२०७६ जेष्ठ १३, सोमवार

कथा : सत्य

May 9, 2019
371 Views
1 Comments

– अर्चना थापा

मार्च ९, २०१४…

रातभरि झमझम पानीमा रूझेकी मिर्मिरे बिहानी हुस्सुको बाक्लो बर्को ओढेर ढोकामा आइपुगेकी थिइन्। ओछ्यान छाड्न अल्छी लागे पनि एक कप चिया र समाचारपत्रले बिहानीको स्वागत गरेँ।

अचानक मुख्यपृष्ठको समाचारले मुटु हल्लायो। आङ सिरिङ्ग गरायो।

क्वालालम्पुरबाट बेजिङका लागि उडेको मलेसिया एयरलाइन्सको विमान
उडान न.एम.एच. ३७०,२३९ यात्रुसहित बेपत्ता !  

समाचार पढ्दासम्म मुटु हल्लिरह्यो।

विमान हराएको समाचारले एक वर्षअघिको घटना सम्झायो। कहिल्यै बिर्सन नसक्ने आगन्तुकको अनुहार आँखाअगाडि झल्झली आयो र उसले भनेका कुरा कानमा गुञ्जिन थाले….

विश्वका सबै घटना ‘सिन्क्रोन्सिटी’[1] को परिणाम हुन्। विश्वको एउटा कुनामा घटेका स–साना घटनाले विश्वको अर्को कुनामा बस्ने मानिसको जीवनलाई प्रत्यक्ष प्रभाव पार्न सक्छ। नेपालमा घटित हुने घटनाहरूको प्रत्यक्ष सम्बन्ध विश्वका अन्य घटनासित हुन सक्छ। खुम्बु क्षेत्रको फेरिचेमा ४५८० मिटर उचाइमा तपाईँसित भेट हुनु कुनै संयोग होइन। हुन त संयोग शब्द आफैँमा अर्थहीन छ। अतीत, वर्तमान र भविष्यका घटनाहरू संयोगले घटित हुँदैनन्। तर पनि सिन्क्रोन्सिटीको सम्भावनालाई पूर्णतः नकार्न मिल्दैन।

त्यो अपरिचितले भनेका कुरामा कति सत्यता थियो ? के बेपत्ता भएको विमान र त्यो अपरिचितले भनेको कुरामा कुनै सम्बन्ध छ होला ? यदि उसको कुरा सत्य हो भने बेपत्ता विमानको सम्बन्ध कुन घटनासित जोडिएको होला ?

मेरो कुतूहलताको भुँमरीले तेह्र महिनाअघि फेरिचेमा भेटेको त्यो रहस्यमय अपिरिचितसितको भेटलाई स्मरण गरायो।

फेब्रुअरी ४, २०१३…

बजिरहेको फोन उठाउँदा शर्लीको मिठो स्वर सुनियो।

‘यो आउने शनिबार तिमी के गर्दै छौ ? जेजस्तो काम भए पनि क्यान्सिल गर। तिम्रो शनिबार मेरो लागि राख है।’

मेरो कुनै विशेष कार्यक्रम थिएन। मलाई शर्लीको सङ्गत रमाइलो लाग्थ्यो। अङ्ग्रेजीमा सोधेको प्रश्नको उत्तर मैले पनि अङ्ग्रेजीमा नै दिएँ।

‘मेरो त केही छैन। तिमी भन, के प्लान छ ?’

‘शनिबार बिहानै औषधी पुऱ्याउन खुम्बु जाँदै छु। फेरिचेमाथि अस्थायी हेल्थपोस्ट राखिँदै छ। बिहान हेलिकप्टरमा जाने र साँझ फर्किने प्लान छ। म एक्लै छु तिमी पनि मसँगै हिँड्यौ भने मलाई साथी पनि हुन्छ र तिम्रो घुमाइ पनि हुन्छ।’

शर्लीले भनेपछि ‘हुन्छ जान्छु’ भनेर फोन राखेँ।

फेरिचे जाने निश्चित भयो।

अमेरिकी नागरिक शर्ली लिबरम्यान पाटन अस्पतालमा स्वयम्‌सेवक डाक्टर थिइन्। रेडियो तालिमको सिलसिलामा दुई वर्षअघि म वासिङ्टन डिसी पुगेकी थिएँ। त्यहीँ शर्लीसित चिनजान भएको थियो।

त्यस्तै एउटा कार्यक्रममा चर्काचर्की हुँदै जाँदा डा. शर्लीको नेपाल विशेषज्ञ दम्भको प्रत्यक्षदर्शी बनेँ म। नेपालसित सम्बन्धित सबै विषयमा धुवाँदार सल्लाह दिने शर्ली लिबरम्यानलाई नेपालसम्बन्धी ‘स्वघोषित जानिफकार’ भन्दा अतिशयोक्ति नहोला।

अरू धेरै कुरामा विमति रहे तापनि दुइटा कुरामा हाम्रो सर्वकालीन सहमति रह्यो।

पहिलो कुरा, मःमः संसारको सबैभन्दा स्वादिष्ट परिकार हो।

दोस्रो कुरा, विकसित देशका नेताहरू पनि भ्रष्ट हुँदा रहेछन्।

मभन्दा निकै अग्ली र आठ वर्षले जेठी शर्ली रिपब्लिकनलाई भोट हाल्थी र पाटन अस्पतालमा एक वर्षका लागि काम गर्न काठमाडौँ आएकी थिई।

छुट्टीको दिन शर्ली प्रायजसो मेरै घरमा हुन्थी। म उसको सङ्गतमा नयाँ पुस्तक र उसले जानेका, बुझेका कुरा सिक्ने दाउमा हुन्थेँ। ऊ मलाई आफ्नी बहिनी मान्थी। परेको बेला हप्काउन पछि पर्दिनथी। मैले उसलाई दिदीको दर्जा नदिए पनि ऊ मेरी दिदी हुने हक जताउँथी।

कसैले नसोधे पनि उसको उत्तर तयार हुन्थ्यो, ‘म अलकाको डिडी हो।’

आँखाका भाव पढ्न पोख्त थिई ऊ। बिरामीसित संवाद गर्न भाषाभन्दा पनि आँखाको भाका नै पर्याप्त उसका लागि।

उसलाई फेरिचे जान्छु त भनेँ। ठाउँबारे केही जानकारी थिएन।

‘शनिबार बिहान सात बजे तयार भएर बस्नू। न्यानो लुगा लगाउनू है। गए राति पनि धेरै हिउँ पऱ्यो रे। तिम्रा लागि म आफ्नो डाउन ज्याकेट बोकेर आउँछु। हामी साँझ पर्नुअघि काठमाडौँ फर्की सक्छौँ। तिमीलाई लेक त लाग्दैन ? म औषधी पनि बोक्छु।’

कहिले पहाड नचढेकी म खाल्टोकी भ्यागुतीलाई लेकबारे के थाहा ? के हो लेक ? लाग्छ कि लाग्दैन ? घुम्‍न फुरूङ्ग हुने मनलाई घाम, पानी, धुवाँ, धुलो केहीले बाधा नपुऱ्याओस् भन्ने मात्रै थियो।

फेब्रुअरी ९, २०१३… बल्ल बल्ल शनिबार आयो।

शर्लीकै गाडीमा विमानस्थल पुगेँ। तर एयरपोर्टको आन्तरिक उडानकक्ष भित्र पुगेपछि थाहा भयो बाक्लो कुहिरोले गर्दा सबै उडानहरू रोकिएका रहेछन्। अनिश्चितकालीन ढिलाइले दिनुसम्म सास्ती दियो त्यो बिहान। पूरा तीन घण्टासम्म कुऱ्यौँ।

‘आज फेरिचे पुग्‍न सकिन्छजस्तो छाँटकाँट छैन।’

बाक्लो कुहिरोभित्र हराएको आकाश देखेर हेलिकप्टर पाइलट ग्रिगोर सैगर निराश थियो।

‘होइन, हामी आज जसरी पनि पुग्‍नुपर्छ। भोलि हेलिकप्टरको अर्को चार्टर छ होला। फेरिचेमा पर्यटकीय मौसम सुरु हुने बेला हुन लाग्यो। बेस क्याम्प जाने पर्वतारोहीहरूको घुइँचो बढ्छ। त्यहाँका स्थानीयवासीलाई पनि औषधी चाहिन्छ। औषधी आजै पुग्‍नुपर्छ।’

