अमेरिकी सर्वोच्च अदालतले रोकेको जनगणनाको प्रश्न के हो ? - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

अमेरिकी सर्वोच्च अदालतले रोकेको जनगणनाको प्रश्न के हो ?



अमेरिकाको सर्वोच्च अदालतले सन् २०२० को जनगणनामा संलग्न गर्न लागिएको नागरिकतासम्बन्धी एउटा प्रश्न तत्काल नथप्न ट्रम्प प्रशासनलाई आदेश दिएको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भने जनगणनामा राख्न खोजिएको प्रश्नले अल्पसङ्ख्यक मतदाताको सुरक्षा गर्ने तर्क गरेको छ।

सङ्कलित विवरण अन्य सरकारी निकायको हातमा पुग्ने आशङ्कामा आप्रवासीहरूलाई जनगणनामा सहभागी हुन निरुत्साहित पार्न सक्ने विपक्षीहरूको भनाइ छ।

अदालतको हस्तक्षेपपछि राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गरेर जनगणना पछि सार्न प्रयास गर्ने जनाएका छन्।

विवादित बनेको त्यस्तो प्रश्न हो- के यो मानिस अमेरिकी नागरिक हो?

यदि ट्रम्प प्रशासनले आफ्नो मार्ग प्रशस्त गर्न सकेमा सङ्घीय कानुनले सन् २०२० को जनगणनामा अमेरिकाभित्र रहने सबै मानिसका लागि सोध्न बाध्य पार्नेछ।

अमेरिकामा सन् १९५० यताका कुनै जनगणनामा पनि नागरिकताबारे प्रश्न सोधिएको छैन।

अदालतको आदेशप्रति विमति जनाउँदै ट्रम्पले सरकार र देशले जानकारी माग्न नपाउनु ‘हास्यास्पद’ भएको ट्वीटमा लेखेका छन्।

औचित्यमा प्रश्न

सर्वोच्च अदालतले सरकारले सोध्न खोजेको प्रश्न ‘कृत्रिम’ भएको जनाएको छ।

सुनुवाइमा सहभागी नौ जनामध्ये पाँच न्यायाधीशले प्रश्न राख्नु नहुने मत दिएका थिए।

प्रधानन्यायाधीन जन रोबर्ट्सले ट्रम्प प्रशासनले उक्त प्रश्नको औचित्य पुष्टि गर्न नसकेको बताएका छन्।

यस भनाइलाई कतिपयले सरकारका लागि सुधार गर्न समय अझै बाँकी रहेको रूपमा अर्थ्याएका छन्।

दश वर्षमा एक पटक हुने जनगणनाले अमेरिकी सरकारलाई राज्य र स्थानीय तहका लागि एकाइ निर्धारण गर्न सघाउँछ।

त्यसले कुन राज्यले सङ्घबाट कति बजेट पाउने भन्ने पनि निर्धारण गर्छ।

‘गलत उद्देश्य’

त्यो प्रश्नमा दुराशय भएको दाबी आलोचकहरूले गरेका छन्।

विपक्षी डेमोक्र्याटिक पार्टी र नागरिक अधिकार समूहहरूले त्यो प्रश्न राजनीतिक उद्देश्यबाट प्रेरित भएको र आप्रवासी तथा अल्पङ्ख्यकको उत्तर दबाउम राखिएको बताएका छन्।

तर ह्वाइट हाउसले भने त्यसको व्यावहारिक कारण रहेको भनेको छ।

जनगणनासम्बन्धी निकायको अध्ययनले भन्छ- नागरिकताको प्रश्नले जनगणनामा सहभागी हुन चाहने मानिसहरू नाटकीय ढङ्गले कम हुनेछन्।

सहभागी हुन नचाहनेमा खासगरी स्वदेश फिर्ता पठाइन सक्ने सम्भावना भएका मानिसहरू हुनेछन्।

अमेरिकामा ल्याटिन अमेरिका र अफ्रिकाबाट आएका झन्डै ४० लाख त्यस्ता मानिस छन्।

आप्रवासीको सङ्ख्या धेरै भएका क्यालिफोर्निया र न्यू मेक्सिको राज्यमा गणना कम हुने ठानिएको छ। त्यहाँ धेरै डेमोक्र्याट समर्थकहरू छन्।

(बीबीसी)