यी हुन् कारबाहीमा परेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

यी हुन् कारबाहीमा परेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत



सिराहाको सिराहा नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव कारबाहीमा परेका छन् । नागरिकले माग गरेको सूचना उपलब्ध नगराएपछि उनलाई कारबाही गरिएको हो ।

राष्ट्रिय सूचना आयोगले प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही स्वरूप १५ हजार रुपैयाँ जरिवाना गरेको छ । सिराहा नगरपालिका-७ निवासी परशुराम साहले सिराहा नगरपालिका कार्यालयसँग सूचना माग गरेका थिए । तर सूचना नपाएपछि २३ जेठ २०७९ मा कार्यालय प्रमुखविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका थिए ।

आयोगले ताकेता गर्दा पनि उनले सूचना भने उपलब्ध गराएनन् । सूचना उपलब्ध गराउन पटक-पटक राष्ट्रिय सूचना आयोगबाट भएको आदेशलाई बेवास्ता गरेको भन्दै प्रशासकीय अधिकृत यादवलाई कारबाही गरिएको आयोगका प्रवक्ता रत्नप्रसाद मैनालीले जानकारी दिए ।

‘कार्यालय प्रमुखलाई पटक-पटक सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को दफा (१) बमोजिम कारबाही हुने व्यहोराबाट सजग गराउँदा, चेतावनी दिंदा पनि आफ्नो जिम्मेवारी पालनामा पूर्णतः गैरजिम्मेवार देखिएका छन्,’आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ संविधानप्रदत्त र कानूनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गर्ने सिराहा नगरपालिकाको कार्यालय, सिरहाका कार्यालय प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, बलिराम यादवलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम रु १५,०००/- जरिवाना हुने आयोगको २०७९ साल माघ १२ गते बसेको इजलाशले आदेश गरेको छ ।’

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ मा हरेक सरकारी तथा सारर्वजनिक नियकाबाट सार्वजनिक महत्वको सूचना पाउने प्रत्येक नेपाली नागरिकको मौलिक हक रहेको उल्लेख छ । तर मधेश प्रदेशम प्रदेशका मुख्यमन्त्री कार्यालयलगायत कुनै पनि सार्वजनिक निकायमा नागरिकलाई सहज रुपमा सूचना उपलब्ध नगराउने प्रवृति छ ।