तीन घण्टाको पट्यारलाग्दो कुराइमा शर्लीले तीन सय पटक ‘आज फेरिचे पुग्‍नै पर्छ’ भन्ने दृढता व्यक्त गरेकी थिई। सबै उडान अवरूद्ध भएकाले विमानस्थलको आन्तरिक टर्मिनल टुँडिखेलमा परिवर्तित भइसकेको थियो।

‘लेडिज एन्ड जेन्टलम्यान, ध्यान दिनुहोला ! आकाश सफा हुँदैछ। बुद्ध एयरबाट लुक्ला जाने सबै महानुभावहरूलाई गेट नम्बर दुईअगाडि आउन अनुरोध गर्दछौँ।’

बुद्ध एयरको उडान उद्घोषण सुन्ने बित्तिकै शर्लीको अनुहार फक्रिनु स्वाभाविक थियो। सबैका अनुहार खुसी देखिएका थिए।

फेरिचे पुग्‍न आतुर हामी हेलिकप्टरभित्र बस्यौँ। पेटी कसेर उडानका लागि तयार भयौँ।

ट्विनअटरहरू रनवेमा लाम लागेर बसेका थिए। टावरको अनुमति पाएर एकपछि अर्को गर्दै भँगेरी उडान भर्न थाले। एउटा मात्र रनवे भएको कारण एकभन्दा बढी जहाजलाई उडान भर्ने स्वीकृति थिएन। झन् विदेशबाट आउने बोइङहरू पनि ल्यान्डिङको पालो कुरेर आकाशमा घुम्दै थिए। लामो पर्खाइमा परेको ग्रिगोर सैगर टावरको अनुमति नपाएकाले रिसले मुर्मुरिँदै थियो।

गिग्रोरको गोरो गाला रन्केर सारङ्कोटबाट देखिने सनराइजजस्तै देखिन थालेको थियो !

बल्ल टावरले हेलिकप्टरलाई उड्ने स्वीकृति दियो। काठमाडौँ सानो…सानो… झन् सानो… हुँदै आँखाबाट टाढियो।

शर्लीले मलाई फेरिचे र त्यहाँ रहेको सानो अस्थायी हेल्थपोस्टबारे सङ्क्षिप्त जानकारी दिइसकेकी थिई। त्यहाँ पुग्‍नुभन्दा अघि नै मैले हिउँ ओढेका पहाड र गाउँबस्तीबारे सुनिसकेकी थिएँ।

तर त्यहाँ पुगेपछि शर्लीले बयान गरेको फेरिचे र आफ्नो आँखाले देखेको फेरिचेमा फरक पाएँ।

हिउँवर्षाको कारण हेलिकप्टरबाट तल हेर्दा सेताम्य शोकाकुल प्रकृतिले कसैलाई श्रद्धाञ्जली दिएजस्तो लाग्यो। जता हेऱ्यो टलक्क टल्केका चाँदीका जाज्वल्यमान टाकुरा र टाकुरालाई झन् टल्काउन उद्दत आदित्यकिरण। एकछिन हिउँको उज्यालोले दृष्टिहीन बनायो। हिउँ वर्णन सुनेर आह्लादित भएको मन हिउँमा पुरिएको पहाड, घर, माटो, ढुङ्गा देखेर कठाङ्ग्रियो।

हेल्थपोस्टअगाडि हेलिकप्टर ओर्लियो। पोस्टका सहायक नोर्बु र शर्ली मिलेर औषधीका कार्डबोर्ड बाकसहरू स्टोरमा थन्काउन थाले। ढुङ्गा, काठ र माटोले बनेको चिटिक्क परेको पुतलीघरजस्तै थियो हेल्थपोस्ट। दुईटा कोठा र सानो ट्वाइलेट। सानो कोठालाई स्टोर बनाएर औषधी र खत्र्याकखुत्रुक सामान राख्‍न प्रयोग गरिएको थियो। बाहिरको ठूलो कोठा बिरामी जाँच्‍ने कोठा रहेछ। नोर्बुले कोठाभित्र दाउरा बालेर ठूलो कोठा न्यानो पारेको थियो।

‘तल्लो गाउँमा एउटा सुत्केरी बिरामी छ। हिजो जन्मेको बच्चा र सुत्केरी दुवैको हालत ठीक छैन। डाक्टर साब’ले एकपल्ट गएर हेरिदिनुहुन्छ कि ?’

नोर्बुको अनुरोधलाई शर्लीले सहर्ष स्विकारी।

‘हामी उज्यालै हुँदा काठमाडौँ फर्केको राम्रो। साँझ बेस्सरी हावा चल्न थाल्छ। उड्न गाह्रो हुन्छ। फेरि मौसम बिग्रियो भने हामी आज काठमाडौँ फर्किन सक्दैनौँ।’ पङ्खे चिलगाडी सारथी गिग्रोर आफ्नो कुरा भनेर तल्लो गाउँतिर लोकल कुखुराको झोल र ढिँडो खान हतारिँदै थियो।

मलाई लेक नलागेको देखेर शर्ली निश्चिन्त भएकी थिई। मलाई ऊसित गाउँ झर्न मन लागेन। त्यसै पनि हिँउलोकको मुटु जमाउने चिसो स्याँठ र भुईँमा पानी जमेर बनेको पारदर्शी बरफजस्तो ‘आइस’मा हिँड्न डर लाग्यो। वासिङ्टन डिसीको हिउँ अनुभवले सिकाएको थियो– कपासजस्तो हिउँभन्दा ‘ग्लेज आइस’[2] डरलाग्दो हुन्छ। डराएँ म। गाउँतिर झर्ने माया मारेँ र हेल्थपोस्टभित्रको न्यानोमा बस्ने विचार गरेँ।

शर्ली हेल्थपोस्टमा मलाई एक्लै छाडेर जान मानेकी थिइन। तर एकान्तमा मेरो साथ दिन मसँग उपन्यास थियो। काठमाडौँबाट ल्याएको स्याउ, चिप्स र बिस्कुट थियो। दाउराको आगोमाथि सिल्भरको कित्लीमा उम्लिँदै गरेको पानी थियो। चिया कफी बनाउने सरदम थियो। पुगीसरी भयो मलाई।

‘तिमी नआत्तिनू। हामी छिट्टै फर्किन्छौँ।’ हिउँबुट लगाएकी शर्ली हिउँमा ‘गऱ्याम गऱ्याम’ हिँड्दै भिरालो बाटोमा नोर्बुलाई पछ्याउँदै गई।

शर्ली र नोर्बु तल्लो गाउँतिर लागेपछि मलाई एक्लै देखेर हेल्थपोस्टको कोठाले तर्सायो एकछिन। उपन्यास पढ्न थालेँ। केही छिनपछि एक्लै छु भन्ने आभास पनि रहेन।

एकछिनपछि झ्यालबाहिर केही सल्बलाएजस्तो लाग्यो ! झ्यालबाहिर केही हल्लिएको जस्तो लाग्यो। जीउ सिरिङ्ग भयो।

बाहिर चिहाएँ। स्थानीय पहिरनमा दाह्री, जुँगाले अनुहार छोपेको मानिस थररर… काम्दै झ्याल नजिकै डल्लो भएर टुसुक्क बसेको थियो। केही नसोची ढोका उघारेँ।

‘के भयो तपाईँलाई ? बिरामी हो तपाईँ ?’

