स्थानीय तहमा बैंक नहुँदा समस्या - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

स्थानीय तहमा बैंक नहुँदा समस्या



पाल्पा । स्थानीय तहमा बैंक नपुग्दा सेवाग्राहीलाई समस्या भएको छ । सरकारी सेवा सुविधा स्थानीय तहमै सञ्चालन भइरहे पनि बैंक नहुँदा झण्झट व्यहोर्नुपरेको हो । सरकारले सिंहदरबारको अधिकार गाउँ गाउँमा भने पनि अहिलेसम्म कार्यान्वयन हुन नसक्दा जनताले सास्ती खेप्नु परेको गुनासहरु आउन थालेका छन् ।

स्थानीय तहमा बैंक नहुँदा कार्यालय सञ्चालनमा समेत समस्या देखिएको छ । साना देखि ठूला योजना सञ्चालन गर्दा बैंक खाता खोल्नुपर्ने बाध्यता रहेको छ । सरकारले स्थानिय तहको निर्वाचन लगत्तै सबै गाउँपालिकाको केन्द्रहरुमा वित्तिय पहुँच पुर्‍याउने घोषणा गरे पनि निर्वाचन सम्पन्न भएको ७ महिना वितिसक्न लाग्दा समेत स्थानीय तहमा बैंक पुग्न सकेका छैनन् ।

पाल्पा जिल्लामा आठ गाँउपालिका रहे पनि रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाका केन्द्रमा मात्र निजी क्षेत्रको वाणिज्य बैंकको शाखा खोलिएको छ । अहिले सम्म अन्य गाउँपालिका केन्द्रमा बैंकिङ्ग सुविधा नपुगेको कारण सर्वसाधारण देखि स साना योजनाका उपभोत्ता समितीका पधाधिकारीहरु बैंकिङ्ग कारोबारका लागि सदरमुकाम तानसेन नै आउनुपर्ने बाध्यता रहेको छ ।

‘योजना सम्झौता गर्दा गाँउपालिकामा जानुपर्ने र सम्झौता पश्चात बैंक खाता खोल्न फेरी जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता रहेको माथागढी गाउँपालिकाका शिशिर भट्टराईले बताए ।’ उनले भने‘ सिंहदरबार गाउँ गाउँमा भन्थे तर अहिले गाउँपालिका र सदरमुकाम दुवै ठाउँमा जानुपर्ने भएकाले समय पनि खेर जाने र खर्च पनि दोहोरो हुने भएकाले झण्झटीलो भइरहेको छ ।’

सेवा ग्राही मात्र हैन सरकारी कर्मचारीसमेत बैंक नहुँदा ठूलै समस्यामा पर्ने गरेका छन् । बैंक नहुँदा वडा सचिवहरुलाई सामाजिक सुरक्षा भत्ताका लागि छुट्याइएको लाखौं रकम सदरमुकामबाट बोकेर लैजानुपर्ने बाध्यता छ । समस्या माथागढी, रम्भा , पूर्वखोला, वगनासकाली , निस्दी, र तीनाउ गाउँपालिकाका उपभोक्ताले अहिले सम्म बैंकिङ्क सुविधा प्राप्त गर्न बाट वन्चित भएको सम्बन्धीत गाउँपालिकाका अध्यक्षहरु बताउछन् ।

गाउँपालिका भित्र स–साना एक लाख देखि डेढ करोड सम्म योजनाहरु सञ्चालन छन् । उपभोक्ता समितीलाई रकम भुक्तानी दिंदा सदरमुकाममा रहेको वाणिज्य बैंकको चेक काटिदिनु परेको छ । उपभोक्ता समितीलाई मात्र नभई सर्वसाधारण लाई समेत अप्ठारो भएको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए ।

गाउँपालिकाको केन्द्रहरुमा बैंकिङ्क सुविधा पुग्ने भए पनि सुरक्षा र इन्टरनेटको समस्या , भौगोलिक विकटताका कारण गाउँ पुग्न नसकिएको बैंक सञ्चालकहरु बताउँछन् । समस्या सुरक्षा र इन्टरनेटको हो । उनिहरु भन्छन्, सरकारले सबै गाउँपालिका केन्द्रहरुमा बैंकिङ्क पहुँच पुर्‍याउने भन्ने तर त्यसका पूर्वधार निर्माणका लागि पहल नगर्दा समस्या उत्पन्न भएको छ ।