अनुसन्धानमा तानिए बादल र टोपबहादुर - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

अनुसन्धानमा तानिए बादल र टोपबहादुर



काठमाडौं- नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनमा करोडौँ ठगी गरेको प्रकरणमा उच्च पदस्थमाथि छानबिन अघि बढेको छ । यसमा पूर्वमन्त्रीहरूको पनि संलग्नता भएको देखिएकाले प्रहरीले गोप्य अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेकाहरूलेले उठाएको पैसा गृह मन्त्रालयका तत्कालिन अधिकारीलाई बुझाएको बयान दिएका छन् । उनीहरूको बयानले पनि यसमा पूर्वमन्त्रीहरूको संलग्नता रहेको तर्फ संकेत गरेको छ । एक उच्च प्रहरी स्रोतले दिएको जानकारी अनुसार यस प्रकरणमा पूर्वमन्त्रीहरू रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीमाथि पनि अनुसन्धान भैरहेको बुझिएको छ ।

पक्राउ परेका पाँचमध्ये सानु भन्डारीले तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा.इन्द्रजित राईलाई पैसा बुझाएको बयान दिएका छन् । एक होटलमा भेटेर आफुले पैसा बुझाएको उनको लिखित बयान छ । तर, राईमाथि भने छानबिन हुन सकेको छैन ।

जिल्ला प्रहरी परिसर, स्रोतका अनुसार राईलाई करोडौं बुझाएको भन्डारीको दाबी छ । ‘एक होटलमा भेटेरै पैसा बुझाएको उनले बताएका छन्,’ परिसरका एक अधिकारीले भने,‘त्यो होटललाई पत्राचार गरी हामीले त्यसबेलाको सिसिटिभी फुटेज मगाएका छौं ।’ तर, राईमाथि सो विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छैन । तीन वर्षअघिको सिसिक्यामेरा फुटेज पाउने सम्भावना पनि न्यून छ । सकेसम्म उनलाई जोगाउने नत्र फरार बनाएर मुद्दा चलाउने प्रहरी रणनीति छ ।

यसरी राईलाई पैसा बुझाएको बताउने भन्डारी उनै व्यक्ति हुन् जसका साथी गणेशबहादुर केसी गृह मन्त्रालयले गठन गरेको कार्यदलको सदस्य थिए । विज्ञका रुपमा उनलाई सो कार्यदलमा राखिएको थियो । जबकी उनको यो विषयमा कुनै अनुभव थिएन । पूर्व सहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा गठन भएको सोही कार्यदलको प्रतिवेदनमै नाम थपेर अमेरिका पठाउने भन्दै करिब नौ सय जनाबाट करिब एक अर्ब ठगी भएको थियो । जसमा एक सय ५० भन्दा धेरै पीडितले उजुरी दिइसकेका छन् ।

डा. राई गृह मन्त्रालयमै कार्यरत रहेको बेला सो कार्यदल गठन भएको थियो । प्रमाणीकरणमा छुटेका शरणार्थीको समस्या समाधानका लागि भन्दै कार्यदल गठन भएको थियो । जून कार्यदलकै औचित्यमाथि नै प्रश्न उठेको थियो । पक्राउ परेकाहरुले डा.राईका छोरा निरजले पनि आफुहरूलाई सघाउँदै आएको बताएका छन् । यसमा तत्कालिन गृहमन्त्री बादल उनका छोरा पनि मुछिएका छन् ।

पक्राउ परेकाहरुले शरणार्थीको रुपमा अमेरिका पठाउने भन्दै न्यूनतम १० लाख उठाएका थिए । त्यसमध्ये धेरै पैसा नेता र गृहका उच्च पदस्थलाई बुझाएको भन्दै फिर्ता गर्न नसक्ने प्रहरीको सोधपुछमा बताएका थिए । तर, बयानमा सो कुरा रोक्न त्यसबेला सघाउनेहरु सक्रिय छन् ।

यो ठगी मुद्दामा प्रहरीले सुरुमै संगठित अपराध ऐन अन्र्तगत अनुसन्धान गर्न सिफारिस गरेपनि सरकारी वकिलले अस्वीकार गरेको थियो । गत साता अर्का अभियुक्त सन्देष शर्मा पक्राउ परेको र उजुरी पनि थपिएपछि बल्ल मुद्दालाई संगठित अपराधतर्फ पनि अनुसन्धान अघि बढेको छ । संगठित अपराधमा प्रहरीले ६० दिनसम्म थुनामा राख्न सक्छ भने सजाय पनि ५० प्रतिशत थप हुन्छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराज रिजाल सो मुद्दामा संगठित अपराध अन्र्तगत अनुसन्धान अघि बढेको बताउँछन् । तर, अनुसन्धानको भित्री विषय जानकारी नभएको बताउँछन् । हालसम्म प्रहरीले मोरङका केशव दुलाल र सागर राई, दाङका सन्देश शर्मा, ललितपुरका सानु भण्डारी र पाँचथरका टंककुमार गुरुङलाई पक्राउ गरिसकेको छ । जसमध्ये दुलाल, भन्डारी र शर्मा प्रमुख हुन् । दुलालले पनि प्रारम्भिक सोधपुछमा आफुहरुले उच्च पदस्थलाई पैसा बुझाएको बताएपनि पछि लिखित बयानमा भने अरुको नाम लिएका छैनन् । उच्च पदस्थलाई जोगाउन प्रहरीमाथि समेत दबाब दिइएको छ ।

एजेन्टहरुले तत्कालिन गृहसचिव लगायत कर्मचारीले समेत आफुलाई सघाएको बताएका छन् । गोप्य रिपोर्ट नै उनीहरुले हात पारेर त्यसमा नाम थपी ठगी गरेका थिए ।