बाक्लो ऊनको माक्कल टोपी लगाए पनि थररर कामेको थियो उसको टाउको। हिउँमा पुरिएको मानिसको भर्खरै उद्धार गरिएको जस्तो देखिन्थ्यो उसको हिउँआच्छादित पहिरन। फोस्रो खोपिल्टो परेको अनुहार। चिमचिम गरेको आँखाले मलाई हेऱ्यो उसले।

‘हाइपोथरमिया[3]को औषधी छ ?’ थररर काम्दै अङ्ग्रेजीमा सोध्यो।

ओहो ! विदेशी पो रहेछ। बिरामी रहेछ। ‘भित्र आउनुस्’ भनेर निम्त्याएँ।

ऊ सकी नसकी उठ्यो र कुप्रो परेको जीउलाई लौरोको सहायताले थाम्यो। खुट्टा घिसार्दै हेल्थपोस्टभित्र पस्यो। दाउराको आगोलाई छेलेर अलि टाढा ओछ्याएको राडीमाथि टुसुक्क बस्यो।

उसले अङ्ग्रेजीमा भन्यो, ‘मलाई हाइपोथरमियाको औषधी चाहिएको छ। यहाँ हेलिकप्टर ओर्लेको देखेर काठमाडौँबाट औषधी ल्याएको जस्तो लाग्यो।’

‘म डाक्टर होइन। काठमाडौँबाट डाक्टर आउनुभएको छ तर तल्लो गाउँमा बिरामी जाँच्‍न जानुभएको छ।’

उसले मेरो मुहार पढेजस्तो गऱ्यो, ‘तपाईँले मलाई कफीको लागि सोध्‍नुभयो भने म नाइँ भन्दिनँ।’

उम्लिँदै गरेको कित्लीबाट अर्को कपमा पानी खन्याएँ। कफी बनाएर उसलाई दिएँ। उसको अनुहार राम्ररी नियालेँ फोस्रो अनुहारभरि कालो रातो धर्का कोरिएका ! झ्वाट्टै हेर्दा वृद्धजस्तो देखिए पनि आगन्तुकको उमेर चालीस वा पैतालीस उँभो थिएन होला।

न्यानो कोठाभित्र बसेर उसको जीउ अलि तातिएजस्तो देखियो। ऊ कफी खाँदै बस्यो।

भित्र स्टोरबाट औषधीको एउटा कार्डबोर्ड बाकस ल्याएर उसको नजिक राखेँ। हल्का कामेको हातले ऊ बिस्तारै औषधी छान्न थाल्यो। दुईवटा बोतल र केही औषधीको फाइल निकालेर एकछिन हातमा खेलायो।

कफी एक्कैछिनमा रित्यायो।

‘मलाई अर्को कप कफी दिन सक्नुहुन्छ ?’ आगन्तुक अलि तङ्ग्रिएको देखियो।

पानी भकभक उम्लिँदै थियो। उसलाई कफी बनाएर दिन गाह्रो लागेन।

कफीको कप समात्दै सोध्यो, ‘म अपरिचितलाई देखेर तपाईँले किन सहज ढङ्गले ढोका उघार्नुभयो ? मलाई कोठाभित्र निम्त्याउँदा तपाईँलाई डर लागेन ?’

उसको प्रश्न जायज थियो।

‘बुद्ध जन्मेको देशका मान्छे सोझा हुन्छन्। अपरिचितलाई पनि माया र मान दिन्छन्। त्यही बुझेर होला विदेशीले आफ्नो स्वार्थको खेल यहाँ सजिलै खेल्न सकेका छन्।’ कुरा गर्दागर्दै ऊ झ्यालबाहिर हेर्न थाल्यो।

‘तपाईँ किन यहाँ एक्लै ?’ आफ्नो प्रश्नको उत्तर नपाएर उसले अर्को प्रश्न तेर्स्यायो।

‘म डाक्टरसित आएकी हुँ। उहाँ बिरामी जाँच्‍न गाउँ झर्नु भएको छ।’ अपरिचितको उपस्थिति मलाई रमाइलो लाग्‍न थालेको थियो।

‘फेरिचेमा पहिलोचोटि आउनुभएको जस्तो छ।’ आगन्तुकले मेरो जुत्तातिर हेऱ्यो।

‘फेरिचेमा पर्वतारोही आउने बेला सुरु भएको छैन। तपाईँ कसरी यहाँ आइपुग्‍नु भयो ? तपाईँको नाम पनि थाहा छैन…. ?’

‘तपाईँले केनेथ अर्नोल्डको नाम सुन्नुभएको छ ?’ जबाफ दिनुको साटो उसले अर्को प्रश्न तेर्स्यायो।

‘छैन…।’

‘तपाईँलाई प्रोजेक्ट ब्लुबुकबारे थाहा छ ?’ उसको सोधाइ स्कुलको मास्टरको जस्तो लाग्‍न थाल्यो।

‘अहँ छैन…।’ जबाफ फर्काउन पनि मन लागेन।

‘ह्वाइट स्यान्ड अपरेसन ? रोजवेल दुर्घटना ?’

‘संसारमा प्रत्येक दिन सानातिना दुर्घटना घटेकै हुन्छन्। सबैलाई सबै कुरा थाहा हुँदैन। तपाईँले भनेका घटना, दुर्घटना वा इतिहास हुन्, मेरो चासोको विषय परेन।’ उसको ज्ञातास्वरूप देखेर बिस्तारै ऊसित रिस उठ्न थालेको थियो।

‘तपाईँ रिसाउनु भएजस्तो छ।’ हाँस्यो ऊ। ‘मेरो नाम पामर अर्नोल्ड हो। म अमेरिकन हुँ। फेरिचेमा रिसर्च गर्दैछु।’

‘कस्तो रिसर्च ?’

‘तपाईँले बरमुडा ट्र्याङ्गल[4] बारे सुन्नुभएको होला ? यो तपाईँलाई प्रश्न होइन…।’ फिस्स हाँस्यो।

‘सुनेकी छु। तर विशेष ज्ञान छैन।’

ऊ झ्यालबाहिर हेर्थ्यो। उसको उपस्थिति रहस्यमय थियो। तर मलाई डर लागेन। एकछिनको मौनतापछि ऊ बोल्न थाल्यो।

‘बरमुडा ट्रायङ्गल यस्तो ठाउँ हो जहाँ १९६४ देखि १९७४ सम्ममा ३७ ओटा हवाईजहाज रहस्यमय ढङ्गले हराएका छन्। १९९४ देखि २००३ सम्म थप २० ओटा हवाईजहाज हराए। सानाठूला, निजी जहाज, चार्टर जहाज, पानीजहाज, लक्जरी याच कति हो कति ? सबै हराए। डिसी जहाज, दुई इन्जिन भएको जहाजसमेत पानीमा नुन बिलाएसरह बिलाए। ती जहाजहरूको अवशेष आजसम्म भेटिएको छैन।’ ऊ खररर भन्दै गयो।

‘हो र ? आई ह्याव नो आइडिया !’ उसका कुरा सुनेर अचम्म लाग्यो।

‘त्यति मात्रै कहाँ हो र ? ५०४ फुट लामो मरिन सल्फर क्विन, ५२० फुट लामो पोएट, ५९० फुट सिल्भिया… यी सबै पानीजहाजहरू  बेपत्ता भए। दुर्घटना भएको थिएन ! भग्‍नावशेष भेटिएन ! कहिले नभेटिने गरी बिलुप्त भए।’

‘हो र ? मलाई त यी सबबारे थाहा छैन ! पत्रपत्रिकामा ठूलै चर्चा भयो होला। खैलाबैला भयो होला ?’

‘पत्रपत्रिकामा छापिएका समाचारमा ठूलै विश्वास गर्नुहुन्छजस्तो छ। छापिएका सबै कुरामा विश्वास नगर्नोस्। तपाईँलाई विश्वास नलाग्ला तर बरमुडा ट्र्याङ्गलमा अहिले पनि वर्षभरि लगभग चारवटा हवाईजहाज र बीसवटा जति साना र ठूला पानीजहाज र याच हराउँदै आएका छन्। यहाँसम्म कि नौसेना र वायुसेनाका शक्तिशाली रेडियोस्कोपको प्रत्यक्ष निगरानीमा रहेका पानीजहाज र हवाईजहाज पनि दस मिनेटभित्रै नभेटिने गरी विलुप्त भएका छन्।’ मेरो आश्चर्यचकित अनुहार हेरेर हाँस्यो ऊ।

‘अमेरिकन नेभीको बम खसाउने लडाकु टोरपिडो बमर र प्रसिद्ध फ्लाइट–१९ पनि आजको दिनसम्म बेपत्ता छ। न कुनै अवशेष भेटियो ! न कुनै सूचना !’

