सङ्कटमा गृहमन्त्री बादल: चौतर्फी बिरोध - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

सङ्कटमा गृहमन्त्री बादल: चौतर्फी बिरोध



काठमाडौंं । गृहमन्त्री रामबहादुर थापाले विगतमा संसद्मा प्रस्तुत गरेका आश्वासन पूरा नगरेको भन्दै संसदीय समितिहरूले विरोध गरेका छन् ।

सरकारको तर्फबाट शान्ति सुरक्षाका लागि भएको आश्वासन आश्वासनमै सीमित भएको भन्दै राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सांसदले आपत्ति जनाएका हुन् ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना विषयमा सरकारले अपराधि समात्न नसकेको भन्दै सांसदहरूले गृहमन्त्रीको आलोचना गरे ।

राष्ट्रियसभा सांसद चन्द्रबहादुर खड्काले निर्मला हत्या विषयमा सरकारले अपराधिलाई उम्काउने काम गरेको भन्दै सम्भावित दोषीलाई कानुनी कारबाही दायरामा ल्याउनुपर्ने बताए ।

लगत्तै गृहमन्त्री थापाले बलत्कारपछि हत्याको अपराधी उम्किन नपाउने र अनुन्धान जारी रहेको बताए । ‘अपराधी कुनै पनि हालतमा उम्किँदैन,’ उनले भने, ‘अनुसन्धानमा गैरव्यावसायिक कार्य गर्ने प्रहरी निगरानीमा छन् ।’

कतिपय घटना अनुसन्धान जटिल हुने बताउँदै गृहमन्त्री थापाले दुर्भाग्यवश घटना भएको र अपराधी तत्काल पत्ता लगाउन नसकिएको बताए । उनले कतिपय कुरा अनुसन्धानक्रममै रहेकाले सार्वजनिक गर्न नमिल्ने तर्क पनि गरे ।

एक वर्षमा विभिन्न समितिले घटना अनुसन्धान गरेको बताउँदै सफल अनुसन्धानका लागि प्रहरीलाई आवश्यक परिचालन र निर्देशन दिइएको उनले बताए । ‘सयौं व्याक्तिलाई अनुसन्धान घेरामा राखेका छौं,’ उनले भने, ‘नयाँ सूत्रबाट अनुसन्धान अगाडि बढेको छ ।’

अपराध अनुसन्धान गर्ने विभिन्न तरिका हुने बताउँदै उनले दीलिप विष्टलगायतका व्यक्ति डिएनए नमिलेकाले छुटेको बताए । पछिल्लो समय यसबारे सार्वजनिक बहस भइरहेको र त्यसबाट अनुसन्धानलाई सहयोग नै पुग्ने उनको विश्वास छ ।

यसैगरी, गृहमन्त्री थापाले सांसद निरुदेवी पाललाई पेस्तोल तेस्र्याउनेको ‘स्केच’ बनिसकेको जानकारी दिए । ‘सांसद पालले दिएको हुलियाका आधारमा स्केच बनिसक्यो । प्रहरीले अपराधी खोज्दैछ,’ उनले भने ।

गत वर्ष १५ साउन बेलुका नेकपा सांसद निरुदेवी पाललाई अज्ञात समूहले पेस्तोल देखाएको उनले जानकारी गराएकी थिइन् । घटना सम्बन्धमा प्रहरीका विभिन्न निकायसँगै महानगरीय प्रहरी परिसर काठमाडौंंले पनि अनुसन्धान गरेको थियो ।

तत्कालीन एसएसपी विश्वराज पोखरेलले परिसरका तत्कालीन एसपी रामदत्त जोशीको संयोजकत्वमा तीन सदस्यीय अनुसन्धान टोली गठन गरेका थिए । पोखरेल हाल डीर्आइजी र जोशी एसएसपी छन् ।

कोठाबाट दूध किन्न जाँदा आफूमाथि पेस्तोल तेस्र्याएर अज्ञात व्यक्तिले मोबाइलसमेत खोसेर लगेको सांसद पालले भोलिपल्टमात्र संसद्ीय समितिमा खुलासा गरेकी थिइन् ।

‘म दूध किन्न बजार गएकी थिएँ । घर फर्कंदा अपरिचित व्यक्तिले बाटो छेके र मेरो कञ्चटमा पेस्तोल तेस्र्याउँदै भोलिको बैठकमा नजानू । गए ‘तेरो बाउ खड्गे’ले पनि तँलाई जोगाउन सक्दैन भन्दै मेरो मोबाइल पनि लग्यो,’ उनले संसद्मा भनेकी थिइन् ।

घटना भएको राति भने उनले प्रहरीलाई खबर गरेकी थिइनन् । घटना सम्बन्धमा अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । सांसद पालले समेत पछिल्लो दिन ‘पेस्तोल ताक्ने व्यक्तिको खोजबिन कहाँ पुग्यो ?’ भनेर चासो नदिएको प्रहरी स्रोत बताउँछ ।

त्यस्तै, गृहमन्त्री थापाले कार्यसम्पादनमा कमजोर प्रहरी कर्मचारीको निगरानी भइरहेको जानकारी गराए । उनले व्यवसायिकता प्रदर्शन नगर्ने र कमजोर कार्यसम्पादन भएका प्रहरी कर्मचारीको गृह मन्त्रालयले निगरानी गरिरहेको बताएका हुन् ।

‘उच्च कार्यसम्पादनस्तर भएका सुरक्षाकर्मीको मनोबल उच्च बनाई अपराध अनुसन्धामा व्यवसायिकता प्रदर्शन गर्दै लगिएको छ,’ थापाले भने । समिति बैठकमा सांसदहरूले निर्मला पन्त प्रकरणमा ‘प्रहरी कहाँ अलमलियो ?’ भनी प्रश्न गरेका थिए ।