आयोजक सहारा क्लबलाई हराउदैँ सुदुरपश्चिम् ११ विजयी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

आयोजक सहारा क्लबलाई हराउदैँ सुदुरपश्चिम् ११ विजयी



पोखरा  । आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको १६औं संस्करण आजदेखि पोखरामा सुरु भएको छ । मंगलबार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा सुदूरपश्चिम -११ स्पोर्टिङ क्लब विजयी भएको छ । सुदूरपश्चिमले आयोजक सहारा क्लबलाई ३–० को फराकिलो अन्तरले पराजित गर्‍यो ।

घरेलु मैदानमा कमजोर प्रदर्शन गरेको सहाराले मध्यान्तरअघि एक तथा मध्यान्तरपछि दुई गोल खायो ।सुदूरपश्चिमको जितमा धनबहादुर थापा, मनिराम चौधरी ‘म्याक्स’ तथा राकेश हमालले एक/एक गोल गरे ।

खेलमा आधादर्जन बढी अवसर पाएपनि सहाराका खेलाडीले गोल गर्न सकेनन् । प्रतियोगितामा सहारा र सुदूरपश्चिमसँगै मोफसलका धरान फुटबल क्लब र झापा–११ रहेका छन् ।

त्यसैगरी, तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरीसहित ‘ए’ डिभिजनका संकटा, मनाङ–मर्स्याङ्दी र थ्रीस्टार क्लब सहभागी छन् । साथै, १२ टोलीमा दुई विदेशी क्लबहरु बंगलादेशको बरिन्धरा र भारतको सिक्किम युनाइटेड रहेका छन् ।

बुधबार भारतको सिक्किम युनाइटेड र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । उपाधि विजेता टिमले ७ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ३ लाख ५१ हजार पाउनेछ ।

यसअघि, मंगलबारै प्रतियोगिताको उद्घाटन गर्दै पोखरा–लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले खेलकुदको विकासका लागि महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।