‘बेपत्ता जहाज खोज्‍न नसक्ने कारण के होला ? हिजोआज त आइफोन हरायो भने त भेट्न सकिन्छ भने जहाज नभेटिने कारण के होला ?’ उसका कुरा सुनेर मुटु ढक्क फुलेर आयो।

‘तपाईँले भनेका कुरा जायज हुन्। हिजोआज सबै जहाजमा जिपिएस[5]  जडान गरिएको हुन्छ। तथापि अहिलेसम्म हराएका जहाजबारे कुनै ‘क्लु’ भेटिएको छैन। आजको दिनमा सिभिल एयर पेट्रोल र कोस्टल गार्ड पेट्रोलसित अति शक्तिशाली रेडियोस्कोप छ। जसले सय मिटर गहिरो पानीभित्र छर्लङ्ग देख्‍न सक्छ। तर दस मिनेट अगाडिसम्म त्यस रेडियोस्कोपको निगरानीमा रहेका हवाईजहाज र पानीजहाज पनि विलुप्त भए। डुबे पनि रेडियोस्कोपले देखाउन पर्ने हो। हराएका हवाईजहाज र पानीजहाजलाई खोज्‍न सरकार असमर्थ रहेको तथ्य अमेरिकन सेफ्टीबोर्डसम्ममा समेत उल्लेख छ।’

‘तपाईँले भनेका कुरा साँच्चै हुन् ?’ उसका कुरा अनौठा थिए। कुतूहलता बढ्दै गयो।

‘मेरा कुरा तपाईँलाई विश्वास नलाग्ला। तर अमेरिकन नेशनल ट्रान्सपोर्टेसन सेफ्टीबोर्डको माइक्रोफिल्ममा ती सबै विवरण छन्। हुन त सरकारी रिपोर्टमा जहाज हराउने कारण उत्तर र दक्षिणी गुरुत्वाकर्षण भनिएको छ। तर त्यो भ्रमित गर्न भनिएको हो।’

‘कारण के हुन सक्छ त ?’ आफ्नो जिज्ञासा रोक्न सकिनँ।

उसले झ्यालबाहिरको हिउँचुचुरोतिर निकै बेरसम्म घोरिएर हेऱ्यो। एकछिनपछि सानो स्वरमा भन्यो, ‘यु.एफ.ओ…..।’

‘यु.एफ.ओ. ? भनेको… अन्तरिक्ष…. अन्तरिक्षका कल्पनिक जीवहरू ?’ मेरो मुटुमा ढ्याङ्ग्रो बज्यो।

‘आँखाले नदेखेका कुरा काल्पनिक नै लाग्छ। तपाईँले देखेका, अनुभव गरेका र बुझेका कुरा मात्रै तपाईँको लागि सत्य ? जब तपाईँ कुनै कुरा बुझ्नुहुन्न, अथवा बुझ्न चाहनुहुन्न त्यो तपाईँको लागि असत्य र सारहीन बन्छ। सत्य र काल्पनिकीको रेखाङ्कन व्यक्तिको आन्तरिक स्वीकृतिबाट निर्देशित हुने कुरा हुन्।’ ऊ झ्यालबाहिर हेर्न थाल्यो। एक छिनको मौनतापछि उसले आफ्नो परिचय दियो।

‘म पामर अर्नोल्ड हुँ। केनेथ अर्नोल्डको नाति र एप्रिल अर्नोल्डको छोरा…। मेरा हजुरबुबाका चार छोरी थिए। मेरी आमाको नाम एप्रिल हो।’ सच्यायो, ‘थियो।’

उसको व्यक्तिगत परिचय मेरा लागि औपचारिकता मात्रै थियो। तर उसका यु.एफ.ओ. बारेका कुरा सुनेर मेरो दिमागमा हिमपात सुरु भइसकेको थियो।

‘हुन त यु.एफ.ओ.को सत्यता मेरा साथीहरूका लागि पनि काल्पनिक कुरा नै हो। तर ज–जसलाई सत्य कुरा थाहा छ उनीहरू मेरो ज्यान लिन लागिपरेका छन्।’ कफीको मगबाट उडेको वाफभित्र उसको अनुहार डुब्दै थियो।

‘के तपाईँलाई कसैसित खतरा छ ? के तपाईँ कसैसित लुक्दै हुनुहुन्छ ? नढाँटी भन्नोस्।’ पामरको रहस्यमय व्यक्तित्व र कुराकानीले म बिस्तारै आत्तिन थालेँ। ऊ फर्कीफर्की झ्यालबाहिर हेर्थ्यो। लाग्‍न थाल्यो ऊ कसैबाट लखेटिँदै छ।

‘यस’ उसले छोटो जबाफ दियो।

सोधेँ, ‘तर तपाईँ फेरिचेमा किन ? तपाईँको रिसर्च त बरमुडा ट्र्याङ्गलमा हुनुपर्ने होइन र ?’ पामरले बोलेको अङ्ग्रेजी म बुझ्दै थिएँ।

उत्तर दिनुभन्दा पहिला उसका स्विमिङ पुलजस्ता आँखा झ्यालबाहिर फर्के। एकछिनपछि भन्न थाल्यो– ‘मेरा हजुरबुबा केनेथ अर्नोल्ड पाइलट हुनुहुन्थ्यो। उहाँलाई हवाईजहाजबारे राम्रो ज्ञान थियो। २४ जुन १९४७ को दिन उहाँ आफ्नो जहाज उडाउँदै हुनुहुन्थ्यो। उहाँले आकाशमा नौवटा अनौठा यान उडेको देख्‍नुभयो। ती अनौठा यान पृथ्वीका होइनन् भन्ने कुरामा उहाँ विश्वस्त हुनुभयो। उहाँले ती यानहरूका फोटाहरू लिनुभयो….’ बोल्दा बोल्दै रोकियो ऊ।

‘कुन ठाउँमा देख्‍नुभयो ?’

‘वासिङ्टन स्टेटको माउन्ट राइनियरमाथि। त्यसपछि हजुरबुबाले पत्रपत्रिकामा निकै अन्तर्वार्ता पनि दिनुभयो। प्रमाणस्वरूप ती यानहरूका फोटाहरू पनि पेस गर्नुभयो। तर अमेरिकी वायुसेनाले त्यो चित्र फु फाइटर[6]  प्लेनको हो भनेर विज्ञप्ति जारी गऱ्यो। केही व्यक्तिले त हजुरबुबालाई दृष्टिभ्रम भएको भन्नेसम्मको आरोप लगाए।’ लामो सुस्केर हालेर ऊ चुप लाग्यो। मानौँ, ऊ आफ्नो हजुरबुबाको निराशालाई अनुभूत गर्दै छ।

‘किन ? दृष्टिभ्रम हुन सक्दैन र ?’

प्रश्न सुनेर जुर्मुरायो ऊ। निभ्दै गरेको आगोमा दाउरा झोसेपछि निस्कने अग्निझिल्काका प्रतिच्छाया उसका स्विमिङ पुलजस्ता नीलदहमा पौडिन थाले।

‘एकछिनको लागि मानौँ हजुरबुबालाई दृष्टिभ्रम भयो रे ! तर त्यहाँ कैयौँ साक्षी थिए। सबैका बयान छन्। सबैलाई दृष्टिभ्रम भयो होला त ? तर दृष्टिभ्रम कै आधारमा अमेरिकी सरकारले यु.एफ.ओ.सम्बन्धी सबैभन्दा लामो प्रोजेक्ट ब्लुबुक आयोग किन चलायो होला त ? सरकारको स्रोत र जनताको पसिनाबाट उठेको ट्याक्स किन त्यस्ता अर्थहीन आयोगमा खेर फाल्यो त ? यु.एफ.ओ.सम्बन्धी सरकारी छानबिन सन् १९५२ देखि १९६९ सम्म चलेको थियो। दृष्टिभ्रमको आधारमा त्यति लामो छानबिन ? विश्वसनीय आधार त पक्कै थिए होलान् ?’ एकाएक ऊ आक्रोशित भयो। ‘आयोगलाई निरन्तरता दिने केही आधार त पक्कै थिए होलान्… !’

