अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगायो - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगायो



वासिङटन :  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार इरानमाथि थप प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन् । आफ्नो कदमबाट इरानका सर्वोच्च नेता लगायतका उच्च अधिकारीलाई अप्ठेरो पर्ने ट्रम्पले बताएका छन् । उनीहरूले अमेरिका र अमेरिकी मित्र कुनै पनि राज्यबाट बैकिङ कारोबार गर्न नपाउने भएका छन् । गत बिहीबार खाडी क्षेत्रमा अमेरिकी ड्रोनलाई इरानले खसालेपछि तनाव बढ्दै गएको छ ।

यसको बदला लिन अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाएको हो । राष्ट्रपति ट्रम्पले शुक्रबार इरानमाथि सैन्य आक्रमणको आदेश दिएता पनि अन्तिम क्षणमा भने उक्त आदेश फिर्ता लिइएको थियो । ट्रम्पले भने इरानसँग आफूले युद्ध नचाहेको बताउँदै आएका छन् । इरानलाई परमाणु हतियारबाट टाढै राख्‍ने ट्रम्पले दाबी गरेका छन् । उनले अमेरिकी अर्थमन्त्री स्टीवन म्नूचिनको उपस्थितिमा उक्त विधेयकमा हस्ताक्षर गरेका हुन् । अमेरिका वार्ताकै पक्षमा भएको पनि उनले दोहाऱ्याएका छन् ।

झुट बोल्दै अमेरिका : रुहानी

अमेरिकाले आफूसँग वार्ताका लागि प्रस्ताव गरेको भन्ने कुरा झुट भएको इरानी राष्ट्रपति हसन रुहानीले बताएका छन् । इरान र इरानी कूटनीतिज्ञविरुद्ध घोषणा गरेको नयाँ प्रतिबन्धबाट उक्त पुष्टि भएको उनले स्पष्ट पारेका छन् ।

राष्ट्रपति रुहानीले टेलिभिजनबाट प्रत्यक्ष प्रशारणमार्फत भने, ‘वार्ताका लागि आह्वान गरेको दाबी गरिरहँदा अमेरिकाले इरानमाथि र यहाँका विदेशमन्त्रीमाथि थप प्रतिबन्धको घोषणा गरेको छ । यो प्रष्ट छ कि वार्ता प्रस्ताव गरिएको भनेर अमेरिका झुटो बोलिरहेको छ ।’

अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनले इरानसँग वार्ताका लागि ढोका खुला राखेको भन्ने भनाइलाई लक्षित गर्दै रुहानीको यो प्रतिक्रिया आएको हो । बोल्टनले अमेरिकी आग्रहलाई इरानले नसुनेको दाबी पनि गरेका थिए ।

रुहानीले प्रश्न गरे, ‘इरानी सर्वोच्च नेता आयोतोल्ला खोमेनीलाई कालो सूचीमा राख्‍ने, इरानमाथि प्रतिबन्ध लगाउने अनि कसरी वार्ताका लागि ढोका खुला हुन्छ ? यो सबै छर्लङ्ग छ ।’ इरानले खोमेनी लगायत आठजना सैन्य अधिकारीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

उनले इरानी नेताहरूसँग अन्य देशका नेतासँगजस्तो विदेशमा अर्बौंको सम्पत्ति नभएको पनि बताए । इरानी नेताको सम्पत्ति रोक्ने, जफत गर्ने वा प्रतिबन्ध लगाउने जे गरे पनि इरानलाई कुनै फरक नपर्ने उनले स्पष्ट दाबी गरे । रुहानीले भने, ‘विदेशमन्त्रीविरुद्धको प्रतिबन्ध केका लागि हो ? उहाँलाई अमेरिका भ्रमणमा रोक लगाउन होइन ? यो राम्रो हाम्रा लागि राम्रो कुरा हो ।’

अमेरिकाले सोमबारदेखि लागू हुनेगरी इरानमाथि थप प्रतिबन्ध लगाएको छ । उसले इरानमाथि हतियार निर्माण र भण्डारण गर्न नदिन प्रतिबन्ध लगाइनुपर्ने र दबाब सिर्जना गर्नुपर्ने बताउँदै आएको छ ।

वार्तामा जोड

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सोमवार अमेरिका र इरान दुवैलाई तनाव अन्त्य गर्न आह्वान गरेको छ । अमेरिकाले इरानमाथि थप प्रतिबन्ध घोषणा गरेपछि इरानले वार्ता नगर्ने घोषणा गरेको छ । दुई घण्टासम्म चलेको सुरक्षा परिषद्को बैठकमा इरानलाई अलग थलग नपार्न र तत्काल सैन्य कारबाही नगर्न आग्रह गरिएको थियो ।

संयुक्त राष्ट्रसंघका लागि इरानका स्थायी प्रतिनिधि माजिद तख्त रवान्चीले भने, ‘जसले धम्काइरहेको छ, ऊसँग वार्ता गर्ने कुरै हुँदैन । यस्तो अवस्था वार्ताका लागि उचित होइन ।’ इरानको सहयोगी रूसले आपसी वार्ताबाट समस्या सुल्झाउन आग्रह गरेको थियो । बेलायत, फ्रान्स र जर्मनीले पनि वार्तामा जोड दिएका थिए ।

 (एजेन्सी)