बर्षाले सुदूरपश्चिमका इँटा उद्योगमा १५ करोडको क्षति - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

बर्षाले सुदूरपश्चिमका इँटा उद्योगमा १५ करोडको क्षति



कैलाली । बिहीबार रातिबाट भएको वर्षाले सुदूरपश्चिममा रहेका इँटा उद्योगमा ठूलो क्षति गरेको छ । पोल्न तयार पारेका इँटा वर्षाले गलेपछि क्षति भएको हो । वर्षाका कारण इँटा उद्योगहरुमा करिब १५ करोड मूल्य बराबरको नोक्सान भएको सेती–महाकाली इँटा व्यवसायी संघका अध्यक्ष विनोद शाहले बताए ।

पोल्नका लागि तयार पारिएका काचो इटा वर्षाले गलेपछि व्यवसायीले ठूलो क्षति व्यहोर्नु परेको उनले बताए । ‘हरेक इँटा उद्योगमा १५–२५ लाखभन्दा बढीको क्षति भएको छ ।’ उनले भने, ‘यसले व्यवसायीलाई ठूलो मार परेको छ ।’ सुदूरपश्चिममा ७० वटा इँटा उद्योग रहेको उनले जानकारी दिए ।

कार्तिक–मंसिरमा काचो इँटा तयार गरेर पोल्ने समयमा पानी परेपछि नष्ट भएको व्यवसायीले बताएका छन् । महाकाली इँटा व्यवसायी संघका अध्यक्ष बलदेवसिंह बुढाले बिमाको व्यवस्था नहुँदा घाटा व्यहोर्नु परेको बताए । काचो इँटाको पनि बिमा गर्ने व्यवस्था गर्न बिमा कम्पनी र सरकारलाई आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो व्यवसायीहरुले गरेका छन् ।

सुदूरपश्चिममा रहेका ७० वटा इँटा उद्योगमा १४ हजार नेपाली नागरिक तथा सात हजार भारतीय नागरिकले रोजगारी पाएका अध्यक्ष शाहले जानकारी दिए । फाइल तस्बिर