कठघरामा पत्रकार अक्षर काका - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कठघरामा पत्रकार अक्षर काका



लामो समय देखि पत्रकारिता पेशा गरिरहेका रामनाथ खनालले अक्षर मार्फत नयाँ परिचय बनाए  । त्यो परिचय थियो अक्षर काका, उनी प्रखर लेखक पनि हुन ,उनको लेखनी जति सशक्त छ पत्रकारिता पनि उत्तिकै उदाहरणिय । उनको दोश्रो पुस्तक देउतीले बजारमा तरङ्ग पैदा गरिरहेको छ । प्रस्तुत छ उनै लेखक तथा  पत्रकार रामनाथ खनाल उर्फ अक्षर काका संग गरिएको भलाकुसारी 

प्रस्तुति :किङ्ग खनाल 

अक्षरका सन्तान पनि छन् भनेर कहिले थाहा पाइएन, तपाईँ अक्षरका काका कसरी ?
यो एउटा ‘भर्चुअल’ नाम थियो । सामाजिक सञ्जालमा भँडास पोख्ने बाहना भनूँ । सामाजिक सञ्जालमा सक्रिय हुँदा आफ्नो वास्तविक नाम नै ओझेल पर्‍यो । चिन्नै पो छाडे । लेखनमा नडोहोर्‍याइ सुखै पाइनँ ।

तपाईँ असल पत्रकार कि असल लेखक ?
पत्रकारिता गर्छु, यसर्थ लेखक हुँला । असल हो कि होइन, म के जानूँ ? पाठकले छुट्याउने हो । लेखकचाहिँ बनिसकेको छैन । एउटा किताब बजारमा आउँदा लेखक बनेँ भनेर के भन्नू ? प्रयत्न गरिरहेको छु भनौँ ।

तपाईँको पुस्तक देउती पढेर पाठक रुँदा तपाईँलाई कत्तिको आनन्द आइरहेको छ ?
पाठकलाई रुवाउने अभिष्ट पालेरै देउती लेखिएको होइन । कथा त्यस्तै थियो । सदियौँदेखि समाजमा महिलाले भोग्दै आइएका कथा–व्यथाका पोका–पन्तुरा छन् । पढ्दा पाठकका आँखा रसाए । फेरि देउती आम पाठककै कथा हो नि ! सबै आमा, दिदीबहिनीका । उहाँहरूले दिनहुँ भोगेका समस्या छन् । उहाँहरूको दुःख देखेर रुँदै उपन्यास लेखेको हुँ, त्यति बेला दुःखी थिएँ । किताब पढेर आएका प्रतिक्रियाले पुलकित बनाएको छ ।

केही लेखकको जागिर धरापमा पार्ने गरी पुस्तक लेख्नुभयो भन्ने गाँइगुइँ सुनिन्छ नि ?
मेरो कसैसँग प्रतिस्पर्धा छैन । हिजोको अक्षर काकालाई उछिन्न सक्छु कि सक्दिन भन्नेमात्रै ध्येय छ । अरूले मेराबारेमा के भन्छन्, त्यति चासो राख्दिनँ । अरूले त्यत्रो प्रगति गरे भन्ने लाग्दैन, चिन्ता पनि छैन । किताबका माध्यमबाट पाठकसँग सम्वादमा जोडिइरहनु सकूँ मेरो चाह यत्ति हो ।

लेखक बनेर बाँच्न कत्तिको रमाइलो रैछ ?
लेखक बनेर होइन, लेखेरचाहिँ बाँच्न निकै रमाइलो छ, त्यत्तिकै सजिलो पनि छ ।

अर्को पुस्तक लेख्ने मिति घोषणा गर्नुभएछ ! हौसिएर कि पैसा कमाउन हतार भएर ?
लेखेरै चुल्हो जगाएको मान्छे, स्वभाविक हिसाबले पैसा कमाउनु पर्छ । तर, विकाउ बन्न लेखेको होइन । आफूलाई माझ्न, चम्काउन र टिकाउन अर्को किताब लेख्न थालेको हुँ ।