दलित समुदायलाई आरक्षण दिँदासम्म उत्पीडनको अन्त्य हुँदैन- वामदेव गौतम - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

दलित समुदायलाई आरक्षण दिँदासम्म उत्पीडनको अन्त्य हुँदैन- वामदेव गौतम



काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिँदासम्म उनीहरुमाथि भएको उत्पीडनको अन्त्य नहुने बताएका छन् ।

शुक्रबार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिन नहुने बताए । उनले जातको आधारमा आरक्षण दिएका कारण दलित समुदायमाथि भएको उत्पीडनको अहिलेसम्म अन्त्य हुन नसकेको बताए ।

“नेपालमा उत्पीडन समाप्त गर्न लागेको छ, तर आजसम्म पनि छैन । यो के भो यस्तो किसिमको भन्दा आरक्षण व्यवस्था रहँदासम्म समाप्त हुँदैन । आफूले आफैँलाई उत्पीडित भनेर जनप्रतिनिधित्व हुन्छ,” उनले भने, “कसरी प्रतिनिधित्व गर्नुभयो तपाईं भन्यो भने म दलित समुदायबाट प्रतिनिधित्व गरेको हुँ भनेपछि अब त्यो समुदाय चाहिँ दलित भइरहनु पर्‍यो, तब न प्रतिनिधित्व हुन्छ । त्यसबाट मुक्त हुने व्यवस्था यसले गर्दैन । गर्दै गर्दैन ।”

दलित भनेर प्रतिनिधित्व पनि गराउनु नहुने भन्दै गौतमले कसैले कसैलाई दलित र उत्पीडित भन्नु नहुने बताए । उनले सबै मानिस एकै भएको बताए ।

दलित र उत्पीडित जस्ता शब्द नै खारेज गर्नुपर्ने गौतमको भनाइ छ । उनले छुवाछूत गर्नेलाई आजीवन काराबास र भेदभाव गर्नेलाई कम्तिमा १० वर्ष कैद र जरिवाना गर्नुपर्ने कडा कानुन बनाउनुपर्ने बताए ।

“उत्पीडनको नाममा हामीले खोजेको के ? मुक्ति हो ? मुक्ति हो भने उत्पीडन हुनु हुँदैन । उत्पीडन भन्नु पनि हुँदैन । आफूलाई दलित पनि भन्नु हुँदैन । आरक्षण गर्नु हुँदैन । र, कडाभन्दा कडा कानुन बनाउनुपर्छ । हामीले कति कडा बनाउन सक्छौँ, त्यति कडा,” उनले भने, “छुवाछूत गर्नेलाई आजीवन काराबास । भेदभाव गर्नेलाई कम्तिमा १० वर्ष जेल सजाय र क्षतिपूर्तिबापत पैसा दिनुपर्ने कानुन बनाउनुपर्छ ।”

उनले उमेरको आधारमा पनि कसैलाई विभेद गर्नु नहुने भन्दै मान्छेले मान्छेलाई गर्ने सबै प्रकारको विभेदहरुको अन्त्य गर्नुपर्ने बताए ।