प्राथमिक स्वास्थ्य केन्द्रमा ६ महिना यता शल्यक्रियायुक्त प्रसुती सेवा अवरुद्ध - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

प्राथमिक स्वास्थ्य केन्द्रमा ६ महिना यता शल्यक्रियायुक्त प्रसुती सेवा अवरुद्ध



बागलुङ । प्राथमिक स्वास्थ्य केन्द्र, बुर्तिबाङमा विगत ६ महिना यता शल्यक्रियायुक्त प्रसुती सेवा सञ्चालनमा आउन नसक्दा सेवाग्राहीहरु समस्यामा परेका छन् ।

२ बर्ष अघिदेखि सुरु गरिएको उक्त सेवाको लागि आवश्यक जनशक्तिको अभाव भएपछि शल्यक्रियायुक्त प्रसुती सेवा सञ्चालनमा आउन नसकेको प्राथमिक स्वास्थ्य केन्द्रका डा. सुनिल जैसवालले बताउनुभयो । स्वास्थ्य केन्द्रबाट साधारण प्रसुति सेवा र जटिल प्रसुति सेवा निरन्तर रुपमा सञ्चालनमा आएपनि शल्यक्रिया नै गर्नुपर्ने प्रसुति सेवाको लागि आवश्यक पर्ने ३ जना जनशक्ती नभएको कारण सेवा सञ्चालनमा समस्या भएको डा. जैसवालको भनाई छ । शल्यक्रियायुक्त प्रसुति सेवाको लागि १ जना शल्यक्रिया गर्न सक्ने डाक्टर, १ जना शल्यक्रियापूर्व बेहोस बनाउने स्वास्थ्यकर्मी र १ जना अपरेसन कक्षको लागि छुट्टै स्टाफ नर्सको आवश्यकता पर्ने उहाँले बताउनुभयो ।

केही बर्ष करारका स्वास्थ्यकर्मीबाट प्रभावकारी रुपमा उक्त सेवा सञ्चालनमा आएको थियो । तर उनीहरुको करार अवधि सकिएपछि सेवा बन्द भएको हो । करार सकिएलगत्तै पहिलो विज्ञापन जारी गरेपनि कसैले आवेदन नदिएको र गत शु्क्रबार जिल्ला जनस्वास्थ्य कार्यालयबाट फेरी दोस्रो विज्ञापन जारी गरेको डा. जैसवालले बताउनुभयो । विज्ञापनको म्याद जारी भएको मितिले १५ दिनको रहने र विज्ञापनमा आवेदन दिएकाहरुबाट छनौट गरेर तत्कालै उक्त सेवाको लागि आवश्यक पर्ने जनशक्तिहरुको पुर्ति गरी सेवा पुन सञ्चालनमा ल्याइने उहाँको भनाई छ ।

अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा मासिक रुपमा ३० जनाको सफल डेलिभरी हुने स्वास्थ्य केन्द्रको तथ्याङ्क छ । तर शल्यक्रियायुक्त प्रसुती सेवा अवरुद्ध हुँदा महिनामा करिब ७ जना जति गर्भवती महिलालाई भने बाहिर रिफर गर्नुपरेको डा. जैसवालले बताउनुभयो ।

सुरक्षित प्रसुति सेवाप्रति आकर्षित गर्न सरकारले स्वास्थ्य संस्थामा नियमित जाँच गराउने र स्वास्थ्य सँस्थामै सुत्केरी हुने महिलाहरुको लागि भत्ताको व्यवस्था गरेपनि पश्चिम बागलुङमा भने यो संख्या न्यून रहेको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रमा करिब २५ देखि ३० जनासम्म महिलाले मात्र गर्भावस्थामा स्वास्थ्य जाँच गराउने गरेका छन् । सरकारले गर्भावस्थामा ४ पटकसम्म स्वास्थ्य जाँच गराउने महिलालाई ४ सय, स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलाको लागि यातायात खर्च १ हजार र शिशुको लागि न्यानो झोलाको व्यवस्था गर्ने गरेको छ ।

तर, उता स्वास्थ्य सम्बन्धीको ऐनले प्राथमिक स्वास्थ्य केन्दको लागि निर्धारण गरेको सेवा बाहेकका सेवाहरु पनि आफुहरुले प्रदान गर्दै आएको उहाँले बताउनुभयो । ऐनमा हप्तामा ४० घण्टा सेवा गरेपनि हुने व्यवस्था भएपनि स्वास्थ्य सेवा संवेदनशील हुने भएको कारण पश्चिम क्षेत्रका जनताको स्वास्थ्य सेवाको लागि आफुहरु २४ सै घण्टा तत्पर रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

डा. जैसवालले केन्द्रमा अहिले सरकारबाट निशुल्क प्रदान हुने औषधि र स्वास्थ्य सेवामा समस्या नभएको कारण निर्धक्क भई स्वास्थ्य सेवा लिन सर्वसाधारणलाई आग्रह गर्नुभयो ।