ऐतिहासिक बैठक बस्ने भवनकाे यस्ताे छ पृष्ठभुमि - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

ऐतिहासिक बैठक बस्ने भवनकाे यस्ताे छ पृष्ठभुमि



आचार्य प्रदीप
बुटवल । वि.सं. २०१० सालमा पदमचन्द्र श्रेष्ठको अध्यक्षतामा बुटवल उद्योग वाणिज्य संघ गठन भयो । समिति त बन्यो तर कार्यालय कहाँ राख्ने भन्ने टुंगो थिएन । यहीबीचमा कार्यालय चलाउन संगम पथमा भवन बन्यो ।

भवन त बन्यो, तर बनेको भवन साँघुरो भएपछि संघले फराकिलो ठाउँ खोज्न थाल्यो भवनका लागि । बुटवल उपमहानगरपालिकासँग जग्गा माग गरेपछि नगरले खयरघारीमा जग्गाको भोगाधिकार दिन मन्त्रालयमा सिफारिश ग¥यो ।

अर्जुनमान सैजुको नेतृत्वको संघले २०५८ सालमा ५ कठ्ठा जग्गाको भोगाधिकार पायो । २०५९ साउन ६ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलन्यास गरे ।
उनै देउवा प्रधानमन्त्री भएको समयमा त्यही भवनमा प्रदेश सभाको एउटा महत्वपूर्ण बैठक बस्दैछ । २०६३ साल असोज २४ गते निर्माण सम्पन्न भएको सो भवनमा संसद् सचिवालय, सभामुख, उपसभामुखको कक्ष र राजनीतिक दलका लागि कार्यालय राखिएको छ भने संघको अर्को भवनमा प्रदेश सभाको पहिलो बैठक बस्दै छ ।
सरकारी टोलीलाई स्थानीय उद्योगी व्यवसायीले आवश्यक परे आफुहरुले भवन उपलब्ध गराउने बताएपछि विकल्पको खोजिएन ।
प्रदेश राजधानी रुपन्देही बनाउनको लागी पहल गरेको र आवश्यक सहयोग समेत गर्ने भनेको हुँदा सचिवालयलाई सो भवनमा राखिएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खेम बहादुर हमालले बताए ।
प्रदेश सचिवालयको रुपमा रहेको भवन निर्माणको लागि ३ करोडको लगानी लागेको भवन निर्माण समितिका अर्थ व्यवस्थापक अर्जुनमान सैजुले जानकारी दिए ।

प्रदेश सभा बैठक बस्ने भवन पनि उद्योग वाणिज्य संघकै हो । संघका तत्कालीन अध्यक्ष सुरेन्द्र श्रेष्ठको कार्यकालमा २०६९ असोज ८ गते शिलन्यास भएको संघका कार्यालय प्रमुख सञ्जय ज्ञवाली बताउँछन् ।
भवनको शिलन्यास मुख्य सचिव लिलामणि पौडेलले गरेका थिए भने भवनको उद्घाटन २०७१ साल असोज २७ गते तत्कालिन उपप्रधानमन्त्री प्रकाशमान सिंहले गरेका थिए । सो भवन निर्माणका लागी करिब २ करोड रुपैयाँ खर्च भएको छ ।

प्रदेश नम्बर ५ को प्रमुखको कार्यालयको लागि तोकिएको छ – रुपन्देही व्यापार संघको भवनलाई । टंक प्रसाद पोखरेलको कार्यकालमा ०६५ सालमा बुटवल नगरपालिकाको सिफारिशमा सरकारले भोगाधिकार दिएपछि २०६८ सालमा शिलन्यास गरेर २०७० सालमा भवन तयार भएको थियो ।
करिब २ करोड रुपैयाँ लागतमा तयार भएको भवन सरकारलाई आवश्यक परेपछि उपलब्ध गराएको रुपन्देही व्यापार संघ अध्यक्ष पदम बहादुर श्रेष्ठ बताउँछन् ।

क्षेत्रीय प्रशासकको संयोजकत्वमा २ महिना अगाडि आएको अध्ययन टोलीले बुटवलको उद्योग बाणिज्य संघ र रुपन्देही व्यापार संघको भवनमा संसद् बैठक र प्रदेश प्रमुखको कार्यालय बनाउन सकिने सिफारिश गरेको थियो ।
दुवै संघका अध्यक्षले राजधानी बुटवल भएमा भवन उपलब्ध गराउने सहमति अनुसार भवनमा कार्यालयहरु राखिएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीको भनाई छ ।

ती भवन कसरी प्रयोग गर्ने भन्ने अझै टुंगो लागेको छैन । सरकारले संघहरुलाई भाडा उपलब्ध गराउनेबारे अनौपचारिक छलफल भएपनि त्यसबारे टुंगो लगाइएको छैन ।

प्रदेश प्रमुख उमाकान्त झा भन्छन् पहिलो संसद् बैठक सम्मको लागी प्रशासनले तयारी गरेको छ । भाडाको बिषयमा कुरा भएको छैन् । पहिलो बैठक सम्पन्न हुँदा सम्म यस बिषयमा कुरा नहुने बताउँदै प्रदेश प्रमुख झाले भाडाको बिषयमा पहिलो बैठक पछि छलफल गरि टुङ्गोमा पुग्ने बताए ।