मेरो कुतूहलता पनि बढ्दै थियो।

‘आयोगको छानबिन मुख्यतः दुई विषयमा थियो। पहिलो, अमेरिकालाई अन्तरिक्षबाट खतरा छ वा छैनबारे अनुसन्धान गर्ने। दोस्रो, अन्तरिक्ष अनुसन्धानबारे थप ज्ञान बटुल्ने।’

आगोको झिल्का हेर्दै पामर बोल्न थाल्यो, ‘अनुत्तरित प्रश्न धेरै छन्। किन अमेरिकी नागरिकहरूलाई धेरै वर्षसम्म अमेरिकाको एरिया–५१ बारे जानकारी दिइएन ? त्यसैको नजिकको ३७५ हाइवेको नाम ‘एकस्ट्रा टेरिस्ट्रोरियल हाइवे’[7]  (ईटि राजमार्ग) राख्‍नुको कारण के हो ? १९६०मा त्यस राजमार्गको नजिकैको पूरा गाउँ नै बेपत्ता भयो रे ! त्योभन्दा अघि सन् १९४७मा न्यू मेक्सिकोको रोजवेल भन्ने ठाउँमा एउटा अन्तरिक्ष यानको दुर्घटनाबारे हजुरबुबाले लेख्‍नुभएको थियो। भनिन्छ, यानभित्र अन्तरिक्ष यात्री पनि थिए रे। केही स्थानीय प्रत्यक्षदर्शीले देखेका कुरा मिडियामा आउन थालेपछि सरकारले नै उनीहरूलाई बेपत्ता पाऱ्यो। यहाँसम्म कि वायुसेनाका खुफिया रिपोर्टहरूमा समेत एरिया–५१मा समातेको अन्तरिक्ष यात्रीलाई सरकारले वैज्ञानिक अनुसन्धानको लागि बन्धकी बनाएको सूचनासम्मको पुष्टि गरिएको छ रे।’ दारी चलाउँदै पामर बोल्दै थियो।

‘तर वायुसेनाका अधिकारीहरूलाई सत्य लुकाएर के फाइदा ?’ एउटा रहस्यजालोबाट निस्कने प्रयास गर्दागर्दै म अर्को जालोमा बेरिँदै थिएँ। पामरका कुरामा सत्य अंश कति छ ! उसका कुरा रहस्यमय हुँदै गएका थिए।

‘नागरिक सूचनाको हक र स्वतन्त्रताको पैरवी गर्ने देशले उदारवादी मूल्य र मान्यताको पक्षपोषण गरेजस्तो देखिन्छ। तर आर्मी र जलसेनाको कानुन दफा नं. १४५ अन्तर्गत यु.एफ.ओ.सम्बन्धी सूचना सार्वजनिक गर्न निषेध गरिएको छ। कानुन नमान्नेलाई दस हजार डलर जरिवाना र दुई वर्षको कैद सजाय छ। आधिकारिक रिपोर्टमा बकाइदा उल्लेख गरिएको छ– Sufficient and serious scientific value and nothing more. ‘ पामर बोल्दाबोल्दै चुप लाग्यो।

‘यस कुरासित तपाईँको के सम्बन्ध छ ? तपाईँ किन नेपालमा ? तपाईँ त अमेरिकामा हुन पर्ने होइन र ? ?’ पामरको कुरा सुन्दा विश्वास गर्न मन लाग्यो। तर फेरिचेमा उसको उपस्थिति किन ? बुझ्न सकिनँ।

‘तपाईँका प्रश्न जायज हुन्। विश्वको ध्यान प्रायजसो विकसित देशका राजनीतिक र आर्थिक गतिविधितिर हुन्छ। नेपालजस्तो सानो देशतिर कसैको ध्यान हुँदैन। नेपाल पर्यटकीय देश हो। सजिलै भिसा पाउने गन्तव्य पनि हो। नेपालमा विदेशीहरूको आवागमन सजिलो छ। झन् ट्रेकिङ गर्न आउनेलाई देशको कुना काप्चामा घुम्‍ने अनुमति छ। यस्तो स्थितिमा सि.आई.ए.., के.जी.बी., नरम र गरम रअ, आई.एस.आई. र अन्य धेरै इन्टेलिजेन्सले निर्बाध काम गर्न सक्ने देश अरू कहाँ छ र ? यु.एफ.ओ.सम्बन्धी वैज्ञानिक अनुसन्धानको लागि पनि नेपाल सजिलो देश बनेको छ। जस्तोसुकै विदेशीलाई यहाँ खुला हृदयले स्वागत गरिन्छ।’ हाँस्यो ऊ।

‘ह्वाट डु यु मिन ?’ रहस्यभुमरीले मलाई रसातलतिर तान्दै थियो। निस्सासिएँ म। जतिमाथि पौडिने प्रयास गर्दै थिएँ त्यति भासिँदै थिएँ तल।

एक मनमा डर पलाउन थाल्यो। पामरलाई पछ्याउँदै उसका शत्रु हेल्थपोस्टसम्म आइपुग्‍ने हुन् कि ? नजानिँदो त्रासले मन निचोर्न थाल्यो। लाग्यो, अब जिउँदै काठमाडौँ फर्किन सम्भव छैन। सेताम्य प्रकृतिले सायद मेरै मृत्युको पूर्वाभास गराएको थियो। औडाहा हुन थाल्यो। कित्लीको पानी उम्लिन थालेको थियो। आफूलाई एक कप कडा कफी बनाएँ। पामरले आफ्नो कप मेरो अगाडि साऱ्यो। उसको कपमा पनि कफी र उम्लेको पानी थपेँ।

एक मनले भन्दै थियो, ‘यो सबै सपना हो। ब्यूँझेपछि हराउँछ।’ तर कित्लीमा चिसो पानी थपेर आगोमा बसाल्दा नाँच्दै गरेका लप्काले मेरा औँला चुमे !

‘आत्था !’

एकछिनको मौनतापछि फेरि पामरले आफ्नो कुरा भन्न थाल्यो।

‘सन् १९४७ को अन्तरिक्ष यान दुर्घटनाबारे र अन्तरिक्ष यात्रीबारे हजुरबुबाले मिडियामा अन्तर्वार्ता दिनुभयो। तर अमेरिकी वायुसेनाका अधिकारीले हजुरबुबालाई फेरी दृष्टिभ्रमको आरोप लगाए। त्यो अनौठो दुर्घटनाबारे स्थानीयहरूको अन्तर्वार्ता पनि छापिएको थियो। यानबाहिर नबुझ्ने भाषामा केही लेखिएको थियो रे। केही स्थानीयले यानभित्रका अनौठा जीवसमेत देखेका थिए रे। दुर्घटनास्थलमा भेटिएका सबै वस्तु तत्कालीन सरकारले जफत गऱ्यो र दुर्घटनाको समाचारलाई सामसुम्म पाऱ्यो। मौसम विभागले हट एयर बलुन दुर्घटनाग्रस्त भयो भनेर सानो विज्ञप्ति निकाल्यो। ह्वाइट स्यान्ड भन्ने मरुभूमिमा दुर्घटनाग्रस्त यान र यात्रुलाई भूमिगत राखेर त्यहीँ अनुसन्धानको थालनी पनि गरियो। त्यस अनुसन्धानमा अमेरिकी मात्रै होइन द्वितीय विश्वयुद्ध दौरान बन्धक बनाइएका नामुद नाजी वैज्ञानिकहरूलाई समेत काम गराइएको तथ्य हजुरबुबाको डायरीले पुष्टि गर्छ। पछि गएर त्यो अनुसन्धान क्यालिफोर्नियाको मोजब मरुभूमिमा सारियो।’

‘बारम्बार यसरी ठाउँ किन सारिएको होला त ?’ उसले अङ्ग्रेजीमा भनेका केही शब्दको अर्थ बुझ्न गाह्रो भएको थियो।

