एमालेबाहेक वाम पार्टीहरू एकता गर्ने तयारी- रेशम र सीके समेत मिसिने - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

एमालेबाहेक वाम पार्टीहरू एकता गर्ने तयारी- रेशम र सीके समेत मिसिने



काठमाडौं- विभिन्न वामसमाजवादी दलले पार्टी एकताका लागि गृहकार्य थालेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम पूर्ण रूपमा सार्वजनिक भई संघीय र प्रदेश सरकार निर्माण भइसकेपछि पार्टी एकता संयोजन समिति गठन गरेर पार्टी एकताको कार्यलाई अन्तिम रूप दिने तयारीमा शीर्ष नेता जुटेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा), नेकपा राष्ट्रिय एकता अभियानका बीचमा पार्टी एकताका लागि गृहकार्य भएको हो । पार्टी एकतामा केही साना कम्युनिस्ट पार्टीसहित स्वतन्त्र समूहसमेत सहभागी हुँदै छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बुधबार बिहान पार्टी एकताको विषयमा छलफल भएको स्रोतले जनाएको छ । प्रचण्ड र नेपालबीच छलफल हुनुअघि नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच समेत पार्टी एकताबारे छलफल भएको थियो ।

‘स्थानीय तहको निर्वाचनपश्चात् नै हामीले पार्टी एकता संयोजन समिति गठन गरेर टुंगो लगाउनेबारे छलफल गरेका थियौं । अहिले निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिकपश्चात् सरकार गठन गरी पार्टी एकतालाई टुंगो लगाउने सहमति जुटेको छ,’ माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले भनेको छ । यसमा एमाले परित्याग गरेका घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरूको समेत सहभागीताबारे नेतासँग छलफल थालिएको बताइन्छ ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले सहमत हुने दलबीच पार्टी एकता हुने बताए । यसअघि छलफल भए पनि निर्वाचनमा जुटनुपर्ने भएकाले केही टुंगो लाग्न सकेन् । आउने दिनमा छलफल गर्दै सहमति जुट्ने दलबीच एकता गर्दै अगाडि बढ्न सकिने उनले बताए ।

एकीकृत समाजवादीका उपमहासचिव उपमहासचिव डा. गंगालाल तुलाधरले पार्टी एकताका लागि आफूहरूले निर्वाचनअघि नै निर्णय गरेको र माओवादीसहित अन्य दलले समेत निर्णय गरिसकेपछि बाँकी काम समेत आगाडि बढ्ने बताए ।

बृहत् गठबन्धनको गृहकार्य

माओवादी, एकीकृत समाजवादी, नेसपा, एकता अभियानबीच पार्टी एकताको गृहकार्यसँगै अन्य साना दलसँग समेत मिलाएर बृहत् गठबन्धनको तयारीसमेत सँगसँगै भइरहेको छ ।

त्यसका लागि शीर्ष नेताले जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीसँग छलफल थालेका छन् । अहिलेको पाँच दलीय गठबन्धनको सरकार निर्माणका लागि राउत र चौधरीसँग छलफल भएको हो ।

प्रदेश तथा संघीय सरकार गठन गरेर राउत र चौधरीको पार्टीलाई समेत सरकारमा सहभागी गराउनेबारे छलफल जारी छ । स्रोतका अनुसार राउत सत्ता गठबन्धनमा सहभागी हुन तयार छन् भने चौधरी केही सर्त पूरा हुनुपर्ने अडान राखेका छन् ।

सोही क्रममा चौधरीलाई फकाउन गठबन्धनका शीर्ष नेताहरू कारागार पुगेरै छलफल गरेका छन् । प्रचण्ड, नेपाल, भट्टराईले डिल्लीबजार कारागारमा रहेका चौधरीलाई पालैपालो भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

प्रचण्डले सोमबार, नेपालले मंगलबार बिहान र भट्टराईले मंगलबार दिउँसो चौधरीसँग भेटेर छलफल गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले समेत आफू निकट नेतालाई पठाएर चौधरीसँग छलफल गरेका छन् ।

भेटका क्रममा चौधरीले आफ्नो रिहाइ, झुठा मुद्दा फिर्तालगायतका माग पूरा हुनुपर्ने सर्त राखेका छन् । चौधरीसँग छलफल गरेका शीर्ष नेताले के विषयमा छलफल भएको हो भन्नेबारे खुलाएका छैनन् । उता उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारमा जाने नजानेबारे पार्टीले निर्णय नगरेको राजधानीमा समाचार छ।