लज्जास्पद हारपछि बाहिरियो नेपाल - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

लज्जास्पद हारपछि बाहिरियो नेपाल



बीबीसी- बाङ्ग्लादेशसँग सोमवार आठ विकेटले हारेपछि नेपाल एसीसी इमर्जिङ टीम्स एशिया कप क्रिकेटबाट बाहिरिएको छ।

सोमवार टस हारेर ब्याटिङ गरेको नेपालले कमजोर प्रदर्शन गर्दै ४४.३ ओभरमा १३८ रन मात्रै बनाएको थियो।

आयोजक बाङ्ग्लादेशले २४ ओभरमा दुई विकेट गुमाएर लक्ष्य प्राप्त गरेको हो।

समूह ‘बी’मा रहेको नेपालले बिहीवार भारतसँग हारेको थियो भने शनिवार हङ्‍कङलाई हराएको थियो।

भारत, बाङ्ग्लादेश र पाकिस्तान प्रतियोगिताको सेमीफाइनलमा पुगेका छन्।

कमजोर ब्याटिङ

धेरैजस्तो खेलमा नेपाल ब्याटिङमा कमजोर देखिने गरेको छ र बाङ्ग्लादेशसँग पनि त्यो क्रम कायम रह्यो।

नेपालका ‌ओपनर ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले राम्रो थालनी गर्दै ३३ रन जोडेका थिए।

तर त्यसपछिका ब्याट्सम्यानहरूले राम्रो गर्न सकेनन्।

मल्लले २२ र भुर्तेलले १० रन बनाए पनि शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, पवन सर्राफ, सन्दीप जोरा र विनोद भण्डारीले दोहोरो अङ्कको रन बनाउन सकेनन्।

कामी र केसीको साझेदारी

आरिफ शेखले ११ बनाए। तर नेपालले २८ ओभरमै ८५ रनमै आठ विकेट गुमाएको थियो।

तर तल्लो क्रममा आएका सोमपाल कामी र करण केसीले नेपालको इनिङकै राम्रो साझेदारी गरेर ५० रन जोडेका थिए।

केसीले १८ र कामीले ३८ रन बनाएपछि नेपालले स्कोर १३८ पुगेको थियो।

बाङ्ग्लादेशको सहज विजय

अघिल्ला खेलहरूमा हङ्‍कङ र भारतलाई हराएको आयोजकलाई नेपालले दिएको लक्ष्य गाह्रो भएन।

बाङ्ग्लादेशका टेस्ट खेलाडी सौम्य सरकारलाई ११ रनमा केसीले आउट गर्नु नेपालको सफलता रह्यो।

सुसन भारीले अर्का ओपनर मोहम्मद नइमलाई ४५ रनमा आउट गरे। तर कप्तान नजमल सान्तो (५९) र यासिर अली चौधरी (१८) ले सहज रूपमा घरेलु टोलीलाई जिताए।