‘हजुरबुबाको डायरीका अनुसार त्यो यु.एफ.ओ. यान आफैँ दुर्घटनाग्रस्त भएको थिएन। अमेरीकी वायुसेनाले अपरेसन लेजर हतियार प्रयोग गरेर भुईंमा झारेको थियो। उल्लेखित हतियार यु.एफ.ओ. प्रतिरक्षाको लागि बनाइएका थिए। आर्मीका केही रिटायर्ड जर्नेलका लिखित बयानले यस कुराको पुष्टि गर्छ। तर उनीहरू आफ्नो नाम सार्वजनिक गर्न चाहँदैनथे। अन्तरिक्षयानलाई खसालेर यात्रीलाई बन्दी बनाएपछि अन्तरिक्षबाट हमला हुने सम्भावना झन् चर्केको थियो। अझै पनि हमला हुने डर छँदैछ। त्यसकारण वैज्ञानिक र अनुसन्धानकर्ता एकै ठाउँमा धेरै समयसम्म बस्दैनन्। नयाँनयाँ सुरक्षित ठाउँ खोज्दै सर्छन्। अहिले म उनीहरूको भूमिगत अनुसन्धानस्थलको खोजीमा छु। मलाई सघाउने जापानी खुफिया टिम काठमाडौँ आइपुगेका छन्। फेरिचेमा पर्यटकीय मौसम सुरु भएको हप्ता आइपुग्छन्। अहिले हामी दुई जना फेरिचेमा छौँ। तर मेरो साथी हिजोदेखि बेपत्ता छ। उसलाई लेक लागेको थियो। मलाई पनि त्यति सञ्चो छैन। त्यसैले हाइपोथरमियाको औषधी खोज्दै थिएँ।’

‘नेपाल सरकारलाई पनि त यस्ता कुराको जानकारी हुन जरुरी छ। के म तपाईँको कुरा टेप गर्न सक्छु ?’ म आत्तिसकेकी थिएँ। खै के सोचेर मलाई उसको कुरा टेप गर्न मन लाग्यो। के यो मान्छे सत्य कुरा गर्दै छ ? कि लेक लागेर हिउँभ्रान्तिले ग्रसित छ ? मनमा शङ्का उपशङ्का उठ्न थाले।

‘तपाईँ निर्धक्क भएर मेरा कुरा टेप गर्नोस्। मैले भनेका कुरा मनगडन्ते होइनन्। तपाईँले जस्तै अरूले पनि मेरा कुरा पत्याउँदैनन्।’ म आफ्नो फोनको टेप अन गर्दै थिएँ। ऊ मेरो मनको कुरा पढ्दै थियो।

‘तपाईँको सरकार अनभिज्ञ कहाँ होला र ? तपाईँलाई मेरो कुरामा विश्वास नलाग्ला। तपाईँ पत्याउनुस् वा नपत्याउनुस्। मलाई फरक पर्दैन। तर ध्यान दिएर सुन्नुस्… विदेशी आवागमन निर्विरोध हुनाले विदेशी इन्टेलिजेन्सका मान्छे नेपालमा छ्यापछ्याप्ती छन्। कलेजका विद्यार्थी, राजनीति गर्ने नेता, धर्म प्रचारक गुरु, मिडिया हाउसका व्यक्तित्व, गैससमा कार्यरत र सञ्चारमा कार्यरत… अरू तपाईँले पनि नचिताएका व्यक्तिहरू…।’

उसका कुरा म छक्क परेर सुनिरहेँ।

‘उनीहरूका लागि नेपाल सजिलो गन्तव्य बनेको छ। उनीहरू विदेशका खुफिया एजेन्ट हुन्। नेपालमा विदेशी वैज्ञानिक पनि आउन सजिलो छ। त्यसैले यहाँ भूमिगत वैज्ञानिक अनुसन्धान चल्दैछ। अनुसन्धानका लागि चाहिने समान ओसारपसार गर्न नेपालमा जस्तो सजिलो अरू कतै छैन। बेसक्याम्प जाने निउँमा, हिमाल चढ्ने निउँमा, पर्यटकको रूपमा वैज्ञानिकहरू ओइरिएका छन्। पर्यटक हराउनु, हिमालमा दुर्घटना हुनु, हिउँमा पुरिनु आदि समाचार प्रसारण गर्न पनि सजिलो…।’ आक्रोशित भयो ऊ।

उसको कुरा सुनेर मेरो हंसले ठाउँ छाड्यो। जिब्रो लठ्ठ भयो। मन एकतमासले हुँडलिन थाल्यो। खुफिया एजेन्ट र वैज्ञानिक ?

‘यु.एफ.ओ.बारे अनुसन्धान गर्ने ठाउँ न्यू मेक्सिको ऐजटेक[8]बाट  सारेर एरिजोनाको किङ्गमेन भन्ने ठाउँमा राखेको थियो। तर त्यहाँ खतरा बढेकोले अहिले….’ बोल्दा बोल्दै एक छिन रोकियो ऊ ‘…अहिले ओलाङ्चुङगोलामा सारेको छ भन्ने सूचनाको कारण म फेरिचेमा छु। म यु.एफ.ओ.सम्बन्धी भूमिगत अनुसन्धानस्थलको खोजी गर्दै हिँडेको छु। तर मलाई खोजेर सिध्याउनेमा खुफिया एजेन्टहरू लागेका छन्,’ फिस्स हाँस्यो।

‘नेपाल… ? ओलाङ्चुङगोलामा ?’ के मैले सही सुनेँ ? हेल्थपोस्टको कोठा फनफनी घुम्न थाल्यो। ढोका खोलेर बाहिर भागूँ ! तर भागेर कहाँ जान सक्थेँ ? लुक्ने ठाउँ कहाँ थियो र ? हिउँ–कार्पेट ओछ्याएका ठाउँमा जहाँ पाइला राखे पनि पदचिह्न बन्ने डर थियो। आतङ्कित बन्न पुगेँ। थाहा छैन मलाई कोसित डर लागेको थियो।

पामर एकसुरो भएर बोल्दै थियो।

ओलाङ्चुङ ‘कोडवर्ड’ हो। भूमिगत वैज्ञानिक अनुसन्धानमा अरू देशको संलग्‍नता पनि छ। भोलि शेर्पाहरूको एउटा टोली फेरिचे आइपुग्‍ने कुरा विश्वसनीय सूत्रबाट थाहा पाएको छु। उनीहरू फेरिचेबाट सामान बोकेर भूमिगतस्थलतिर जान्छन् रे। उनीहरू एउटा निश्चित ठाउँमा पुगेर सामान छाड्छन् रे। त्यो छाडेको समान कता जान्छ भन्नेबारे भरियाहरू पनि अनभिज्ञ छन्।’

‘यस अनुसन्धानले नेपाललाई खतरा छ र ? हामीले हाम्रो सरकारलाई यसबारे अवगत गराउन सक्दैनौँ ?’ मनमनै विचार गर्दै थिएँ काठमाडौँ पुगेर बृहत् पत्रकार सम्मेलन गरायो भने केही समाधान पक्कै निस्कने छ। डर र त्रासबीच आशाकिरण झुल्किन थाले।

‘पत्रकार सम्मेलन गरेर केही हुँदैन। अमेरिकाजस्तो ठाउँमा मेरो हजुरबुबालाई दृष्टिभ्रमको आरोप लगाइएको थियो। यहाँ तपाईँलाई खुस्केट प्रमाणित गर्ने छन्। सम्भवतः तपाईँको सरकारलाई अनुसन्धानबारे पूर्वजानकारी छ। तर यस वैज्ञानिक अनुसन्धानले निम्त्याउन सक्ने विनाशबारे अनुमान छैन होला। अन्तरिक्षबाट हुन सक्ने हमलाको प्रतिरोधमा विध्वशंकारी हतियारको प्रयोग गरिने सम्भावना पनि बढेको छ। जसले गर्दा तेस्रो विश्वयुद्ध हुने डर छ। अन्तरिक्ष यात्रीलाई बन्धक बनाउने र अन्तरिक्ष यानलाई आकाशमा विस्फोट गराउने जस्ता हतियारले युद्धको लागि डरलाग्दो वातावरण तयार पारेको छ। अन्तरिक्षबाट आक्रमण हुन सक्ने सम्भावना चर्किएको छ। प्रतिरक्षाको आणविक हतियार चलायो भने त्यसको विध्वंशकारी प्रभावले गर्दा यहाँबाट चार सय मिटरसम्म केही बाँकी रहँदैन। न प्रकृति रहन्छ ! न मानव, न कुनै प्राणी ! जमिन भासिएर ठूलो खाल्टो बन्छ ! हिमाल गर्ल्याम्म ढल्छ। त्यति मात्रै कहाँ हो र ? हतियारबाट निस्केको लेजरको प्रभावले कति क्षति गर्छ भन्ने अनुमानसम्म पनि हामी अहिले गर्न सक्दैनौँ।’

