएको र कयौं रानजीतिक एजेण्डामा समानता भएका दुई पार्टी कुनै पनि बेला मिल्न सक्ने बताएका हुन् । फेरि मिल्नुपर्ने अवस्था आउन सक्ने भएकाले धेरै टाढा पुगेर माओवादी आन्दोलनको योगदानलाई अवमूल्यन नगर्न एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरे ।

‘हिजो हामीले नेकपा बनायौं । यद्यपि टिकाउन सकिएन, इतिहासले त्यसको समीक्षा गर्दै गर्ला । फेरि पनि कम्युनिस्ट पार्टीहरू मिलेर फेरि पनि ढिलो चाँडो संयुक्त मोर्चा, पार्टी एकता, गठबन्ध या संयुक्त सरकार कुनै पनि रुपमा जाने सम्भावना छ’, पुनले भने, ‘म कमरेड केपी ओली र एमालेका नेताहरूलाई भन्न चाहन्छु धेरै पर गएर आन्दोलनको अपमान नगर्नुस् । हामी त्यसलाई अस्वीकार गर्दछौं ।’ पुनले दुई जना जनताका छोराछोरीलाई राष्ट्रपति र ओली स्वयंलाई दुईपटकसम्म प्रधानमन्त्री बनाएको नबिर्सन आग्रह गरे ।

पुनले तत्कालीन नेकपाको राजनीतिक प्रतिवेदनमा आफूहरूले तत्कालीन मालेले झापा आन्दोलन हुँदै एमालेमा भएको रुपान्तरण, शान्तिपूर्ण संघर्ष र संसदीय अभ्यासका क्रममा हासिल गरेका शिक्षा तथा अनुभवको स्वामित्व आफूहरूले लिएको र माओवादी ‘जनयुद्ध’को स्वामित्व तत्कालीन एमालेले लिएको तथ्य जगजाहेर रहेको स्मरण गराए ।

पुनले कांग्रेसले ००७ साल, ०१८ साल, ०२५÷०२६ सालमा गरी तीनपटक र तत्कालीन माले (हालको एमाले) को नेतृत्वमा ०२८ सालमा र तत्कालीन नेकपा माओवादीको नेतृत्वमा ०५२ सालमा हतियार उठेको इतिहास नबिर्सन सचेत गराए । ती सबै हतियार निरंकुश राजतन्त्रको अन्त्य र राज्यको लोकतान्त्रिकरणका लागि भएको स्वीकार गर्न आफूहरूलाई कुनै अप्ठेरो नरहेको बताए । नेपालका मुलधारका प्रमुख तीन दलले कहिले सशस्त्र संघर्ष र कहिले शान्तिपूर्ण संघर्षको माध्यम प्रयोग गरेको भन्दै उनले ०७५ वर्ष लामो संघर्षको प्रतिफल अहिलेको राजनीतिक उपलब्धि भएको उल्लेख गरे ।