बर्दगोरिया गाउँपालिकाद्वारा बिद्यालय अनुगमन - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

बर्दगोरिया गाउँपालिकाद्वारा बिद्यालय अनुगमन



नियमानुसार काम गर्न शिक्षक कर्मचारीलाई कडा निर्देशन

गोविन्द बीसी

बौनिया ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले विद्यालय अनुगमनको कार्यलाई तिब्रता दिएको छ । गाउँपालिकाले विभिन्न वडामा संचालित सामुदायिक र संस्थागत बिद्यालयको अनुगमनको कार्य थालेको हो ।  गाउँपालिका उपाध्यक्ष भगवती डंगौराको नेतृत्वमा गाउँपालिकाको वडा नम्बर-३ अन्तर्गत खैरेनी र रानीकुण्डामा रहेका सामुदायिक र नीजि विद्यालयको मंगलबार छड्के अनुगमन गरिएको थियो । अनुगमनका क्रममा बिद्यालयमा शिक्षक अनुपस्थित हुने गरेको भेटिएको छ । विद्यालय तथा कार्यालयमा शिक्षक, कर्मचारीले कुनै लिखित निवेदन बिना नै स्वीकृत नगरि बिदामा बस्ने गरेको भेटिएपछि गाउँपालिका उपाध्यक्ष भगवती डंगौराले आगामी दिनमा यसप्रति सचेत र गम्भीर हुन कार्यालय प्रमुख तथा शिक्षक कर्मचारीलाई निर्देशन दिइन् । उनले बालबालिकाको बिकासका लागि बालबिकास र तल्लो तहका कक्षामा स्थानीय स्तरमा निर्माण गरिएका सामाग्रीको प्रयोग गरि शिक्षण गर्न सुझाव दिइन् । अनुगमनका क्रममा गाउँपालिका उपाध्यक्ष सहित सबै वडाका वडा अध्यक्ष, न्यायिक समिति सदस्य, कार्यपालिका सदस्य गाउँपालिका अनुगमन टोलीका पदाधिकारी सहभागि थिए ।

अनुगमन समितिले विद्यालयको शैक्षिक, आर्थिक र भौतिक ब्यवस्थापनमा सुधार गर्न निर्देशन दिएको छ । अनुगमनका क्रममा वडा नम्बर-१ का वडा अध्यक्ष जयरुप खतिवडाले शिक्षा र स्वास्थबाट नै सुधार ल्याउने गाउँपालिकाको पहिलो योजना र प्राथमिकता रहेको बताए । उनले विद्यालयमा बालबालिकाले पाउनुपर्ने शैक्षिक अधिकार र गुणस्तरीय शिक्षाका विषयमा सबैले सचेत हुनुपर्ने बताए । बिद्यालयमा थुप्रै समस्या भएपनि क्रमिक रुपले बिस्तारै सबै समस्या समाधान हुने उनले आश्वासन दिए  । धेरैजसो बिद्यालयको आर्थिक अवस्था कमजोर भएका कारण नीजिस्रोत शिक्षकले वर्षौसम्म तलब नपाएको उनले बताए । हलो जोतेर गोरु चुटाइ गर्नु हुदैन । अब यसलाई कसरी सुधार गर्न सकिन्छ । विद्यालय ब्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ, प्रशासन, शिक्षक सबैले ध्यान दिन जरुरी छ ।”- उनले भने । खेलकुदका माध्यमबाट शिक्षण सिकाइ क्रियाकलाप गर्दा सिकाइ कार्य उपलब्धिमूलक हुने भन्दै विद्यालयमा आर्सेनिक रहित स्वच्छ खानेपानी, खेलकुद लगायत अन्य अतिरिक्त क्रियाकलापमा जोड दिन सुझाव दिए । यस्तै वडा नम्बर-५ की वडा अध्यक्ष श्यामकुमारी चौधरीले विद्यालयमा विद्यार्थी, शिक्षकको बिदाको स्पष्ट अभिलेख राख्न सुझाव दिइन् ।

वडा नम्बर-२ का वडा अध्यक्ष भिख्खु चौधरीले विद्यालयमा सबैले हातेमालो गर्दै काम गर्न सुझाव दिए । अनुगमनका क्रममा विद्यालयमा आर्थिक अवस्था कमजोरीका कारण ब्यवस्थापन गर्न नसकिएको, भौतिक पुर्वाधारको कमि, आवश्यकता र तह अनुसार शिक्षक दरबन्दी नहुनु मुख्य चुनौती र समस्या भएको प्रधानाध्यापकले गुनासो गरेका थिए । १८ बर्षपछि विद्यालयमा यस किसिमले अनुगमन गर्नु सकारात्मक कार्य भएको बताउदै आगामी दिनमा सुझावको अपेक्षा लिएको प्रधानाध्यापकले बताए ।

बर्दगोरिया गाउँपालिकाले बिद्यालयमा शिक्षकका समस्या र अपेक्षा के-के छन् ? जानकारी दिन प्रधानाध्यापकलाई निर्देशन दिएको जनाएको छ ।

बर्दगोरिया गाउँपालिका क्षेत्र भित्र रहेका बिद्यालयको शैक्षिक गुणस्तर चेकजाँच सुधार गरि गुणस्तर वृद्धिका लागि गाउँपालिकाले गर्नुपर्ने आवश्यक कामको बारेमा जानकारी लिनका लागि अनुगमनको कार्यलाई तिब्रता पारिएको बताइएको छ ।