जातिवादी होइन, मानवतावादी भएर सोचौं : संयोजक भट्टराई - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

जातिवादी होइन, मानवतावादी भएर सोचौं : संयोजक भट्टराई



भरतपुर । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले देशको समृद्धिको यात्रामा अग्रसर हुन जातिवादी नभई मानवतावादी भएर सोच्न आग्रह गरेका छन् ।

यो मुलुकमा समावेशी, समानुपातिक लोकतन्त्र नै समुन्नत समाजवादको आधार भएकोले विभेद र असमानताको अन्त्य गर्न केही समयको लागि समावेशितालाई सम्बोधन गर्न क्लस्टरको अवधारणा ल्याइएको बताए ।

उनले बिहीबार भरतपुरमा नयाँ शक्ति पार्टीको प्रदेश ३ को विस्तारित बैठकलाई सम्बोधन गर्दै उत्पीडित र उत्पीडक दुवैथरी प्रवृत्ति जातिवादी प्रवृत्ति भएको बताउँदै मुलुकको जातिय, भाषिक, सांस्कृतिक विविधताको सम्मान गर्दै उत्पीडनको अन्त्य गर्न सबैले मानवतावादी भएर सोच्नुपर्ने आवश्यकता औंल्याए ।

उनले लोकतन्त्रको समृद्धिकरण गर्दै समुन्नत समाजवादमा पुग्नुपर्ने बताउँदै लोकतन्त्रको समृद्धिकरणका लागि वैकल्पिक राजनीतिको अपरिहार्यतामाथि प्रकाश पारे । उनले आजको सत्यको रुपमा उदाएको वैकल्पिक राजनीतिलाई कार्यान्वयन गर्नकै लागि नयाँ शक्ति पार्टीको जन्म भएकोमा जोड दिए ।

संयोजक भट्टराईले पार्टीभित्रको पदीय जिम्मेवारी कुनै मानमर्यादाको विषय नभएको र नयाँ शक्तिले समतलीय संगठनात्मक प्रणालीको अभ्यास गरेको भन्दै एक व्यक्तिले दुई कार्यकाल मात्र कार्यकारी भूमिकामा रहने व्यवस्था गरिने बताए । उनले पार्टी निर्माणका लागि नैतिक उत्प्रेरणा र उत्पादन तथा स्वरोजगारमुखी क्रियाकलापमा सरिक हुन सबै पार्टी अभियन्ताहरुलाई आग्रह गरे ।

बैठकमा प्रदेश ३ का १३ वटा जिल्लाको कार्यप्रगति विवरण प्रस्तुत गरिएको थियो । बैठकले ९९ सदस्यीय प्रदेश अधिवेशन आयोजक समिति गठन गरेको छ । जसमध्ये १५ सदस्यीय संरक्षक परिषद्, ९ सदस्यीय विज्ञ परिषद र ७५ सदस्यीय कार्यकारी परिषद्सहितको समतलीय संरचना निर्माण गरेको छ ।
त्यस्तै बैठकले काठमाडौं र मकवानपुरको जिल्ला संयोजक परिवर्तन गर्दै मानुषि यमी भट्टराईलाई काठमाडौं र जीवनमान मोक्तानलाई मकवानपुर जिल्लाको संयोजकको जिम्मेवारी दिएको छ ।

बैठकले १७ वटा विभाग गठन गरेको छ । जसमध्ये संगठन विभागमा सोनाम सिंह स्याङतान, प्रशिक्षण विभागमा परिवर्तन भट्टराई, सूचना सञ्चार विभागमा सुदर्शन खतिवडा, संंसदीय मामिला विभागमा अकल बहादुर थिन, आंगिक तथा पेशागत संगठन फ्याक्सन इन्चार्जहरुको संयोजकमा बन्दना सुवेदीलाई विभागीय प्रमुखको जिम्मेवारी दिइएको प्रदेश ३ का इन्चार्ज गंगा नारायण श्रेष्ठले जानकारी दिए ।