हिउँले खाएको उसको अनुहारमा सोचका धर्का गहरिए। ऊ झ्यालबाहिरको हिउँटाकुरा हेर्दै गम्भीर सोचमा डुब्यो।

‘तपाईँका कुरा पत्याउन मलाई गाह्रो भयो। तपाईँ लेखक त होइन ? किनकि लेखकले मात्रै यस्ता काल्पनिक उडान लिन्छन् ! अथवा तपाईँ मसित जोक गर्दै हुनुहुन्छ।’ उसका कुरा विश्वास गर्नै गाह्रो भयो।

‘जोक…. ?’ फिस्स हाँस्यो ऊ।

‘आजको युगमा मान्छेको अस्तित्व नै जोक बनेको छ। विश्वको एउटा भागमा भएको सानो घटनाले विश्वको अर्को भागका मानिसको जीवनलाई भताभुङ्ग पार्छ। हाम्रो आधुनिक ‘ग्लोबल–अस्तित्व’ नै जोक बनेको छ। बटरफ्लाइ इफेक्ट इज अ जोक। नेपालमा घटित हुने प्रकरणहरू विश्वको अन्य घटनासित जोडिएका छैनन् भनेर किटान गर्न सक्नुहुन्छ ? मैले जोक गरेको होइन। विश्वका घटनाहरू सिन्क्रोन्सिटीको कारण घटित हुन्छन्। नेपालमा घटित हुने घटनाहरूको सम्बन्ध विश्वका अन्य घटनासित हुन सक्छ। खुम्बु क्षेत्रको फेरिचेमा, त्यो पनि ४५८० मिटर उचाइमा, तपाईँ र मेरो भेट हुनु फगत संयोग होइन। हुन त संयोग शब्द आफैँमा अर्थहीन छ। अतीत, वर्तमान र भविष्यका घटनाहरू संयोगले घटित हुँदैनन्। तर पनि सिन्क्रोन्सिटीको सम्भावनालाई पूर्णतः नकार्न मिल्दैन।’

झ्ल्याँस्स सम्झेँ। केही वर्षअगाडि नेपाल आर्मीको ट्विनअटर उड्दाउड्दै हराएको थियो। त्यो कहिल्यै भेटिएन।

पामर झ्यालबाहिर हेर्न थाल्यो। अचानक ऊ हतारिँदै आफू बसेको ठाँउबाट उठ्यो।

‘कोही यतै आउँदै छ। मलाई खोज्दै आएको हो कि ? तर त्यो मान्छे यहाँ आइपुग्‍ने बेलासम्म के म अर्को कप कफी थप्‍न सक्छु ? मैले हिजोदेखि केही खाएको छैन।’

अन्तिम कप कफी थप्‍न माग्दा उसले प्राणयाचना गरेजस्तो लाग्यो। खाली कप मतिर तेर्स्यायो। उसका गालाका खोपिल्टा गहिरा खोँचजस्ता देखिन थाले।

शर्लीले हेल्थपोस्टमा राख्‍न बिस्कुट, चिप्सका प्याकेट, टिनका माछाहरू, मुसली, च्युरा र अन्य स्टक काठमाडौँबाट लिएर आएकी थिई। भोकाएको पामरलाई केही प्याकेट बिस्कुट दिने मनसायले म स्टोरमा सामान लिन गएँ। बिस्कुट लिएर फर्किँदा कोठा खाली थियो।

कहाँ गयो पामर ? उसले छानेर छुट्याएको औषधी पनि त्यहाँ थिएन। ऊ बसेको ठाउँमा एउटा न्यापकिन राखिएको थियो। न्यापकिनमा लेखिएको थियो Les UFOs sont Vrai mais its nexistent Pas . के लेखेको हो बुझिनँ।

झ्यालबाहिर हेर्दा टाढा शर्ली र नोर्बु बिरामी जाँचेर फर्किँदै थिए। उनीहरू कोठाभित्र आइसक्दासम्म मेरो दिमाग र मुटु रन्थनिएको थियो। उनीहरूसित कुरा गर्न मन भएन। शर्लीले गाउँ र बिरामीहरूबारे खै केके कुरा भन्दै थिई। तर मेरो दिमाग अन्तै थियो।

उनीहरू काठमाडौँ फर्किने चाँजोपाँजो मिलाउन थाले। कुन औषधी थप्‍ने, कति औषधी पठाउनेबारे छलफल गर्न थाले। उनीहरू तल्लो गाउँसम्म पुगेर फर्किँदा साढे दुई घण्टा जति बितेको रहेछ। पाइलट ग्रिगोर सैगर भने लन्च खाएर अझै फर्केको थिएन।

मेरो मन र मष्तिस्क बिथोलिएका थिए।

के शर्ली पनि विदेशी जासुस हो ? के पाइलट पनि….?

‘तिमीलाई के भयो ? तिमी त लगलग काम्दै छौ त ! कोठाभित्रको न्यानोमा बस्नेलाई त यस्तो जाडो हुँदो रैछ। तिमी बाहिर कसरी जान सक्थ्यौ होला र ? नगएको राम्रो भयो। आऊ आगो छेउमा आएर बस। अब केहीछिनमा काठमाडौँ फर्किहाल्ने त हो।’

बिरामीको आँखाको भाखा बुझ्छु भन्दै गर्व गर्ने शर्ली मेरो मनोभाव पढ्न असफल रहेकी थिई। सायद पहिलोचोटि असफल।

फेरिचेको अस्थायी हेल्थपोस्टमा हाम्रो हेलिकप्टर जम्मा तीन घण्टा पैँतीस मिनेट जति बसेको थियो। बिहान ढिलो उडेकोले साँझ हुनुअघि काठमाडौँ पुग्‍ने हतारो थियो।

गिग्रोर फर्केर आउने बित्तिकै हेलिकप्टर चेक गर्न थाल्यो। हामी सिटपेटी कसेर बसेका थियौँ। नोर्बु हतारिँदै हेलिकप्टर नजिक आयो र गिग्रोरलाई एउटा पन्जा दियो। गिग्रोरले ‘मेरो होइन’ भनेपछि उसले शर्लीलाई देखायो। त्यो पन्जा त पामरको थियो। उसले फुकालेर आफू बसेको बेन्च छेउमा राखेको थियो। सायद खसेर भुँइमा झरेर होला हतारमा हिँड्दा उसले पन्जा भेट्टाउन सकेन।

हेलिकप्टर बिस्तारै भुईंबाट माथि उठ्दै गयो। हातमा पन्जा समातेर बाई… बाई… गर्दै उभिएको नोर्बु सानो… सानो… झन् सानो… हुँदै गयो।

काठमाडौँ पुग्दासम्म हामी तीनै जना शान्त थियौँ। थाकेर हो वा अन्य कारणले हो कसैले कुरा गरेन।

फेरिचेमा बिताएको त्यो तीन घण्टा पैँतीस मिनेट जतिको समय आज मेरो जीवनको महत्त्वपूर्ण समय बनेको छ।

काठमाडौँ पुगेर घरभित्र छिरेपछि बल्ल ज्यान जोगाएर फर्किएँजस्तै भयो। त्यो दिन मानसिक रूपमा म मृत्युलाई अङ्कमाल गरेर फर्केजस्ती भएकी थिएँ। ब्याग थन्काएर सबैभन्दा पहिला फोनमा रेकर्ड गरेको कुरा सुन्ने प्रयास गरेँ। तर तेत्तीस मिनेटको रेकर्ड ‘डिलिट’ गरिएको रहेछ। म स्टोरभित्र गएर बिस्कुटको प्याकेट लिएर फर्किने बेलासम्म पामरले टेपका कुरा मेटाएछ।

किन ?

