आन्दोलित शिक्षकहरू र सरकारबीचको वार्ता सहमति नजिक - Himal Post Himal Post
  • ५ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
Logo

आन्दोलित शिक्षकहरू र सरकारबीचको वार्ता सहमति नजिक



विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलित शिक्षकहरु र सरकारबीच दोस्रो चरणको वार्ता भएको छ। बिहिबार सिंहदरबारमा सरकारका चारजना मन्त्रीसहितको टोली र आन्लोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघबीच वार्ता भएको हो।

वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ सहभागी थिए। त्यसैगरी सरोकारवाला मन्त्रालयका सचिवहरू पनि बैठकमा उपस्थित थिए।

आन्दोलनरत महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि थिए।

वार्ता सकारात्मक भएको र सहमति नजिक पुगेको सरकारी पक्षले बताएको छ । बिहीबारको वार्ता सकारात्मक भएको र शुक्रबार सहमति जुट्ने बताइएको छ ।

गत हप्ता सरकारले संसदमा दर्ता गरेको विधेयकप्रति शिक्षकहरु असन्तुष्ट छ्न् । शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासंघले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ।

आन्दोलनरत पक्ष र सरकारबीच बिहीबार बिहान पनि वार्ता भएको थियो। तर सहमति हुन् नसकेपछि वार्ता भाँडिएको थियो।