नेपाल र भुटानबाट दङ्गा भड्काउनेहरू भारत छिरे: अमित शाह - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

नेपाल र भुटानबाट दङ्गा भड्काउनेहरू भारत छिरे: अमित शाह



एजेन्सी- भारतीय गृहमन्त्री अमित शाहले भारतमा शान्ति देख्न नचाहने केही तत्वले भारत प्रवेश गर्न नेपाल र भुटानको सीमा नाका प्रयोग गरिरहेको बताएका छन्। नागरिकता संशोधन विधेयकलाई लिएर भारतभरि सरकारविरुद्ध प्रदर्शन चर्किरहेका बेला शाहको यस्तो धारणा बाहिर आएको हो।

भारतीय गृहमन्त्री शाहले सशस्त्र सीमा बलको ५६औं स्थापना दिवसका अवसरमा बिहीबार नयाँदिल्ली आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त कुरा बताएका हुन्। उनले नेपाल र भुटानसँग भारतको सौहार्दपूर्ण सम्बन्ध रहेकोसमेत बताए।

‘भारतमा शान्ति देख्न नचाहने केही तत्वहरुले यी दुई देशसँगको सिमाना प्रयोग गरी भारत प्रवेश गर्न खोजिरहेका छन्,’ भारतीय गृहमन्त्री शाहले भने।

भारत सरकारले नेपाल र भुटानसँगको सीमामा भारतीय सुरक्षा बललाई राखेको छ। भारतमा सीमा सुरक्षा बलको संख्या ९४ हजारभन्दा बढी रहेको छ।

सम्बोधनका क्रममा भारतीय गृहमन्त्री शाहले सीमा सुरक्षा बलकै कारण एक अर्ब ३० करोड भारतीयहरु शान्तपूर्ण तरिकाले निदाउन पाएको बताएका छन्।