स्वीकृति लिएर टेप गरेको कुरा किन ‘डिलिट’ गऱ्यो ?

आफ्नो सुरक्षाको लागि मेटायो ? वा मेरो सुरक्षाको लागि ?

फेरिचेको अनुभव एउटा दुःस्वप्‍नजस्तो लागे पनि त्यो मैले भोगेको अविस्मणीय यथार्थ हो। मेरो सत्य।

आज पनि जब मलाई फेरिचेको हेल्थपोस्टको कोठाभित्र बिरामीजस्तो देखिने त्यो आगन्तुकलाई भेटेको कुरा सपनाजस्तो लाग्‍न थाल्छ, म उसले लेखेर छाडेको न्यापकिनको चिर्कटो खोलेर पढ्छु।

फेरिचेबाट फर्केपछि नजाँदिदो कारणले शर्ली र मेरो सम्बन्ध चिसिँदै गयो। दिदीबहिनी सम्बन्धको न्यानोपन हिमपर्वतको चिसो स्याँठले उडाए जस्तो भयो। आफ्नो कार्यकाल सकेर शर्ली अमेरिका फर्केपछि हाम्रो सम्बन्ध स्मृतिगर्भमा हरायो।

तर पामर मेरो मनलाई बिथोल्न फर्कीफर्की आउँछ। कहाँ छ होला ऊ ? बाँच्यो होला ! कि म…?

कि उसका शत्रुले उसलाई भेट्टाए ? कि कठाङ्ग्रिएर हिमप्रदेशको हिममानवमा रूपान्तरित भयो ? निकै कमजोर देखिन्थ्यो !

उसले भनेका कुरामा कति सत्यता छ ? के यु.एफ.ओ. साँच्चै हुन्छन् ?

यस्तै प्रश्नहरूको भँगालोमा पर्छु म बेलाबेला।

पामरले भनेका कुरा खिल भएर मनमा गढेका छन्। ‘सि.आई.ए, के.जी.बी., रअ, आई.एस.आई. र अन्य इन्टेलिजेन्सलाई कसैले चिन्दैन यहाँ…। अनुसन्धानको लागि नेपालजस्तो सजिलो ठाउँ अरू कहाँ होला र !’

अँ साँच्चै, धेरैपछिसम्म सोचेँ, पामरले भनेको ओलाङ्चुङको अर्थ के रैछ ? के साँचै… ?

पामरले न्यापकिनमा लेखेको कुरा पनि गुगल ट्रान्सलेटबाट थाहा पाएँ। उसले लेखेको रहेछ– The UFOs are real, but they do not exist. यसको अर्थ अहिले पनि बुझ्न सकेकी छैन। दुविधाले घेरेको बेलामा अहिले पनि त्यो न्यापकिन खोलेर हेर्छु। निख्खर कालो मोतीका दानाजस्ता शब्द किञ्चित मधुरा भएका छैनन्।

क्वालालमपुरबाट बेजिङको लागि उडान भरेको मलेसियाको विमान यात्रुसहित बेपत्ता भएको खबरले फेरि त्यो फेरिचे हेल्थपोस्टभित्र घिस्रिँदै पसेको पामर अर्नोल्डको स्मृति ताजा भयो।

फेरि अनुत्तरित प्रश्नहरूका बथानले घेराउ गर्न थाले !

कहाँ छ होला पामर ? सकुशल त होला ?

के उसले भनेजस्तै विदेशी खुफियाको लागि नेपाल सजिलो गन्तव्य बनेको छ ?

के नेपालमा छ्यापछ्याप्ती खुफिया एजेन्टहरू छन् ?

उसले भनेका यु.एफ.ओ.बारेका कुरा सत्य हुन् ?

सत्यको स्वरूप कस्तो हुन्छ ? कसको सत्यलाई सत्य मान्ने ? मेरो सत्य ? उसको सत्य ? अरू कसैको सत्य ?

पामरले भनेका सिन्क्रोन्सिटीका कुरा, खुफिया एजेन्टका कुरा र मानव ज्ञानको सीमितताबारेका तर्क र उदाहरण सम्झिन पुग्छु। फेरि रन्थनिन्छु प्रश्नै प्रश्नको भुमरीमा।

मेरा अनुभव कथालाई असत्य मान्ने सबै पाठकलाई म पामरले भनेका कुरा दोहऱ्याउँछु…

विश्वका सबै घटना सिन्क्रोन्सिटीका परिणाम हुन्। विश्वको एउटा कुनामा भएका स–साना घटनाले विश्वको अर्को कुनामा बस्ने मानिसको जीवनलाई प्रत्यक्ष प्रभाव पार्न सक्छ।… खुम्बु क्षेत्रको फेरिचेमा ४५८० मिटर उचाइमा तपाईँसित भेट हुनु कुनै संयोग होइन। अतीत, वर्तमान र भविष्यका घटनाहरू संयोगले घटित हुँदैनन्। तर पनि सिन्क्रोन्सिटीको सम्भावनालाई पूर्णतः नकार्न मिल्दैन।

मेरो अनुभव कथा सत्य हो वा असत्य हो यो निर्णय पाठकमाथि नै छाड्छु।

कठपुतला कथा सङ्ग्रहबाट साभार

[1] कार्ल गुस्ताफ युङको परिभाषामा ‘सार्थक संयोग’

[2] तापक्रम कम भएको ठाउँमा पानी परेर जमेको सिसाजस्तो पारदर्सी हिउँ ।

[3] धेरै बेरसम्म हिउँमा हिँड्दा बस्दा हुने घातक स्थिति प्रभावित व्यक्तिको शरीरको तापक्रम घटेर ९५° फरेनहाइटभन्दा कम हुन सक्छ। हाइपोथर्मियाले दृष्टिभ्रम पनि हुन सक्छ र मानिसको हिँड्ने तथा सोच्ने क्षमतालाई पनि प्रभावित पार्न सक्छ। यसले रोगीको मृत्यु पनि हुन सक्छ।

[4] यसलाई बरमुडा त्रिकोण वा रहस्यमयी त्रिकोण पनि भनिन्छ। यो उत्तरपश्चिम एटलान्टिक महासागरमा पर्छ।

[5] दिशा निर्देश गर्ने यन्त्र

[6] द्वितीय विश्वयुद्धका बेला अमेरिकाले प्रयोग गरेका लडाकू विमान

[7] Nevada State Route 375 लाई Extraterrestrial Highway पनि भनिन्छ।

[8] न्यु मेक्सिकोको एउटा ठाउँ

Facebook Comments

सम्बन्धित खवर

नरेन्द्र मोदी : विवादबीच उदय भएका चमत्कारी नेता
विचार/लेख
0 shares5 views
विचार/लेख
0 shares5 views

नरेन्द्र मोदी : विवादबीच उदय भएका चमत्कारी नेता

Himalpost Desk - २०७६, १३ जेष्ठ ०५:०५

- कुमुद अधिकारी प्रारम्भिक जीवन नरेन्द्र दामोदरदास मोदी उर्फ नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा गुजरात राज्यको वडनगरको एउटा…

विप्लव समुहले सेनालाई अपहरण गरेको खुलासा
राजनीति
0 shares10 views
राजनीति
0 shares10 views

विप्लव समुहले सेनालाई अपहरण गरेको खुलासा

himal post - २०७६, १३ जेष्ठ ०१:०५

काठमाडौं : प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र…

‘बन्द’ असफल पार्न सरकारले बनायो यस्तो नयाँ योजना
राजनीति
0 shares34 views
राजनीति
0 shares34 views

‘बन्द’ असफल पार्न सरकारले बनायो यस्तो नयाँ योजना

himal post - २०७६, १३ जेष्ठ ००:५९

काठमाडौँ- विप्लव समुहले आयोजना गरेको बन्दलाई असफल पार्न प्रहरीले नयाँ योजना बनाएको बताइएको छ । तीनै सुरक्षा प्रमुखहरुसहितको बैठकमा गृहमन्त्री रामबहादुर…

One Response

  1. Pingback: My Homepage