क्रोएसियालाई हराउन कस्तो छ अर्जेन्टिनाको रणनीति ? - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

क्रोएसियालाई हराउन कस्तो छ अर्जेन्टिनाको रणनीति ?



एजेन्सी – फिफा विश्वकप कतार २०२२ को पहिलो सेमिफाइनलमा अर्जेन्टिनाको ध्यान क्रोएसियालाई कसरी हराउनेमा नै रहेको प्रशिक्षक लिओनेल स्कालोनीले बताएका छन् ।

उपाधिको बलियो दावेदारको रुपमा रहेको अर्जेन्टिनालाई फाइनल पुग्ने पक्काजस्तै मानिएको छ । तर स्कालोनीले क्रोएसियासँगको खेल कठिन हुने बताए । ‘हामी निकै कठिन खेल हुने अपेक्षा गरिरहेका छौं । क्रोएसिया निकै राम्रो टोली हो । उनीहरु एकतावद्ध भएर विपक्षीलाई चुनौती दिन सक्छन्,’ उनले भने ।

गत संस्करणमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले पराजित गरेको थियो । यसपटक भने दुई टोलीलाई दाँज्न नमिल्ने प्रशिक्षक स्कालोनीले बताए । ‘हामीले पछिल्लो संस्करणको टोलीसँग दाँज्नु राम्रो हुँदैन । तर उनीहरुको स्तर निकै राम्रो छ र खेल प्रतिस्पर्धात्मक हुनेछ,’ उनले थपे ।

नेदरल्यान्ड्स र अर्जेन्टिनाबीच भएको क्वाटरफाइनल खेल विवादबाट टाढा रहन सकेन । दुई टोलीका खेलाडी एक आपसमा झगडामै पनि उत्रिए । स्कालोनीले कहिलेकाहीँ खेलमा यस्तो अवस्था आउने बताए ।

‘पछिल्लो खेलमा हामीले त्यसरी नै प्रस्तुत हुनुपर्यो । दुवै टोलीको एउटै रुप देख्यौं । कहिलेकाहीँ यस्तो हुन्छ । रेफ्री त्यसैले पनि राखिएको हो । हामीले अर्जेन्टिना राम्रोसँग जित्न सक्दैन भन्न मिल्दैन, उदाहरणका लागि गत वर्षको कोपा अमेरिका नै हेर्नुहोस्,’ उनले सुनाए ।

सेमिफाइनलमा टोलीको आशाबारे स्कालोनीले खुलेर आफ्नो धारणा राखे । ‘सबै अर्जेन्टिनी समर्थक आशावादी छन् । हामी आफ्नो समर्थकका लागि खेल्छौं । यो स्थानमा आइपुग्न कति कठिन छ भने हामीले बुझेका छौं । हामीबाट के आशा गरिएको छ भन्ने पनि थाहा छ,’ उनले थपे ।

‘हामी आफ्नो खेल्ने योजना बदल्ने छैनौं । भाग्य तपाईंको साथमा नरहन पनि सक्छ । सधैं राम्रो टोलीले नै जित्छ भन्ने पनि हुँदैन ।’

‘पुरै देशले हाम्रो बाटो हेरिरहेको छ र यात्रा अझै बाँकी छ । हाम्रो ध्यान भोलिको खेलमा छ र त्यो सहज हुने छैन ।’