बर्दगोरियामा कांग्रेसको वडास्तरीय भेला सम्पन्न , छायां सरकार गठन - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

बर्दगोरियामा कांग्रेसको वडास्तरीय भेला सम्पन्न , छायां सरकार गठन



बौनियाँ,कैलाली । ‘तनमन कांग्रेस, जनजन कांग्रेस’ को नारासहित सुरु भएको कांग्रेसको जनजागरण अभियान वडास्तरसम्म पुग्न थालेको छ ।

नेपाली कांग्रेस कैलालीले गएको फागुन २२ देखि थालेको यो अभियानलाई तीव्रता दिएको छ । अभियानलाई सफल पार्न कांग्रेसले १३ वटै स्थानीय तहका १ सय २६ वडाहरुमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई यसअघि नै कार्यक्रम संचालनको जिम्मेवारी दिएर खटाइसकेको छ ।

सोही अनुसार जिल्लाको बर्दगोरिया गाउँपालिकाको वडा नम्बर-३ मा शनिबार वडाभेला गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर-१, २ र ६ चैत्र ११, १२ र १५ गते भेला सम्पन्न भैसकेको छ । बाँकी रहेका वडा नम्बर-४ र ५ को समेत कार्यक्रम गरिने नेपाली कांग्रेस बर्दगोरिया सभापति गणेश शाहीले जानकारी दिए ।

वडा सभापति नन्दाराम बिष्टको सभापतित्वमा भएको वडाभेला कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य एवं पूर्व शिक्षा राज्यमन्त्री मोहनसिंह राठौर प्रमुख अतिथि रहेका थिए भने, कांग्रेस महाधिवेशन प्रतिनिधि लक्ष्मीराज जोशी बिशिस्ट अतिथि रहेका थिए ।

भेलाको उद्घाटन गर्दै कांग्रेस महासमिति सदस्य राठौरले दुईतिहाईको सरकार अधिनायकवाद र सर्वसत्ताबाद तर्फ उन्मुख रहेको बताए । उनले स्वतन्त्र न्यायपालिका, कार्यपालिका र ब्यवस्थापिका लगायतका इकाईमा सरकारले कब्जा जमाउन खोजेको आरोप लगाए । उनले राज्यका तीनवटै स्वतन्त्र इकाईमा सरकारले स्वतन्त्र भूमिका निर्वाह गर्न नदिएर हस्तक्षेप गरेको बताए ।

अधिनायकवाद तर्फ जान खोजिरहेको यो सरकारलाई ठीक ढंगबाट चल्न सशक्त प्रतिपक्षी भूमिका कांग्रेसले खेल्नुपर्ने राठौरले बताए । जसका लागि छायां सरकार गठन गरि स्थानीय स्तरमा समेत सरकारको निगरानी बढाउन आवश्यक रहेको उनले औल्याए ।

भेलामा बोल्दै जिल्ला प्रतिनिधि लक्ष्मीराज जोशीले प्रत्येक जनता माझ कांग्रेस लोकप्रिय बन्न स्थानीय स्तरमा जनसरोकारका विषय उठान गरि सघाउनुपर्ने बताए । स्थानीय स्तरमा बिकास निर्माणका कार्यमा जनतालाई सघाउ पुग्ने गरि कांग्रेसले भूमिका खेल्नुपर्ने उनले बताए ।
सो अवसरमा जोशीले कांग्रेसको जागरण अभियान अन्तर्गत प्रत्येक वडामा, प्रत्येकको जनजनमा र मनमनमा कांग्रेसको अनुभूती गराउन अभियान गरिएको बताए । उनलेे स्थानीय स्तरमा पार्टी, संगठनको वर्तमान अवस्थाको अनुगमन तथा मुल्यांकन गरि सुदृढीकरण गर्न कार्यक्रम गरिएको जानकारी दिए ।

भेलाबाट बर्तमान वडा नम्बर-३ का वडासभापति नन्दाराम बिष्टको सभापतित्वमा १५ सदस्यीय समितिलाई पूर्णता दिइएको छ । जसको उपसभापतिमा देव बहादुर बिक, राजकुमारी चौधरी, सचिवमा बिष्णु बिष्ट, शिखर बिक, सहसचिव वीर बहादुर चौधरी, जमुना बडुबाल, कोषाध्यक्षमा उदयराम बिष्ट, ममता साउँद (बुढा) रहेका छन् । यस्तै सदस्यहरुमा वीरजिते बिक, यम बहादुर पुन, प्रताप बिक, पार्वती आचार्य, ठेउके नेपाली र पवित्रा अधिकारी रहेका छन् ।

भेलामा स्थानीय सरकार र जनप्रतिनिधिको निगरानी गर्न छायां सरकार समेत गठन गरिएको छ । स्थानीय तहको विकास निर्माण कार्यमा दिनहुँ बढ्दै गएको संस्थागत भ्रष्टाचार, अनियमितता र मनपरितन्त्रलाई नियन्त्रण गर्न सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न भन्दै छायां सरकार गठन गरिएको छ । जसको संयोजकमा टेकराज जोशी, सदस्यहरुमा प्रकाशराज भारती र टंकबहादुर कुँवरलाई चयन गरिएको छ ।

यस्तै, किसान संघको संयोजकमा मान बहादुर चौधरी, महिला संघको संयोजकमा लालमति बुढा, तरुण दल संयोजकमा चक्रबहादुर बिष्ट, नेविसंघ संयोजकमा टीकाराम साउँद, शिक्षक संघको संयोजकमा नवराज टमट्टा, मिडिया संयोजकमा गोविन्द बीसीलाई चयन गरिएको छ ।